मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ४ बिहीबार ११:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

व्यक्तित्व विकासका लागि तेक्वान्दो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ४ बिहीबार ११:१८:००

खेलाडी छँदा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका मोहन विश्वकर्मा ०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद्मा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छन् । उनले ‘समुदायमा खेलकुद’ भन्ने नारासहित दुर्गम गाउँहरूमा पुगेर तेक्वान्दो प्रशिक्षण दिइसकेका छन् । भोजपुर, सुनसरी, इटहरी, झापा, तेह्रथुप, ताप्लेजुङ, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोटी, बैतडीलगायत जिल्लामा गएर खेलाडीलाई प्रशिक्षण दिएका विश्वकर्मा आत्मरक्षा, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकालाई तेक्वान्दो खेलाउन अभिभावकलाई सुझाव दिन्छन् । 

‘तेक्वान्दोलाई पहिले मनोरञ्जनका रूपमा मात्रै लिइन्थ्यो । तर, व्यक्तित्व विकासका लागि यो खेल राम्रो हुन्छ भन्ने कुरा अहिले समाजले बुझ्न थालेको छ,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको उपस्थिति र प्रभाव यसैको नतिजा हो, यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ 

बालबालिकालाई सानैदेखि तेक्वान्दो खेलाउँदा उनीहरूको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनले बताए । ‘तेक्वान्दोले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ । उनीहरूलाई अनुशासनमा राख्छ,’ उनले भने, ‘त्यसैले बालबालिकालाई सानैदेखि यो खेल खेलाउनु राम्रो हुन्छ ।’ तेक्वान्दोको विकास र विस्तारमा देशभरका गाउँपालिका तथा नगरपालिकाहरूले चासो दिनुपर्ने उनी बताउँछन् । 

‘तेक्वान्दो खेलले शरीर मजबुत बनाउने तथा स्वस्थ राख्ने भएकाले यस खेलको विकासले स्वस्थ नागरिक उत्पादन गर्न भूमिका खेल्छ,’ उनले भने, ‘ध्यान र स्मरणशक्ति बढाउँछ । व्यक्तित्व विकासमा सहयोग गर्छ । मित्रवत् तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्छ । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई धेरै पदक दिलाइसकेको खेल भएकाले पनि यसको आफ्नै महŒव छ । त्यसैले यस खेलको विकास र विस्तारका लागि स्थानीय तहले नै चासो दिनुपर्छ ।’