१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ९ मंगलबार १०:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी र सनराइज बैंकले गरे मर्जरको अन्तिम सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ९ मंगलबार १०:०४:००

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनरा इज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने भएका छन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहने जनाइएको छ । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक समितिको अध्यक्ष चयन गर्नेछ । 

दुवै बैंकको साधारणसभामा सम्झौता पारित भएपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रार कार्यालयको स्वीकृति लिइनेछ । त्यसपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरू टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ ।

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सन्राइज बैंकका अध्यक्ष मोतीलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरू डा. मनीष थापा र स्वाति रुंगटा र सन्राइज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहेका छन् ।

मर्जरपछि दुई बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्‍नेछ । अहिले लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ र सन्राइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यस्तै, ११ अर्ब २४ करोड रुपैयाँ जगेडा कोष हुनेछ । अहिले लक्ष्मीको जगेडा कोषमा चार अर्ब ५५ करोड रुपैयाँ र सन्राइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ ।

मर्जरपछिको बैंकको कर्जा दुई खर्ब ४८ अर्ब रुपैयाँ पुग्नेछ । अहिले लक्ष्मीको एक खर्ब २९ अर्ब रुपैयाँ र सनराइजको एक खर्ब १९ अर्ब रुपैयाँ छ । त्यस्तै, निक्षेप दुई खर्ब ६५ अर्ब रुपैयाँ पुग्‍नेछ । अहिले लक्ष्मीको एक खर्ब ४० अर्ब रुपैयाँ र सनराइज बैंकको एक खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।