Skip This
रेसुंगामा दुई दिनदेखि भीषण आगलागी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ६ शनिबार
  • Friday, 26 July, 2024
२o८o जेठ ६ शनिबार o७:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेसुंगामा दुई दिनदेखि भीषण आगलागी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ६ शनिबार o७:४o:oo

गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ। शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो। हिजो नै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि साँझ फेरि फैलिएको हो।

खानीगाउँ क्षेत्र र गर्जुरा क्षेत्रको सडकभन्दा बीचमा आगो लागेकाले दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ। बिहानैबाट रेसुंगा नगरपालिकाको दमकल र आगो नियन्त्रण टोली रेसुंगा पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रणबाहिर रहेको छ। बिहानमा नियन्त्रण गर्न सजिलो हुने भएकाले टोलीलाई बिहानै पठाइएको गैरैले बताए। 

तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ। आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख बिरुवा जलेर नष्ट हुने गरेका छन्। रेसुंगा क्षेत्र रेसुंगा नगरपालिका र नजिकका पालिकाको पानीको मुख्य स्रोत हो। तर, आगोले पानीका मूलहरूमा समेत असर गर्ने गरेको छ। रेसुंगामा खानीगाउँ, उर्लेनी, भाडगाउँ र पराल्मी क्षेत्रबाट आगो लगाउने गरिएको छ। तर, आगो लगाउने व्यक्तिको पहिचान र कारबाही नहुँदा समस्या वर्षेनी बल्झिने गरेको छ। 

रेसुंगामा ६५ हजार प्रकारका फूल फूल्ने प्रजातिका वनस्पति, एक हजार आठ सय २२ प्रजातिका ढुसी, चार सय ६५ प्रजातिका झ्याउ, छ सय ८७ प्रजातिका एलगी, ६२ प्रजातिका चरा, छ सय ४० प्रजातिका पुतली, एक सय ४७ प्रजातिका घस्रिने जीवजन्तु, ४३ प्रकारका उभयचर, एक सय ४४ प्रकारका माकुराहरू, एक सय ८१ प्रकारका स्तनधारीहरू र अन्य कीटपतंगहरू पाइने जैविक विविधताको धनी रेसुंगामा वर्सेनी लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए। भुसालले वर्षेनी आगलागी, वन्यजन्तु शिकार, बोटबिरुवाको विनाश र संरचना ध्वस्त भएकाले प्रहरी बिटको माग गर्दा पनि प्रशासन र सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गरे।