१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Sunday, 23 June, 2024
श्यामराजा तिमल्सिना
२o८o जेठ ५ शुक्रबार o६:५७:oo
Read Time : > 11 मिनेट
ad
ad
ad
ad
ब्लग डिजिटल संस्करण

जनजागरण पुस्तकालय :  विगत, वर्तमान र अबको बाटो

Read Time : > 11 मिनेट
श्यामराजा तिमल्सिना
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार o६:५७:oo

नुवाकोटको सौन्दर्यमा थप शृंगार भर्ने गरी जिल्लाको दक्षिणी भेगमा स्थापित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र ३० वर्षे लामो इतिहास बोकेको पुस्तकालय हो । ०४९ देखिको इतिहास बोकेको यस पुस्तकालयले आजको दिनसम्म आइपुग्दा विभिन्न आरोह–अवरोहको सामना गर्नुपरेको छ । यसबीचमा पनि संस्थाले छुट्टै अस्तित्व निर्माण गर्न सफल भएको छ । पुस्तकालयको अवधारण ल्याउने व्यक्ति, पुस्तकालयका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, आर्थिक सहयोग गर्ने रिड नेपाल साथै पुस्तकालयको स्थापना र विकास अपरिहार्य छ भनी करिब डेढ दशकपछि सक्रिय भई लाग्ने स्थानीय समुदाय, स्थानीय सरकार, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा व्यवस्थापन समितिलगायतका नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई हामीले कहिल्यै बिर्सन मिल्दैन ।

२०४९ सालमा  पुस्तकालय स्थापनाको लागि दातृसंस्था र समुदायबीचको छलफलपछिको तस्बिर 

तत्कालीन समयमा स्थानीयको आशा र सोचलाई सामान्य रूपमा हामीले अनुमान पनि लगाउन सकिन्छ । सामान्य आर्थिक तथा शैक्षिक अवस्था भएका स्थानीयको खासै ठूलो अपेक्षा त थिएन होला, तर विदेशी मान्छे र संस्थाले सहयोग गर्ने भयो भनेपश्चात् यस ठाउँमा केही नयाँ विकास र परिवर्तन हुने र स्थानीयको शैक्षिक तथा आर्थिक पक्षको विकास हुनेमा आशा रहेको आकलन गर्न सकिन्छ । किनभने ग्रामीण भेग, सदरमुकामबाट टाढाको बस्ती, विकासको पूर्वाधारहरूमा सडक, बिजुलीजस्ता आधारभूत पक्ष उपलब्ध नभएको र आर्थिक र शिक्षाको हिसाबले पनि कम मात्रामा विकास भएको स्थानीयको अपेक्षा अन्य धेरैनै थियो भन्न नसकिएला ।

०४९ बाट सुरु भएको यसको इतिहासको कुरा गर्दै जाँदा जानकारहरूका अनुसार सोही साल भदौमा जग्गा प्राप्त गरिसकेपश्चात् फागुनमा भवन निर्माणको काम सुरु भई ०५० असारमा पाँच महिनाको अवधिमा सामान्य भौतिक संरचना निर्माण भएको कुरा उल्लेख छ । जानकारहरूकै अनुसार दातृ निकायबाट प्राप्त (तीन लाख २२ हजार आठ सय रुपैयाँ) रकमबाट उक्त कार्य सम्पन्न भएको हो । यसपश्चात्को एक नमिठो पक्षको रूपमा निर्माणको दौरानमा तत्कालीन व्यवस्थापन समितिका केही व्यक्तिले अकारण कानुनी झमेलासमेत झेल्नुपर्ने अवस्था आएको कुरासमेत बताएका थिए । व्यवस्थापन समितिले व्यहोर्नुपरेको विवाद तथा कानुनी अड्चनको कारण करिब एक वर्ष भवनको भौतिक संरचना निर्माणको कार्यले पूर्णता पाउन नसकेको साथै ०५२ देखि देशमा सुरु भएको सशस्त्र जनयुद्धले पुस्तकालयको निर्माण र सञ्चालनले निरन्तरता पाउन नसकेको देखिन्छ । 

