![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2019-06-14-07-34-10.jpeg)
सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत एक सय ५० वटा पुल निर्माण गरिने बताएको छ । राष्ट्रिय राजमार्गमा आवश्यकताअनुसार फ्लाई ओभर र अन्डरपास निर्माण गरिने सरकारको घोषणा छ । कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर र अन्डरपास निर्माण कार्य सुरुवात गरिने बजेटमा उल्लेख छ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
राष्ट्रिय राजमार्ग, प्रादेशिक राजमार्ग, रणनीतिक सडक, सहरी सडक र स्थानीय तथा ग्रामीण सडकलाई पुनः वर्गीकरण गर्ने भएको छ । यसअिघ ०७६ जेठमा पनि सडकको वर्गीकरण गरिएको थियो । तर, क्षेत्राधिकार सम्बन्धमा अझै डुब्लिकेसन छ ।
यस्तै, आगामी आवमा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने पनि बताइएको छ । त्यसका लागि ९७ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, ०८३ भित्र सम्पन्न गर्ने गरी काठमाडौं–तराई–मधेस द्रुतमार्गको निर्माण कार्य अगाडि बढाउने पनि बताइएको छ । आगामी आवमा बाँकी ठेक्का व्यवस्थापन गरिनेछ । उक्त आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, लामो समयदेखि स्तरोन्नति हुन नसकेको पासाङल्हामु राजमार्गको तीनपिप्ले–रानीपौवा सडकखण्डको मर्मत तथा स्तरोन्नति गर्न ५० करोड विनियोजन गरिएको छ । नागढुंगा सुरुङमार्ग सम्पन्न गर्न पाँच अर्ब १३ करोड विनियोजन गरिएको छ । भारतीय सीमासँग जोड्ने प्रमुख व्यापारिक मार्गहरूको स्तरोन्नति कार्यअन्तर्गत ६ लेनको बेलहिया–बुटवल, वीरगन्ज–पथलैया तथा मोहना–अत्तरिया खण्डको बाँकी कार्य सम्पन्न गरिने बताइएको छ ।