मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ७ आइतबार १०:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अवैध कारोबार रोक्न भैरहवाका व्यवसायीहरू बोर्डरमा 

Read Time : < 1 मिनेट
२०८० जेठ ७ आइतबार १०:४२:००

रुपन्देहीको सीमावर्ती क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजारबाट हुन अवैध कारोबार रोक्न भैरहवामा व्यवसायीहरू सक्रिय भएका छन् । भैरहवाको पक्लिहवास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा वर्षौँदेखि लाग्दै आएको हाटबजारबाट नेपाली ग्राहकले ल्याउने अवैध सामान रोक्न व्यवसायीहरू सीमावर्ती बजार क्षेत्रमा पुगेका हुन् । 

सिद्धार्थनगर उद्योग वाणिज्य संघले पटक–पटक फरेनिया बजारबाट करोडौँ मूल्यबराबरका सामानहरू विनाभन्सार भित्रिने र कानुनी रूपमा भित्रिएको सामान भएको नेपाली बजारको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको ध्यानाकर्षण गराएको थियो । 

हप्तामा दुईपटक लाग्ने सीमावर्ती फरेनिया बजारमा रुपन्देही, कपिलवस्तुलगायत विभिन्न जिल्लाहरूबाट नेपालीहरू किनमेल गर्न जान्छन् । शनिबार दिनभर प्रहरीसँगै उद्योगी–व्यवसायीहरू सीमामा खटिए । खाली झोला बोकेर बजार हिँडेका नेपाली उपभोक्तालाई सीमाबाटै उनीहरूले घर फर्काएका थिए । 

सिमानामा नेपाली उपभोक्तालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका पदाधिकारीहरू खटिएका थिए । मन्दीको चपेटामा परेका स्थानीय व्यवसायीहरू सटर बन्द गरेर भाग्नुपर्ने अवस्था आएको, तर भारतीय बजारबाट करोडौँको सामान तस्करी भएको भन्दै बारम्बार प्रहरीलाई दबाब दिएका उद्योगीहरू आफैँ सीमामा निस्किएका थिए । अति भएपछि हामी आफैँ सडकमा उत्रिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले बताए ।