२०५० सालमा स्थापना भएको  पुस्तकालय भवन

उल्लेखित विभिन्न कारणले गर्दा सञ्चालनका लागि निरन्तरता पाउन नसकेको निर्माणाधीन पुस्तकालय भवनमा तत्पश्चात् वस्तुभाउ बाँध्ने गोठ, सशस्त्र द्वन्द्वको क्रममा सत्ता पक्ष र विद्रोही पक्षको आश्रयस्थल, मानसिक सन्तुलन गुमाई अपांगता भएका व्यक्तिहरूको आश्रयस्थलदेखि फाँटमा काम गर्ने किसानका लागि झरी पर्दा ओत लाग्ने तथा घाम लाग्दा शीतल बस्ने स्थलको रूपमा प्रयोग भई जीर्ण अवस्थामा करिब डेढ दशक बितेको देखिन्छ ।

स्थानीय जनसमुदायको इच्छाशक्ति र लगाव तथा दातृ निकायले पुस्तकालय स्थापनका लागि देखाएको सकारात्मक तदारुकताको कारण ०६४ देखि जागरुक भएको स्थानीय समुदाय साथै सक्षम नेतृत्वसहितको व्यवस्थापन समितिको सक्रियतामा ०६९ को मध्यतिर करिब ४५ लाखमा पुनः पुस्तकालय भवन निर्माण सम्पन्न गरी पूर्ण रूपमा सञ्चालन गर्न सफल भएको सर्वविधितै रहेको छ । त्यसपश्चात् पुस्तकालयले पुस्तक अध्ययनदेखि, सूचना प्रविधि, समाजमा जागरण ल्याउने कार्यहरू साथै आवश्यकतामा आधारित विभिन्न व्यवहारमुखी कार्यक्रम सञ्चालन गरी स्थानीय समुदायको विविध पक्षको विकासका लागि तथा अदृश्य रूपमा परिवर्तनको संवाहकको भूमिका खेल्न सुरु गरेकोमा हालसम्म यसले निरन्तरता पाइरहेको छ ।

अनवरत रूपमा सञ्चालन भइरहेको पुस्तकालयले पुनः २०७२ को विनाशकारी भूकम्पको सामना नराम्ररी गर्नुप¥यो । जसले गर्दा केही समय पुस्तकालयले आफ्नो गतिमा सामान्य विश्राम लिनुपर्ने बाध्यता रहेको थियो । यसको बाबजुद पनि समयसापेक्ष स्थानीय समुदायमा दिन सक्ने राहत र उद्धार साथै सहयोगको कार्यलाई विभिन्न पक्षबाट सहयोग गरी नै रह्यो । भूकम्पले पुस्तकालय भवनमा क्षति पुर्‍याएपछि अस्थायी पुस्तकालय भवन निर्माण गरी केही महिनाको अन्तरालमा नै पुनः पहिलेको जस्तै सेवा आरम्भ गरी निरन्तरता दिँदै उक्त जीर्ण पुस्तकालय भवन निर्माणका लागि दातृ निकाय र सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै पुस्तकालय पुनर्निर्माणका लागि व्यवस्थापन समिति लागिरह्यो ।

जसको उपलब्धिस्वरूप नयाँ ढाँचामा पुस्तकालय भवन निर्माण गरी सञ्चालन गर्न पुरानै दातृ निकायले (रिड नेपाल)ले पौने तीन करोडबराबरको रकम (भवन, कार्यक्रम र आन्तरिक सामग्रीहरूसहित) सहयोग गर्ने गरी सम्झौता सम्पन्न गर्न सफल भयो । यसको उपलब्धिको रूपमा नेपालकै नमुना बहुप्रकोप प्रतिरोधात्मक अपांगमैत्री पुस्ताकालय भवन निर्माण गरी ०७५ वैशाख २० उद्घाटन गरी सेवा प्रवाहलाई अझ प्रभावकारी ढंगले प्रदान गर्न सुरु गरेको थियो । 

