१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० जेठ ९ मंगलबार ०८:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

यार्सा बाघको मुखबाट खोसेसरह

Read Time : > 1 मिनेट
२०८० जेठ ९ मंगलबार ०८:५६:००

जुम्लाका पातारासी गाउँपालिका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सा हो । यहाँका स्थानीय हरेक वर्ष मुगु र डोल्पा पाटनमा यार्सा टिप्न जान्छन् । वर्षमा एक बाली मात्रै उत्पादन हुने पातारासी अर्थात् चौधबिस क्षेत्रका नागरिकले गाउँघरमा रोजगारी पनि पाएका छैनन् । 

यस क्षेत्रमा आलु, मकै, फापर, कोदो, सिमी फल्ने भए पनि उत्पादन तीन–चार महिना मात्र पुग्छ । पातारासी गाउँपालिका– ५ की भौरी बुढाले भनिन्, ‘आठ वर्षदेखि यार्सा टिप्दै आएकी छु । यार्सा बाघको मुखबाट खोसेसरह हुन्छ ।’ 

पातारासी– १ स्याला गडीगाउँका मुनबहादुर ऐडी पनि १४ वर्षको उमेरमा ८ कक्षा पढ्ने वेलादेखि यार्सा टिप्न जान थालेका हुन् । चार वर्ष डोल्पा र चार वर्ष मुगु पाटन गरी आठ वर्ष निरन्तर यार्सा टिप्न गएको उनले बताए । 

१४ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिक डोल्पा र मुगु पाटनमा यार्सा टिप्न जाने गरेको पातारासी– ३ का पूर्ववडाध्यक्ष बिर्खराम बुढाले बताए । यार्सा बेचेर यहाँका स्थानीयले घरपरिवारको स्वास्थ्यदेखि लुगाफाटो, नुनतेलको जोहो गर्छन् । तर, यार्सा टिप्न जाँदा त्यतिकै जोखिम छ । जिल्लाका २२ जनाले ज्यान गुमाएका छन् । 

२३ वैशाखको हिमपहिरोमा बेपत्ता भएका जुम्लाको पातारासी– २ तल्फीगाउँका तीनमध्ये पूर्णसिंह सार्कीको शव मात्र फेला परेको छ । तारासिंह सार्की र वीरबहादुर बोहरा अझै बेपत्ता छन् । पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार सुरक्षाकर्मीको उद्धार टोली पाटन पुगेको  थियो । तर, निरन्तरको हिमपातका कारण खोजबिन हुन सकेको छैन । ४० सुरक्षाकर्मीकोे टोली मुगुको सिरानचौरमा दुई हप्तादेखि क्याम्प बनाएर बसेको छ ।

यस क्षेत्रबाट सयौँको संख्यामा यार्सा संकलनका लागि जाने गर्दछन् । प्रत्येक घरको तीन–चारजना गएकै हुन्छन् । तर, बीच बाटोमै यार्सा लुटिने घटना पनि भएका छन् ।

मुगुका कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा पाइन्छ । गाउँपालिकाले पाटन प्रवेश शुल्कबापत संकलकबाट शुल्क उठाउछ । प्रतिकेजी ३० देखि ३५ हजारसम्म राजस्व लाग्छ । संकलित यार्सा सहरदेखि चीनको ह्याजिमारमा लाग्ने एकमहिने हाटबजारमा बिक्री गर्छन् । एउटा यार्साको मूल्य दुई सयदेखि हजारसम्म पर्छ ।