मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०८० जेठ ११ बिहीबार ०६:०१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अनुसन्धानमा पोलिएकाको पनि बयान लिन सांसदहरूको माग

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०८० जेठ ११ बिहीबार ०६:०१:००

आइजिपी र अख्तियार प्रमुख आयुक्तले राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव

सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैको बयान लिन माग गरेका छन् । बुधबार संसद्मा बोल्दै उनीहरूले शरणार्थी प्रकरणमा विभिन्न बयानमा पोलिएका उच्चपदस्थदेखि कर्मचारीसम्म सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् । 

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा चलिरहेको छलफलमा भाग लिने क्रममा सांसदहरूले हालै सार्वजनिक बयानमा नाम जोडिएका व्यक्तिमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएका हुन् । शरणार्थी प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा उल्लेखित अभियुक्तहरूको बयानमा उच्चपदस्थको नाम छ । 

आइजिपी वसन्त कुँवर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसल्लाहकार एवं बागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यका पिए राजेश्वर स्थापितको नाम अभियुक्तहरूको बयानमा छ । यी व्यक्तिको नाम बयानमा आए पनि प्रहरीले अनुसन्धान गरेको छैन । 

कांग्रेस महामन्त्री गगन थापाले शरणार्थी प्रकरणमा आएका सबै नाममाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । ‘यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एकजना मान्छे पनि छुट्नुहुँदैन,’ उनले भने । अनुसन्धानपछि न्यायालयले न्यायको अनुभूति हुने गरी हेर्नुपर्नेमा उनको जोड थियो । 

एमाले सचिव योगेश भट्टराईले नाम पोलिएको जोसुकै होस् थपक्क गएर बयान दिनुपर्ने बताए । ‘हाम्रो पार्टीको अध्यक्षको स्वकीय सचिव हुन् कि मेरो स्वकीय हुन् वा मलाई कसैले पोल्छ र प्रहरीले तपाईंको नाम यहाँ आएको छ, के गरौँ भन्यो भने म थपक्क गएर बयान दिएर आउनुपर्छ । किनभने म नागरिक हो । कानुनभन्दा माथि कोही हुँदैन,’ उनले भने, ‘प्रहरीको आइजिपीकै नाम आएको छ । कानुन कार्यान्वयनको जिम्मेवारी पाएको ६५ हजार प्रहरीको कमान्डर वसन्त कुँवरजीले नै गएर बयान दिनुपर्छ, तपाईंको संलग्नता छैन भने प्रश्न उठेका विषय क्लियर गर्नुस् । अख्तियार प्रमुखलगायत सबै जानुपर्छ ।’ 

रास्वपा सभापति रवि लामिछानेले लेनदेनमा नाम आएका सबैको प्रहरी कार्यालय लगेर बयान लिनुपर्ने बताए । ‘कैयौँ नाम आएका छन्, एकपटक पनि बयान नलिँदा अविश्वासको वातावरण सिर्जना भएको छ । यसमा पनि अनुसन्धान हुनुपर्छ, यसमा प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कतिको दरो बनाएका छन्, आशंका गरेरै चेक गर्नुपर्ने वेला आएको छ,’ उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि निकाय शंकाको घेराबाहिर नरहेको भन्दै संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने र जो–कोही भए पनि निर्मम कारबाही गर्नुपर्ने उनको माग छ । 

रास्वपाका स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा संदिग्धहरूको सूचीमा प्रहरी प्रमुख नै थपिनु दुःखद कुरा भएको उल्लेख गर्दै कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए । ‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी कति लम्बिन्छ हामी हेरिरहेका छौँ,’ उनले भने । रास्वपाकै शिशिर खनालले आइजिपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको भन्दै सबैमाथि तुरुन्त छानबिन गर्न माग गरे ।

माओवादी सांसद माधव सापकोटाले पदमा बहालहरूले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । ‘प्रधानमन्त्री तहसम्मै पहरो तानियो भने पनि पछि हट्नुहुँदैन । ज–जसका नाम आएका छन्, आफैँ प्रहरी सम्पर्कमा गएर बयान दिनुपर्छ । या त प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्‍यो या उहाँहरू आफैँ गएर सम्पर्कमा जानुपर्‍यो । जो–जो बहालवाला पदमा हुनुहुन्छ, उहाँहरूले निश्चित अवधिका त्यो पदीय जिम्ेमवारी छोडेर अनुसन्धान गर्नुहोस् भनेर मार्गप्रशस्त गर्नुपर्छ,’ उनले भने । 

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आइजिपी कुँवरको भूमिका शंकास्पद रहेको कुरा आएको भन्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने बताए । ‘नामहरू सार्वजनिक भएका वेला तीन दल बसेर खुसुखुसु गर्नुहुन्छ । यसो बालुवाटारतिर लुकीलुकी त्यो गरेपछि मुद्दा कमजोर हुँदै जान्छ । नेताहरूको नाम पनि आइराख्या छ । तिनीहरूको के गर्ने, उम्काइदिने ?’ उनले प्रश्न गरे । 

पूर्वआइजिपीसमेत रहेका राप्रपा सांसद ध्रुवबहादुर प्रधानले नाम आएका सबैलाई अनुसन्धानको घेरामा राख्नुपर्ने र यसपछाडि कसैले भ्रष्टाचार गर्ने आँट नगरोस् भन्ने पाठ दिनुपर्ने बताए । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले मुछिएका बहालवालाले स्वतन्त्र छानबिनका लागि पदबाट राजीनामा दिएर बाटो खुला गरेर नैतिकता देखाउनु जरुरी रहेको बताए । 

नेमकिपाका प्रेम सुवालले अनुसन्धान अधिकारीले नाम आएकाको यथार्थ के हो भनेर बयान लिनुपर्ने बताए । ‘पूर्वप्रधानमन्त्रीहरूको नाम आएको छ, उहाँहरूले सत्य पत्ता लगाउन सहयोग गर्नुपर्छ,’ उनले भने ।