भूकम्पअघिको पुस्तकालय भवन

आजको दिनमा पुस्तकालयले विभिन्न आठवटा कक्षबाट अध्ययनसहित विभिन्नखाले सेवा–सुविधा प्रदान गर्दै समुदायस्तरमा आवश्यकतामा आधारित कार्यक्रमलाई पनि निरन्तरता दिँदै आइरहेको छ । जसमा संस्थाले विभिन्न विधाका करिब १० हजार पुस्तकसहितको पुस्तकालय कक्षसहित युवा, महिला, बाल, सूचना प्रविधि, विपत् जोखिम न्यूनीकरणलगायतका कक्षहरू सञ्चालन गर्नुको साथसाथै समुदायस्तरमा कृषकलक्षित कार्यक्रम, विद्यार्थी तथा शिक्षकलक्षित, युवालक्षित कार्यक्रमका साथै विपत् जोखिम न्यूनीकरणका कार्यक्रम पनि दातृ निकायहरूकै सहयोग र समन्वयमा सञ्चालन गरिरहेको छ ।

सेवाको प्रभाव
रूखको फेदमा रहेको व्यक्तिले त्यसको छहारीबाट बढी मात्रामा शीतलता तथा आनन्द प्राप्त गर्नु र त्यसको प्रत्यक्ष छहारीबाट जति दूरी बढ्दै गयो त्यसबाट प्राप्त गर्ने शीतलतामा कम हुँदै जानु स्वाभाविकै मान्नुपर्दछ । जसको मतलब यस पुस्तकालयबाट प्रवाह भएका हरेक सेवा–सुविधामा प्रत्यक्ष रूपमा बढी मात्रामा लाभ लिने भनेका पुस्तकालयवरपरका समुदाय नै रहेका छन् । त्यससँगै संस्थाको कार्यक्षेत्रभित्रका समुदाय हुँदै आममानिसले यसको सेवा–सुविधा उपभोग गरिरहेका छन् । यसो हुँदै गर्दा पनि संस्थाले आफ्नो गतिविधिहरूलाई कार्यक्षेत्रभित्रका हरेक समुदायमा पु¥याउन हरसम्भव प्रयत्न भने गरी नै रहेको देखिन्छ ।

मानिसको चाहना हुन्छ– कुनै पनि कार्यको प्रभाव स्पष्ट रूपमा देखिनेगरी वा प्रत्यक्ष रूपमा लाभ प्राप्त गर्ने गरी होस् । अथवा प्रत्यक्ष रूपमा आँखाले देखेको वा भोगेको कुरा मात्र परिवर्तन हो । तर, पुस्तकालयले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस भेगका मानिसकाे जीवनस्तर, चेतनास्तर बढाउन अदृश्य रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कृषकका लागि कृषिसम्बन्धी ज्ञान प्रदान, युवाका लागि विभिन्नखाले सचेतनामूलक कार्यक्रम, विद्यार्थी तथा शिक्षकका लागि विद्यालयस्तरीय विभिन्नखाले कार्यक्रम, महिला तथा गृहिणीका लागि विभिन्न सीपमूलक तालिम, वृद्धवृद्धाका लागि पढ्ने तथा श्रव्य–दृश्य सामग्रीमार्फत मनोरञ्जन लिने व्यवस्थालगायत थुप्रैखाले बहुआयामिक सेवा प्रदान गरेको छ । हामीले भुल्न नहुने कुरा पुस्तकालय स्थापना हुनुभन्दा पहिले र अहिलेको आमउमेर समूहका मानिसमा आएको परिवर्तन हो ।

भूकम्पपछिको अस्थायी पुस्तकालय 

तथापि, समयको विकाससँगै समुदाय र मानिसमा आउने परिवर्तन र यस संस्थाले ल्याएको परिवर्तनमा केही भिन्नता भने अवश्य रहेको छ । जुन परिवर्तन शाब्दिक रूपमा व्यक्त गर्न वा अभिव्यक्त गर्न नसके पनि हरेक मानिसले अनुभव गर्न सक्ने खालको रहेकोमा दुईमत छैन । यसको गतिविधिले ल्याएको साना–साना परिवर्तन तथा रूपान्तरण जसलाई हामी अभिव्यक्त गर्न र भन्न रुचाहिरहेका छैनौँ र हुँदैनौँ । तर, सोही साना–साना परिवर्तनका उपजले नै आज यस भेगका मानिसको बहुआयामिक क्षेत्रमा विकास ल्याएको छ ।

