मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ७ आइतबार ०९:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

९७ अंकसहित भक्तपुर अस्पताल सर्वोत्कृष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ७ आइतबार ०९:२८:००

बागमती प्रदेशमातहत रहेको भक्तपुर अस्पताल ९७ अंकसहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ । एक सरकारी मूल्यांकन टोलीले दुई दिन लगाएर न्यूनतम सेवा मापदण्ड मूल्यांकनको नर्म्सअनुसार दिएको नम्बरका आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिए । शनिबार बिहान एक समीक्षा कार्यक्रमसहित मूल्यांकन समितिले तयार पारेको नतिजा सार्वजनिक गरिएको हो ।

अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. पवन साह, कान्ति बाल अस्पतालकी नर्सिङ प्रमुख रोशनी तुइतुई, स्वास्थ्य विभागकी मीरा निरौलालगायतको मूल्यांकन टोलीले मूल्यांकन गरेको थियो । अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले सिंगो टिमको सही मूल्यांकन भएको बताइन् ।  

त्यसैगरी, अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले अस्पतालको सेवालाई थप जनमुखी र सुविधासम्पन्न बनाउन मूल्यांकनले हौसला प्रदान गरेको बताए ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यसको सेवाले आफूहरूको शिरसमेत उच्च बनाएको बताए । त्यसैगरी, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले संघीयता नहुँदासम्म रिफर सेन्टरका रूपमा बदनाम भक्तपुर अस्पतालले संघीयतासँगै ठूलो विकास गरेको बताउँदै प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने प्रस्ट पारे ।

विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल हो । मेसु डा. सुमित्रा गौतम नेतृत्वमा आएपछि प्रदेश सरकारको सहयोगमा एक सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसियू सेवा सुरु गर्न सफल भएको देखिन्छ । आधादर्जन भेन्टिलेटरसहित आइसियू सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको छ भने दुई दर्जन बेडसहित अस्पतालले एचडियू सेवासमेत सुरु गरेको छ । त्यति मात्र होइन, भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ ।