Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तार व्यवस्थापनपछि सफा देखिएको बबरमहल क्षेत्रको विद्युत्को खम्बा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ९ मंगलबार ०६:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले दिएको समयमा आधा मात्रै तार व्यवस्थापन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ९ मंगलबार ०६:५३:००

सेवा प्रभावित नगरी तार व्यवस्थापन गर्दा ढिलाइ, अझै एक महिना लाग्ने

ललितपुर महानगरपालिकाले गत फागुनमा १० दिनभित्र नगरक्षेत्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो । सम्बन्धित निकायहरूले सात दिनमै तार व्यवस्थापन गरेका थिए । आजकल महानगर क्षेत्रका खम्बामा गुजुल्टिएका तार देखिँदैनन् ।

ललितपुरले झैँ काठमाडौं महानगरले पनि १५ दिनभित्र तार व्यवस्थापन गर्न २५ वैशाखमा सरोकारवाला निकायलाई तार निर्देशन दिएको थियो । तर, सोमबार १५औँ दिन पूरा हुँदा महानगरको आधा क्षेत्रमा पनि तार व्यवस्थापन हुन सकेको छैन । महानगरका अनुसार तार व्यवस्थापनका लागि अझै एक महिना लाग्ने स्थिति छ । ‘हामीले तार व्यवस्थापनका लागि चार ठाउँबाट सुरु गरेका छौँ । टिमले गरिरहेका कामबारे प्रत्येक शुक्रबार बिहान सरोकारवाला निकायसँग बैठक बसेर ब्रिफिङ गर्ने गरेका छौँ । हालसम्म तार व्यवस्थापनसम्बन्धी काम राम्रोसँग भइरहेको छ,’ तार व्यवस्थापन संयोजक तथा महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले भने, ‘सेवा प्रभावित नगरी तार व्यवस्थापन गर्ने क्रममा विद्युत्को तारमा केही समस्या आयो । त्यसैले काम अलि ढिलो भयो । अन्य ठाउँबाट पनि तार व्यवस्थान गर्ने भएका छौँ । यद्यपि, अझै एक महिना लाग्छ ।’ तार व्यवस्थापन भइसकेका सडकका पोल भने सफा देखिन थालिसकेका छन् । 

२२ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्र साहले अव्यवस्थित तारका कारण आगलागीको जोखिम बढेको र सहर कुरूप बनेको भन्दै गत वर्षको आगलागीको तथ्यांक सार्वजनिक गरेका थिए । ‘सहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनुनपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिक रूपमा तिनले सहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गत वर्ष मात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा कसैलाई असुविधा पुग्न सक्छ, तर तपाईंहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्छाँै,’ उनले फेसबुकमा लेखेका थिए । उनले यस्तो लेखिसकेपछि महानगरले २४ वैशाखमा छलफल गरेर २५ वैशाखबाटै तार व्यवस्थापनको काम सुरु गरेको थियो । महानगरले तार व्यवस्थापन गर्न इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायतसँगको सहकार्य गरेको छ । 

१५ दिनमा ४० ट्रक तार काटिए 
महानगरका अनुसार हालसम्म तार व्यवस्थापनका क्रममा ४० ट्रक तार काटिसकेको छ । ती तारलाई महानगरको टेकुस्थित ट्रान्सफर स्टेसनमै थुपारेको छ । हाल महानगरले माइतीघर, कंलकी, त्रिपुरेश्वर, सुन्धारा, न्युरोडलगायत क्षेत्रमा चार टोली बनाएर काम गरिरहेको छ । छिटो तार व्यवस्थापनका लागि महानगरले टिम बनाउन लागेको संयोजक पाण्डेले बताए । महानगरले तार व्यवस्थापनको काम सम्पदा र हाइवे क्षेत्रलाई प्राथमिकतामा राखेर सुरु गरेको थियो । ‘सहर त कुरूप भयो नै । आगलागीलगायतका दुर्घटना पनि बढ्न थाले । त्यसैले यसलाई अभियानकै रूपमा सुरु गरिएको हो । अहिलेलाई हाइवे र सम्पदा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै छौँ,’ पाण्डेले भने । १८ फागुनदेखि ललितपुर महानगरपालिकाले पनि अव्यवस्थित तार व्यवस्थान गर्ने काम सुरु गरेको थियो । अव्यवस्थित तारका कारण सहर नै कुरूप देखिएको, दुर्घटना हुन थालेको भन्दै महानगरपालिकाले यो अभियान सुरु गरेको थियो । १७ फागुनमा इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायत निकायलाई बोलाएर अव्यवस्थित तार व्यवस्थापनका लागि छलफल गरेको थियो । छलफलका क्रममा मेयर चिरिबाबु महर्जनले १० दिनभित्र सम्पदा क्षेत्रमा भएका तार व्यवस्थित गर्नका लागि निर्देशनसमेत दिएका थिए । सो निर्देशनअनुसार महानगरले १० साता दिनमै अव्यवस्थित तार व्यवस्थापन गरेको थियो ।

राजुनाथ पाण्डे, तार व्यवस्थापन संयोजक एवं महानगर प्रहरी बल प्रमुख 

हामीले तार व्यवस्थापनका लागि चार ठाउँबाट सुरु गरेका छौँ । टिमले गरिरहेका कामबारे प्रत्येक शुक्रबार बिहान सरोकारवाला निकायसँग बैठक बसेर ब्रिफिङ गर्ने गरेका छौँ । हालसम्म तार व्यवस्थापनसम्बन्धी काम राम्रोसँग भइरहेको छ । सेवा प्रभावित नगरी तार व्यवस्थापन गर्ने क्रममा विद्युत्को तारमा केही समस्या आयो । त्यसैले काम अलि ढिलो भयो । अन्य ठाउँबाट पनि तार व्यवस्थापन गर्ने भएका छौँ । यद्यपि, अझै एक महिना लाग्छ ।