कुनै पनि कुराको विषयमा जानकारी लिन मानिस धेरै समय खर्चिन चाहँदैन र मानिसमा समय पनि छैन । हालै विकसित भएका सामाजिक सञ्जालहरू टिकटक, युट्युब वा फेसबुकमा आउने छोटा भिडियोहरू आदिले झन् मान्छेलाई धैर्य गर्ने बानीमा कमी ल्याएको छ । यसको साथै आजभोलि पढ्नभन्दा हेर्न र सुन्नमा बढी रुचि राख्न थालेका छन् । त्यसैले अबको दिनमा पुस्तकालयले दिने सेवालाई पनि सबैखाले वर्गलाई समेट्ने गरी पाठकको आवश्यकता र चाहना, परिवर्तित विश्व समुदायअनुसार प्रविधियुक्त पुस्तकालय सेवा निर्माणको खाँचो रहेको छ ।

जसमा हामीले पहिले र अहिलेको युवा जमातमा आएको परिवर्तन, महिला, वृद्धवृद्धाहरू जसलाई समाज तथा विश्व परिवेश बुझ्न सक्ने, बोल्न सक्ने, निर्धक्क रूपमा विचार अभिव्यक्त गर्न सक्ने, सूचना प्रविधिमा आधारभूतदेखि मध्यमखालको क्षमता राख्न सक्ने, नयाँ–नयाँ ज्ञान तथा सीपको खोजी गर्न सक्ने, समुदायको हरेक गतिविधिलाई नजिकबाट नियाल्न र विश्लेषण गर्न सक्ने, विद्यार्थी तथा शिक्षकलाई पनि समय, नयाँ तथा ज्ञानबद्र्धक कुराको विषयमा समयसापेक्ष अद्यावधिक हुन सयहोगलगायत विभिन्नखाले परिवर्तको जग बसाल्ने कार्य यसको सेवा तथा कार्यक्रमले गरेको छ । अझ हेलेन केललरले ‘संसारको सबैभन्दा सुन्दर अनि सुन्दरतम् वस्तुलाई न देख्न न छुन सकिन्छ । त्यस्ता वस्तुलाई त केवल हृदयले महसुस गर्दछ’ भनेका छन् । हो, यी र यस्तैखाले प्रभाव यसले समुदायमा पारेको छ । 

वर्तमान अवस्था
संस्था सञ्चालनको दौरानमा आजको दिनसम्म आइपुग्दा करिब ९० प्रतिशत हिस्सा दातृ निकायको सहयोगमा सञ्चालन गीररहेको कुरा हामी नकार्न सक्दैनौँ । त्यसबाहेक स्थानीय निकाय, जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरबाट पनि वेलावेलामा विभिन्नखाले सहयोग पनि भइरहेको छ । यसको साथै स्थानीय समुदायको पनि निरन्तर आर्थिक, भौतिक तथा विभिन्न रूपमा सहयोग र संलग्नता रही नै रहेको छ ।

बाहिरी रूपमा जे देखिरहेका छौँ वास्तवमा त्यो हामीले देखेजस्तो छैन, हामीले जे सुनिरहेका छौँ वास्तवमा सुनेजस्तो आन्तरिक रूपमा केही छैन, जुन हामीले भोगिरहेका छाैँ यति गर्नलाई पनि देखेजस्तो सजिलो छैन नै । मुख्यगरी हामीले आजको दिनमा बुझ्नुपर्ने कुरा भनेको कुनै पनि वेला दातृ निकायबाट पाइरहेको सहयोगको निरन्तरता टुट्ने वा सहयोगमा गिरावट आउँदै गर्दा यसको दिगो सञ्चालनका लागि समस्या खडा हुने देखिन्छ ।

पुस्तकालयको भवन तथा संरचना जुन हिसाबमा रहेको छ सोही अवस्थामा राखिराख्न र पुस्तकालयको दैनिक नियमित कार्य सञ्चालनका लागि पनि कम्तीमा मासिक ४० देखि ५० हजारको हाराहारीमा स्रोत आवश्यक हुन्छ । जसका लागी नियमित स्रोत संस्थासँग छैन । यसरी हेर्दा विगतदेखिको लामो संघर्ष र त्यागले आजको दिनसम्म आइपुग्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरूको विरासत जोगाउन तथा आगामी सन्ततीका लागि एउटा सिकाइ थलोको रूपमा स्थापित राखिराख्न पनि यसको दिगो सञ्चालनको बाटो खोज्नुपर्नेछ ।

