मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचारविरुद्ध ठुल्ठूला एक्सन हुने प्रधानमन्त्री प्रचण्डको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १४ आइतबार ०७:१४:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै भ्रष्टाचारविरुद्ध ठुल्ठूला एक्सन हुने र त्यसले अझै ठूलो तरंग ल्याउने बताएका छन् । नक्कली शणरार्थी ठगीसम्बन्धी छानबिनमा सरकारले काम गरिरहेका वेला प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियानमा जनताको साथ र समर्थन हुने विश्वास व्यक्त गरे । ‘तपाईंहरूले देख्नुहुनेछ, केही समयभित्रै अरू ठुल्ठूला एक्सन हुनेछन् । त्यो एक्सनको तरंग पनि ठूलो हुनेछ । सहिदहरूको सपना पूरा गर्नका निम्ति योबाहेक अर्को कुनै बाटो छैन,’ प्रेस सेन्टर नेपालको १९औँ साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले भने । 

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियानमा लाग्दा घात–प्रतिघातको खतरा रहेको तर जनसमर्थन आउने दाबी गरे । ‘दुस्मनको कुनै किसिमको घात–प्रतिघातमा परिने हो कुनै टुंगो त छैन । तर, जसरी हामी विचारको निम्ति, वर्गका निम्ति, राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित भएर लाग्ने संकल्प गरेर हिजो हाम फालेका थियौँ । अहिले पनि हामी त्यही संकल्पको साथ लागेका छौँ । र, जसरी हिजो हामी अगाडि बढ्दा लाखौँ जनताको साथ, समर्थन भएजस्तै अहिले पनि साथ र समर्थन हुने विश्वास छ,’ उनले भने ।

उनले विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध दृढताको साथ उभिने बताए । ‘जनयुद्धका वेलामा जुन संकल्पबाट हाम फालिएको थियो, अहिले विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको लडाईंमा म त्यही मानसिकताको साथ हाम फालेको अनुभव गर्दै छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जनयुद्ध सुरु गर्दा हामीलाई को कति दिन बाँचिने हो, को कति वेला मारिने हो भन्ने टुंगो थिएन । मृत्युवरण गरेर हाम फालेका थियौँ । अहिलेको यो लडाईं पनि त्यस्तै–त्यस्तै छ ।’