मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १३ शनिबार ०९:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

७२.४६ प्रतिशतले बढ्यो अलैँचीको निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १३ शनिबार ०९:४२:००

नेपालको कुल निर्यात घट्दा अलैँचीको निर्यात भने ७२.४६ प्रतिशतले बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७९/८० को १० महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

तथ्यांकअनुसार यस अवधिमा सात अर्ब २८ करोड १४ लाख रुपैयाँको अलैँची निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा तीन अर्ब पाँच करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा चार अर्ब २२ करोड १९ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । परिमाणका आधारमा यो वर्ष ८९ लाख २१ हजार ६ सय ७९ केजी अलैँची निर्यात भएको छ । गत आवका सोही अवधिमा ४६ लाख ७० हजार तीन सय ६३ केजी अलैँची निर्यात भएको थियो । नेपाली अलैँची प्रतिकेजी आठ सय रुपैयाँदेखि एक हजार रुपैयाँमा निर्यात हुने गर्छ ।

विशेष गरी मसला उत्पादनमा प्रयोग हुने अलैंची भारतमा बढी निर्यात हुन्छ । समीक्षा अवधिमा भारतमा मात्रै सात अर्ब २६ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यसैगरी, पाकिस्तानमा एक करोड ९० लाख रुपैयाँ, इटालिमा १० लाख नौ हजार रुपैयाँ र जर्मनीमा ६ लाख ३५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । 

नेपाल, भारत र भुटानमा अलैँची उत्पादन हुन्छ । यो वर्ष भारत र भुटानको अलैँची उत्पादन घटेको छ । तर, नेपालमा यसको उत्पादन ५० प्रतिशतले बढेको छ । सोही कारण अलैँचीको निर्यात बढेको नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताए । उनले भने, ‘अहिले नेपालको उत्पादन बढ्यो । तर, भारत र भुटानको उत्पादन भने घट्यो । त्यसले गर्दा नेपाली अलैंचीको माग बढ्दा निर्यात बढेको हो ।’ 

अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात २४.४९ प्रतिशतले घटेको छ । गत आवको १० महिनामा एक खर्ब ७३ अर्बको निर्यात भएको थियो । तर, यसपालि त्यो एक खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ । त्यो अवस्थामा अलैँचीको निर्यात भने दोहोरो अंकले बढेको हो ।