संस्था निरन्तर सञ्चालनका लागि कल्पना गरिएको परियोजना सोचेअनुरूप प्रभावकारी बन्न नसकेको हो कि भन्ने कुरा आभास भएको छ । कानुनतः उक्त व्यवसायको नियमन तथा नियन्त्रण गर्ने निकाय साथै पुस्तकालय र दिगो व्यवसाय सञ्चालनको विधि कानुनी रूपमा नै फरक रहेर पनि उक्त व्यवसायमा पुस्तकालय व्यवस्थापन पक्षको पूर्ण रूपमा आफ्नो मातहत तथा स्वामित्वमा राख्न नसक्ने अवस्था रहेको छ । सोही कारण उक्त दिगो परियोजनालाई व्यवस्थित र प्रभाकारी रूपमा अगाडि बढाउनुपर्ने टड्कारो आवश्यक देखिन्छ । यसको साथसाथै अन्य वैकल्पिक उपाय र माध्यमहरूको खोजी र विकास पनि अपरिहार्य रहेको छ ।

अहिलेको सुविधासम्पन्न भवन

अबको बाटो
पहिलो कुरा के हो भने हाल नेपाल सरकारले एक स्थानीय तह एक पुस्तकालयको अवधारणा ल्याइसकेको अवस्था छ । जसका लागि स्थानीय तहले शून्यस्तरबाट सुरु गर्नुपर्ने अवस्था पनि रहन सक्ने हुने थियो । तर, यस स्थानीय तहमा त देशकै नमुना पुस्तकालय स्थापना भई सञ्चालनको अवस्थामा रहेको छ । जसअनुसार स्थानीय सरकारले यसैलाई अपनत्व लिई संस्थाको दिगो सञ्चालनका लागि अगाडि बढाउने अवसरको रूपमा रहेको छ । यदि यसो भएमा राज्यको नीति सफल हुनुको साथै स्थानीय सरकारको समेत प्रशंसनीय कार्यको रूपमा लिन सकिन्छ । जुन दिगो सञ्चालनको आधारको पहिलो विकल्प हो ।

हाल यस संस्थाका लागि नगरपालिकाले एकजना कर्मचारीको व्यवस्था गरेको भन्ने कुरा बुझिएको छ, यसलाई पनि हामीले पुस्तकालयको केही मात्रामा अपनत्व स्थानीय सरकारले लिएको ठान्न सकिन्छ । यो कदमलाई हामीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्दछ । अब यसले अविछिन्न रूपमा निरन्तरता पायो भने केही हदसम्म संस्थालाई राहत पुग्ने देखिन्छ । तर, स्थानीय सरकार फेरिँदा संस्थालाई हेर्ने दृष्टिकोण फेरिने र उक्त व्यवस्था पनि हट्यो भने फेरि प्रतिकूल अवस्था सिर्जना हुन जान्छ।

यसरी पुस्तकालयलाई स्थानीय तहले अपनत्व लिई नगरभित्र सञ्चालन हुने विभिन्न गतिविधिलाई साझेदारी र सहकार्यमा गर्दै लाने हो भने यसको दिगो सञ्चालनमा कुनै समस्या हुनेछैन । अर्को कुरा के छ भने, पुस्तकालयका कतिपय प्रयोगकर्ताहरूले पुस्तकालयबाट लिने हरेक सेवा–सुविधाहरू निःशुल्क र प्रभावकारी होस् भन्ने चाहना राखिरहेको देखिन्छ ।

प्रयोगकर्तामा यस्तो इच्छा उजागर हुनु सकारात्मक पक्ष नै भए तापनि जसका लागि पुस्तकालयमा मुख्य गरी स्रोत र साधनको कमी भएको कुरा पनि बुझ्न जरुरी छ । यसको दिगो सञ्चालन र प्रभावकारी सेवा लिन केही आर्थिक सहयोग प्रयोगकर्ताहरूले पनि गर्नुपर्ने देखिन्छ ।

