![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/ghumti-shauchalaya2023-05-18-12-39-30.jpeg)
रौतहटको चन्द्रपुर, गरुडा र गौर नगरपालिका सहरका रूपमा विस्तार भइरहेका छन्। तर, यी क्षेत्रमा सार्वजनिक शौचालय भने भेट्न मुस्किल छ।
शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटेल, खाजा घर छिरेर केही न केही उपभोग गर्न बाध्य छन्। कुनै पनि नगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा नागरिकले सास्ती त पाएका छन् नै, वातावरणसमेत दुर्गन्धित हुन थालेको छ। सहरीकरण विस्तार भइरहँदा सार्वजनिक शौचालय निर्माणमा कुनै स्थानीय तहले योजना बनाएका छैनन्।
जिल्लाका १८ वटा स्थानीय तहमध्ये दुई पालिकामा घुम्ती शौचालय तथा अन्य दुई पालिकामा मात्रै सार्वजनिक शौचालय छन्। जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको छ।
चन्द्रपुर नगरपालिकामा रहेका दुईवटा घुम्ती शौचालयसमेत विगत लामो समयदेखि प्रयोगविहीन छन्। स्थानीय बासिन्दाले नगरपालिकाले घुम्ती शौचालय प्रयोगमा ल्याउन माग गरेका छन्।
संघले सरसफाइको जिम्मेवारी पालिकाहरूलाई दिएकाले पालिकाले स्पष्ट नीति बनाएर सार्वजनिक शौचालयको समस्या समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ। तर, सार्वजनिक शौचालय स्थानीय सरकारको कम प्राथमिकतामा पर्ने गरेका छन्।
सार्वजनिक शौचालय निर्माणमा कार्यविधि र इच्छाशक्ति नहुँदा बजेट पचाउन हतारमा गरिएको खुला दिसामुक्त क्षेत्र घोषणाको प्रभावकारिता देखिएको छैन। अधिकांश स्थानीय तहले जग्गा अभाव भएको कारण देखाएर शौचालय बनाउने जिम्मेवारीबाट पन्छिएका छन्।