१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ७ आइतबार १०:०४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुलियो लघुवित्तको निष्क्रिय कर्जा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ७ आइतबार १०:०४:००

१४.२१ प्रतिशतसम्म पुग्यो लघुवित्तको निष्क्रिय कर्जा, लघुवित्त बैंकर भन्छन्– गाउँमा कर्जा उठाउने वातावरण छैन

चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात चुलिएको छ । ५५ लघुवित्त वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जाको अनुपात ७.०७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३.०४ प्रतिशत मात्रै थियो । 

बहुकर्जा र आर्थिक गतिविधिमा आएको मन्दीको असर लघुवित्तको कर्जा असुलीमा समेत परेको हो । लघुवित्तविरोधी गतिविधि बढ्दै जाँदा गाउँमा कर्जा असुलीका लागि कर्मचारी ऋणीको घरमा जानसमेत वातावरण नभएको लघुवित्त बैंकरहरूको भनाइ छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले ऋणीहरूबाट कर्जा असुली गर्ने वातावरण नहुँदा निष्क्रिय कर्जा चुलिएको बताए । उनले भने, ‘पछिल्लो समय लघुवित्तविरुद्ध तथाकथित आन्दोलन भयो । ऋण मिनाहा हुन्छ भन्नेसम्मको भ्रम छरियो । त्यसले मानिसमा कर्जा तिर्नुपर्छ भन्ने नै भएन ।’

असल ग्राहक पनि आर्थिक शिथिलताका कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, ‘मन्दीको मारमा असल ऋणीसमेत परे । त्यस्ता ऋणीले महिनामा किस्ता हजार तिर्नुपथ्र्याे भने अहिले दुई सय रुपैयाँ मात्रै तिरिरहेका छन् । अनि कसरी उठ्छ कर्जा ?’ 

०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको ४.६८ प्रतिशत पुगेको थियो । गत असार मसान्तमा २.५६ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमै आउँदा वृद्धि भएको हो । 

निष्क्रिय कर्जा अनुपातमा भएको वृद्धिअनुसार लघुवित्त संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थाको रकममा खासै वृद्धि गरेका छैनन् । गत असार मसान्तमा १० अर्ब चार करोड रहेको निष्क्रिय कर्जा ०७९ पुस मसान्तमा १८ अर्ब ३४ करोड पुगेको छ । जबकि ०७८ असार मसान्तमा १० अर्ब ६२ करोड नोक्सानी व्यवस्था गरेका लघुवित्तले पुस मसान्तमा १४ अर्ब ४० करोड रुपैयाँ नोक्सानी व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असारसम्म ६५ वटा लघुवित्त वित्तीय संस्था रहेकामा ०७९ पुससम्म घटेर ६४ वटा कायम भएका छन् । ६४ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये चारवटा थोक कर्जाप्रदायक संस्था छन् । बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । 

पछिल्ला महिनामा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार भने सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ । यस्तै, समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ ।

१० प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा हुने लघुवित्त
तेस्रो त्रैमाससम्म ५५ लघुवित्तहरूको वित्तीय विवरणअनुसार ११ संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात १० प्रतिशतभन्दा बढी छ । युनिक नेपाल, आरम्भ चौतारी, जनउत्थान सामुदायिक, मनकामना स्मार्ट, निर्धन उत्थान, विन नेपाल, धौलागिरि, स्वावलम्बन, उन्नति सहकार्य, इन्फिनिटी र सामुदायिकका निष्क्रिय कर्जाको अनुपात १० प्रतिशतभन्दा बढी देखिएको छ । 

सबैभन्दा बढी सामुदायिक लघुवित्तको निष्क्रिय कर्जाको अनुपात १४.२१ प्रतिशत छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यो लघुवित्तको निष्क्रिय कर्जाको अनुपात ४.७२ प्रतिशत मात्रै थियो । इन्फिनिटी लघुवित्तको निष्क्रिय कर्जा १४.०४ प्रतिशत छ । यसको गत आर्थिक वर्षको सोही अवधिमा ३.६९ प्रतिशत मात्रै थियो । 

उन्नति सहकार्य लघुवित्तको निष्क्रिय कर्जाको अनुपात १३.४७ प्रतिशत पुगेको छ । गत आवमा यो अनुपात ४.८२ प्रतिशत थियो । त्यस्तै, स्वावलम्बन लघुवित्तको यस्तो अनुपात १२.९८ प्रतिशत छ । गत आवको तेस्रो त्रैमाससम्म यो अनुपात ४.५२ प्रतिशत मात्रै थियो ।

धौलागिरि लघुवित्तको यस्तो अनुपात १२.४५ प्रतिशत पुगेको छ भने विन नेपालको निष्क्रिय कर्जाको अनुपात १२.१५ प्रतिशत पुगेको छ । निर्धन लघुवित्तको यस्तो अनुपात १२.०९ प्रतिशत पुगेको छ । मनकामना स्मार्टको ११.९५ प्रतिशत, जनउत्थान सामुदायिकको ११.४८ प्रतिशत, आरम्भ चौतारीको १०.५८ प्रतिशत र युनिक नेपालको १०.२९ प्रतिशत पुगेको छ ।