जसका लागि अहिलेको अवधारणामा रहेको आजीवन सदस्यबाट संकलित रकमलाई यसको मुख्य उद्देश्यअनुसार व्यवस्थापन गर्दै आगामी दिनमा पाठक सदस्यता पनि वितरण गर्ने जसमा उपयुक्त शुल्क लिने र वार्षिक रूपमा नवीकरणको अभ्यास गर्ने, अर्को भनेको पुस्तकालयले निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको कम्प्युटरसम्बन्धी आधारभूत तालिममा पनि न्यूनतम शुल्क निर्धारण गर्नुपर्ने देखिन्छ । यसो नहुँदा कम्प्युटर सिक्ने प्रशिक्षार्थीको पनि सक्रियता नदेखिएको अवस्था छ । यसैगरी सरोकारवाला निकायहरूसँगको समन्वयमा अन्य आयआर्जको वैकल्पिक माध्यमहरूको विकास गर्नु जरुरी रहेको छ । यसका साथै अन्य सेवाहरूमा पनि न्यूनतम रूपमा सबैलाई मान्य हुने गरी सामान्य शुल्क निर्धारण गर्न सक्ने विकल्प रहन सक्दछ ।

स्थानीय स्तरमा आवश्यकता महसुस भएका र मागबमोजिमका सीपमूलक तालिमहरू सञ्चालन पनि यसको अर्को दिगो सञ्चालनको स्रोत हुन सक्दछ । जसको कारणले स्थानीयको आयआर्जनमा वृद्धिको साथै पुस्तकालयको सेवा प्रभावकारितामा वृद्धि हुँदै जाने देखिन्छ । यस भेगमा रहेको कला तथा संस्कृतिको विकासको विभिन्न कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्ने, विभिन्न तह र तप्कालाई लक्षित गरी कार्यक्रमको विकास गरी कार्यान्वयन गर्ने, पुस्तकालयका लागि वाचनालयको रूपमा पनि स्थापित गरी समय–समयमा पाठकका रचनाहरू वाचन तथा प्रकाशन गर्न सकिने, शिक्षकको क्षमता प्रस्फुटन तथा विकासका लागि शिक्षक लक्षित कार्यक्रमहरू ल्याउने । यसैगरी युवा, वृद्धवृद्धा, महिला, कृषकलगायतका पक्षहरूलाई लक्षित गरी सञ्चालित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै जानुपर्दछ । 
आजको युग भनेको सूचना प्रविधिको युग हो ।

कुनै पनि कुराको विषयमा जानकारी लिन मानिस धेरै समय खर्चिन चाहँदैन र मानिसमा समय पनि छैन । हालै विकसित भएका सामाजिक सञ्जालहरू टिकटक, युट्युब वा फेसबुकमा आउने छोटा भिडियोहरू आदिले झन् मान्छेलाई धैर्य गर्ने बानीमा कमी ल्याएको छ । यसको साथै आजभोलि पढ्नभन्दा हेर्न र सुन्नमा बढी रुचि राख्न थालेका छन् । त्यसैले अबको दिनमा पुस्तकालयले दिने सेवालाई पनि सबैखाले वर्गलाई समेट्ने गरी पाठकको आवश्यकता र चाहना, परिवर्तित विश्व समुदायअनुसार प्रविधियुक्त पुस्तकालय सेवा निर्माणको खाँचो रहेको छ ।

बुझ्नुपर्ने पक्ष
यसको प्रयोगकर्ता तथा पठकले मुख्यगरी पुस्तकालय भवनको संरचना हेरेर निःशुल्क सेवाको माग र अपेक्षा होइन कि यसको दिगो सञ्चालन र भित्री पक्षलाई आधार मानी सेवा उपभोग र प्रयोगको भावना राख्नुपर्ने हुन्छ । यसलाई हामीले हाम्रो समाजको सुन्दरताको रूपमा लिनुपर्छ । हाम्रो आफ्नो साथै आफ्ना भविष्यको सन्ततिका लागि सिकाइको उपयुक्त स्थानको रूपमा लिनुपर्दछ । यसलाई पुस्तौँपुस्तासम्मले प्रयोग र उपभोग गर्न सक्ने गरी यसको संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो भन्ने भावनाको विकास हामीले गर्नुपर्छ । यदि हामीले यसलाई दुहुनो गाई बनायौँ र दूध दिउन्जेल दूध खाने र दूध दिन छाडेपछि छोडिदिने खालको सोच राख्यौँ भने यसको स्थायित्व हामीले कल्पना गरेअनुसार रहन सक्दैन । यसबाट हामीले दीर्घकालीन रूपमा सेवा लिने सोच राख्दछौँ भने यसको पालनपोषणमा हामी सबैको सक्रिय सहभागिता र योगदान अपरिहार्य छ ।

