मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १० बुधबार ११:५९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामाजिक अभियन्ता गिभिना–नर्स विवाद : नर्सिङ संघ भन्छ– नर्सहरूको आत्मसम्मानमा कसैले चोट पुर्‍याउन पाउँदैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १० बुधबार ११:५९:००

सामाजिक अभियन्ता गिभिना मगर र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत नर्सबीच भएको विवादको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भइरल बनिरहेको छ । उक्त भिडियोमा क्यान्सर उपचाररत बालिकालाई नर्सहरूले समयमा खोप र औषधि नदिएको आरोप गिभिनाले लगाएकी छिन् । भिडियो भाइरल भएपछि सर्वसाधारणले नर्स र नर्सिङ प्रेसाप्रति नै अश्लील गाली–गलौज गरेका छन् । यसप्रति नर्सिङ संघले आपत्ति जनाएको छ । संघले नर्सहरूको आत्मसम्मानमा कसैले पनि चोट पुर्‍याउन नपाउने चेतावनी दिएको छ । 

नर्स र बिरामीको विषयलाई लिएर सामाजिक सञ्जालमा भएका अश्लील गाली–गलौजप्रति नर्सिङ संघले आपत्ति जनाएको छ । अस्पतालमा भएको घटनाको सत्यतथ्य नबुझी एकपक्षीय ढंगले नर्सिङ पेसाप्रति अपमानजनक शब्दहरू प्रयोग गर्दै गाली–गलौज गर्दा नर्सहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै नर्सिङ संघले यस्तो काम गर्न कसैलाई छुट नभएको जनाएको छ । संघकी अध्यक्ष मनकुमारी राईले गिभानाले विभिन्न नाममा खोलेका एकाउन्टमार्फत नर्सिङ पेसा र नर्सहरूको मनोबल गिरेको बताएकी छिन् । यसले नर्सहरूको कार्यक्षमतामा ह्रास आएको उनको दाबी छ । उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा भिडियो फैलिएपछि ध्यानाकर्षण भएको छ । कमेन्टमा आएका गाली मैले हेर्न र सुन्नसमेत सकिनँ । सामाजिक अभियन्ता हो र लाखौँ फलोअर्स छन् भन्दैमा चिकित्सा पेसालाई जथाभावी भन्न मिल्दैन ।’

गिभिनाको फलोअर्सले अन्य भिडियोसमेत पोस्ट गरेका छन् । जसले गाली–गलौजको शृंखला झन् बढेको अध्यक्ष राईको भनाइ छ । भरतपुरमा भएको घटना स्टार्टको औषधि प्रयोगबारे विवाद थियो । दिउँसो चार बजे औषधि प्रयोग गरेर दिउँसो दुई बजे नै दिएको भनी हस्ताक्षर गराएको भन्नेमा विवाद भएको थियो । तर, नर्सहरूले फर्ममा औषधि दिने अवधिलाई आधार मानेर हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेको बताउँदै आएका छन् । पोस्ट भएको भिडियोले नर्सिङ पेसाको  आत्मसम्मानमा चोट पुगेको भन्दै काठमाडौंमा नर्सहरूले विरोध कार्यक्रम गरिरहेका छन् । मंगलबार उनीहरूले प्रदर्शनसमेत गरेका छन् ।

यस्तो थियो घटना
गिभाना मगरले गत २८ वैशाखमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत नर्स र बिरामी कुरुवाबीचको संवाद–विवाद खिचेर टिकटकमा पोस्ट गरेकी थिइन् । अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो दुई बजे दिनुपर्ने औषधि साँझ चार बजे दिएको भन्दै विवाद भएको थियो । उनले वार्डमा रहेका नर्सहरूसँगको विवाद खिचेर टिकटकमा पोस्ट गरेकी थिइन् । गिभिनाले बालिकाको उपचार आर्थिक सहयोग जुटाएर गरिरहेकी थिइन् ।

बालिका एक वर्षदेखि उक्त अस्पतालमा उपचारत थिइन् । बुबाको मृत्यु भइसकेको र आमाले अर्को विवाह गरिसकेकाले बालिकाको उपचारमा आर्थिक अभाव भइरहेको थियो । अस्पतालका नर्सहरूले समेत उनको उपचारमा सहयोग गरिरहेको बताएका छन् । उपचार खर्च व्यहोर्न नसकेको भन्दै परिवारका सदस्यहरूले उनलाई अस्पतालबाट घर लगेको केही समयपछि गिभिनाले पाँच दिनमा झन्डै ११ लाख जुटाएर पुनः अस्पताल भर्ना गरेकी थिइन् । तर, दिउँसो दुई बजे लगाउनुपर्ने खोप लगाउन ढिला गरेको भनेपछि गिभिनासँग विवाद भएको जनाइएको छ । 

ड्युटीमा रहेका नर्सहरूले व्यस्तताका कारण केही ढिला भएको जनाएका थिए । तर, गिभिनाले विवाद बढाएर नर्सहरूको भिडियो खिचेर टिकटकमा पोस्ट गरेको आरोप छ । टिकटकको भिडियो फेसबुक र ट्विटरमा समेत पोस्ट हुन थालेपछि नर्सहरूले जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका थिए । अनुमतिविनै भिडियो खिचेको र पोस्ट गरेको भन्दै गत शुक्रबार नर्सहरूले प्रहरीमा उजुरी दिएका थिए ।