१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१५ जेठदेखि खुला हुँदै रत्न मन्दिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o६:oo

तत्कालीन राजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्ने गरेको मन्दिर ११४ रोपनी क्षेत्रफलमा फैलिएको छ

तत्कालीन राजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्ने गरेको पोखराको लेकसाइडस्थित रत्न मन्दिर १५ जेठदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । नेपाल ट्रस्टमातहत रहेको रत्न मन्दिरलाई गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

ट्रस्टकी सदस्य योङजोम शेर्पाले गणतन्त्र दिवसका अवसरमा रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको जानकारी दिइन् । यसका लागि हाल आवश्यक तयारीका काम भइरहेको छ । हाल मन्दिर जुन अवस्थामा छ, आवश्यक मर्मतका काम गरेर खुला गर्न लागिएको उनको भनाइ छ । शेर्पा केही दिनदेखि पोखरामै रहेर तयारीमा जुटिरहेकी छिन् ।

रत्न मन्दिर खुला भए पनि राजपरिवारले प्रयोग गरेका कोठादेखि अन्य सरसामान भने सर्वसाधारणले प्रत्यक्ष हेर्न नपाउने भएका छन् । दरबारका कोठादेखि हिँड्ने भित्री संरचना साँघुरो रहेकाले भिडियोमार्फत हेर्ने व्यवस्था मिलाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । हाल सर्वसाधारणले सय रुपैयाँको टिकट काटी मन्दिरको अवलोकन गर्न पाउनेछन् ।

विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएकाका लागि ५० रुपैयाँ शुल्क लिइने भएको छ । विदेशी पर्यटकका लागि लाग्ने शुल्कमा निर्णय भएको छैन । पूर्वराजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गरेको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रूपमा संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयवासीको माग रहँदै आएको पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए । रत्न मन्दिर पूर्वराजपरिवारका सदस्यहरू पोखरा आउँदा बसोवास गर्ने ठाउँ हो ।

वीरेन्द्र शाहको नाममा रहेको रत्न मन्दिर ०६३ को राजनीतिक परिवर्तनसँगै नेपाल सरकारको स्वामित्वमा आएको थियो । ०१४ मा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा–जाँदा बस्न मिल्ने गरी यो दरबार निर्माण गर्न लगाएका थिए । रत्न मन्दिरलाई हिँउदे दरबारका रूपमा समेत नामकरण गरिएको थियो । महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै रत्न मन्दिर राजा वीरेन्द्रको नाममा आएको थियो ।

एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ०६७ देखि नेपाल ट्रस्टको स्वामित्वमा छ । यसअघि रत्न मन्दिरमा वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर खोल्ने योजना अघि सारेको थियो, तर अघि बढ्न सकेन । स्थानीयले रत्न मन्दिरलाई संरक्षण र सम्पदा क्षेत्र घोषणा गरी जैविक विविधता पार्क र संग्रहालय बनाएर जनताका लागि खुला गर्नुपर्ने आवाज उठाउँदै आएका थिए ।
 

ad
ad