यसको सर्वपक्षीय विकासका लागि यस भेगका विभिन्न पार्टीमा आस्था राख्ने राजनीतिक दल तथा दल सम्बद्ध पक्षहरू र आमसमुदायहरूले अजसम्म गरेको र पुर्‍याएको योगदान र सहयोगको उच्च मूल्यांकन गर्दै अझ एक कदम माथि उठी सोच्नुपर्ने वेला पनि आएको देखिन्छ । वास्तविक रूपमा यसको विकास र दिगो सञ्चालनमा विभिन्नखाले विचार र आस्था राख्ने व्यक्तिले यसलाई आफ्नो गहनाको रूपमा लिई अघि बढेमा पनि यसको दिगो सञ्चालन असम्भवप्रायः देखिँदैन । भन्न त भनिन्छ पुस्तकालय भनेको एक मन्दिर हो, जसरी मन्दिर पस्दा हामीले लगाएको जुत्ता बाहिरै खोलेर पस्छौँ त्यसरी नै पुस्तकालयमा पस्दा पनि राजनीतिक मानसिकता र पहिरनलाई बाहिरै खोलेर पस्नुपर्दछ । यसभित्र राजनीतिको गन्ध र चरित्र भित्र हुल्नुहुँदैन । तर, यो सम्भवप्रायः न्यून रहेको कुरा हो ।

किनभने राजनीतिक संयन्त्रबाट सञ्चालित कुनै पनि देशको कुनै पनि पक्ष यसको संलग्नताविना अगाडि बढ्न सकेको देखिँदैन । त्यसैले यहाँभित्र पस्दा मन्दिरभित्र पसेजस्तो राजनीतिक आस्था वा पहिरनलाई खोलेरभन्दा पनि धोएर सफा मनले पस्नुपर्ने हुन्छ । अनि मात्र यसको दिगो सञ्चालनमा मद्दत पुग्दछ । जुन कुरा सर्वविधिै छ र व्यवहारसिद्ध पनि हुँदै आइरहेको देखिन्छ । यसरी सम्पूर्ण पक्षहरूले आफूसम्बद्ध स्थान र तहबाट संस्थाको दिगो विकासका लागि हरसम्भव प्रयास र प्रयत्न गर्नुपर्ने खाँचो रहेको छ ।

कुमरी तथा नुवाकोट जिल्लाको मात्र नभई राष्ट्रिय रूपमा पनि पुरस्कृत र परिचित भइसकेको यस पुस्तकालयलाई राष्ट्रिय गहनाको रूपमा लिन सकिन्छ । त्यसकारण पनि यस पुस्तकालयले त्यस भेगको मुहारमा थप शृंगार थप्ने काम गरेको छ । यस ठाउँकोे मुहारलाई सधैँ सुन्दर र चम्किलो बनाइराख्न माथि उल्लेख गरेअनुसार अन्य धेरै पक्षमा सोच्नुपर्ने वेला आएको छ । अहिलेको अवस्थामा यसको सञ्चालनमा त्यति समस्या खासै नहोला तथा यसको दिगो सञ्चालन आजको आवश्यकता हो । दिगो मात्र नभई प्रभावकारी रूपमा दिगो सञ्चालनको विषयले आजको दिनमा प्राथमिकता पाउनुपर्ने देखिन्छ ।

समाज र समय आजको भन्दा भोलिको निश्चित रूपमा विकसित र फरक हुन्छ नै, यो स्वाभाविक कुरा हो । यसकारण पनि परिवर्तित समय र समाजअनुरूप आगामी दिनमा सबल रूपमा सञ्चालनका लागि यससँग सम्बन्धित सबै पक्षले ध्यान दिनु जरुरी छ । जसमा मुख्य भूमिका भनेको यसको व्यवस्थापन र सर्वपक्षीय विकासका लागि नजिक रहेर काम गर्ने तथा चाहना राख्नेहरूको अझ बढी रहने हुन्छ । जसले उक्त भूमिका निर्वाह गर्दै गर्दा आगामी पुस्ताले गौरव गर्न र परिवर्तनको आभास गर्न सकोस् । न कि विगतको जस्तो नमिठो इतिहास नबोकोस् ।

खासगरी संस्थाको अभिभावकत्व निर्वाह गर्ने गरी जसले तेतृत्वदायी भूमिका निर्वाह गर्नुहुन्छ उहाँहरूले कुनै पनि पक्षबाट आर्थिक रूपमा लाभ न विगतमा कसैले पाउनुभयो न भविष्यमा कसैले पाउनुहुने नै छ । सबल रूपमा यसको तेतृत्व गर्न सक्दा कमाउने भनेको सामाजिक सदभाव, सामाजिक पहिचान, मान, सम्मान, इज्जत र प्रतिष्ठा नै हो । त्यसैले पनि संस्थाले समयसापेक्ष आवश्यकता र परिवर्तनमा दख्खल राख्नेखालको अभिभावकत्व आजको दिनमा खोजेको छ । यस ठाउँमा जन्म लिइसकेको एक इतिहास वा धरोहरको माया जोकोहीलाई नहुने होइन, तर प्रत्यक्ष रूपमा नजिकबाट नियाल्ने, मलजल, गोडमेल र स्याहारसुसार गर्न जो तयार हुन्छ उसको बढी भूमिका अवश्य नै रहन्छ । यसको अलावा बाहिर रहेर गर्ने साथ, सहयोग र समर्थन भने सबैले गर्नु नै पर्ने छ ।

र अन्त्यमा...
हामीले यस कुरालाई एउटा कुखुराको अन्डासँग दाँजौँ । एउटा खुखुराको परिपक्व अन्डा जसलाई हामीले विभिन्न रूपमा प्रयोग गर्न सक्दछौँ । तर, सोही अन्डालाई चल्लाको जीवन दिने माध्यमको रूपमा हेर्ने हो भने धारणा फरक बनाउनुपर्ने हुन्छ । कुखुराको अन्डाबाट चल्ला निस्किन अन्डा फुट्नुपर्ने हुन्छ । तर, अन्डा फुटाउँदैमा चल्ला निस्किन्छ भनेर हामीले जबर्जस्ती बाहिरी दबाब र आफ्नोअनुकूलताले उक्त अन्डालाई फुटाइदियौँ भने त्यहाँ एउटा चल्लाको जीवनको अत्य हुन्छ, किनकि उक्त अन्डाभित्र चल्ला बनिसकेको हुँदैन वा परिपक्व भइसकेको हुँदैन, तर त्यही अन्डालाई समय र प्रक्रियाअनुसार भित्रबाटै आफैँ फुट्न दियौँ भने फेरि त्यहाँ एउटा चल्लाले जीवन प्राप्त गर्दछ । किनभने उक्त अन्डा समयअनुसार आफैँ परिपक्व भएर फुटेको हुन्छ ।

त्यसैले हामीले के बुझ्नुपर्‍यो भने यसको विकास र संरक्षणका लागि कुनैखाले फरक विचार र धारणा नराखी विना कसैको दबाब र प्रभाव भित्री मनदेखि नै आफ्नो इच्छा प्रस्फुटित गरायौँ भने असम्भव भन्ने कुरा छैन । तर, कोही–कसैले भनेको भरमा हो गर्नुपर्छ गर्दिऊँ न त भनेर गरेको सोचले खासै मूर्तरूप प्राप्त गर्दैन र यसको दिगो विकासले आशातीत रूपमा फड्को मार्न सक्दैन । त्यसकारण पनि हामी सम्पूर्ण यसमा सम्बद्ध र आबद्ध व्यक्ति, समुदाय र सरोकारवाला निकायले एकाकार भई यसको विकास, संरक्षण र दिगो सञ्चालनमा निरन्तर लाग्नुपर्ने देखिन्छ । यस लेखमा समेटिएका कुरा करिब पाँच वर्ष पहिले सरोकारवाला व्यक्तिहरूसँगको कुराकानी र आफू पुस्तकालयमा रहेर कार्य गर्दाको व्यक्तिगत अनुभव साथै हालको परिवेशलाई हेरी लेखिएको छ ।

 तिमल्सिना बेलकोटगढी नगरपालिका– २, नुवाकोटका हुन् । 

ad
ad
ad
ad