१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० जेठ ४ बिहीबार १०:५३:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरको आम्दानीमा ७१ प्रतिशतले वृद्धि

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० जेठ ४ बिहीबार १०:५३:००

बहाल करबाट मात्रै उठ्यो १० महिनामा एक अर्ब ७५ करोड

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा काठमाडौं महानगरपालिको आम्दानी अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशतले वृद्धि गरेको छ । महानगरका अनुसार यस अवधिका सात अर्ब ३९ करोड ४० लाख ११ हजार सात सय १८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको हो । महानगरले चालू आर्थिक वर्षमा १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख रुपैयाँ राजस्व अनुमान गरिएको थियो । 

संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३.५० प्रतिशत र अनुदानतर्फ ८६.४५ प्रतिशत प्रगति प्राप्त भएको छ । गत वर्ष यी शीर्षकमा क्रमशः ७९.७० प्रतिशत, २९.६१ प्रतिशत र ५३.०३ प्रतिशत प्रगति गरेको थियो । राजस्व अनुमान नौ अर्ब आठ करोड ७० लाख १३ हजार थियो भने संकलित रकम पाँच अर्ब ३७ करोड २३ लाख ६ हजार पाँच सय ६९ रुपैयाँ थियो । गत आवमा महानगरले लक्ष्यको ५९.१२ प्रतिशत आम्दानी गरेको थियो । 

चालू आर्थिक वर्षको आन्तरिक आम्दानीमध्ये बहाल करबाट करिब पौने दुई अर्ब राजस्व संकलन गरेको छ । बहाल करबाट एक अर्ब ७५ करोड राजस्व संकलन गरेको उल्लेख छ । यो शीर्षकमा दुई अर्ब राजस्व संकलन गर्ने अनुमान थियो । अघिल्लो आर्थिक वर्षमा यही शीर्षकमा एक अर्ब ४९ करोड संकलन भएको थियो । 

यस्तै, पार्किङ शुल्कबाट एक करोड राजस्व आकलन गरिए पनि एक करोड २४ लाख राजस्व संकलन गरेको छ । गत वर्ष यही शीर्षकमा महानगरले ५७ लाख ४४ हजार राजस्व संकलन गरेको थियो । महागनरले पर्यटन शुल्कबापत आठ करोड ७१ लाख राजस्व संकलन गरेको छ । यो शीर्षकमा सात करोड राजस्व संकलन हुने अनुमान थियो । गत वर्ष यही शीर्षकमा महानगरले एक करोड ८३ लाख राजस्व संकलन गरेको थियो ।

महानगरको आन्तरिक आयमा सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा लाग्ने कर, सम्पत्ति कर, भूमि करसवारी कर (साना सवारीसाधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता/लागत सहभागिता/सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत छन् । यस्तै, पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिस्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, बेरुजुलगायत शीर्षक छन् । 

घरजग्गा कारोबार कमजोर हुँदा आम्दानी प्रभावित 
महानगरका अनुसार बाँडफाँटबाट प्राप्त हुने आम्दानीको सबैभन्दा धेरै आयअपेक्षा गरिएको शीर्षक घरजग्गा रजिस्ट्रेसन दस्तुर हो । तर, यो शीर्षकमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । यो शीर्षकमा चालू आर्थिक वर्षमा दुई अर्ब ५० करोड रुपैयाँ आम्दानी लक्ष्य राखिएको थियो । राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार घरजग्गा कारोबार कमजोर भएपछि यसको असर राजस्वमा पनि परेको छ । 

सवारीसाधन करमा प्रगति शून्य
सवारीसाधन कर (साना), वित्तीय निकायबाट प्राप्त हुने ब्याज र परीक्षा शुल्कमा शून्य प्रतिशत प्रगति छ । यस्तै बाँडफाँट भई प्राप्त हुने अन्तःशुल्कमा पनि शून्य प्रतिशत प्रगति छ । यी शीर्षकमा शून्य प्रगति हुनुको कारणका बारेमा विभागका प्रमुख काफ्लेले भने, ‘रिक्सा ठेला साना सवारीसाधन शीर्षकमा पर्छन् । यिनीहरू असारमा नवीकरण हुन आउने भएकाले आम्दानी नदेखिएको हो । बैंकमा जम्मा भएको रकमको ब्याज बैंकबाट खातामा जम्मा भएको छैन । यसकारण प्रगति नदेखिएको हो । परीक्षा दस्तुर शिक्षा क्षेत्रको आयमा राखिएकाले परीक्षा शुल्कमा प्रगति देखिएन ।’ 

बाँडफाँटबाट आय प्राप्त हुने शीर्षकमा, घरजग्गा रजिस्ट्रेसन दस्तुर, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर छन् । महानगरको आन्तरिक अनुदानमा समानीकरण, ससर्त अनुदान चालू ससर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ । यी शीर्षकमा क्रमशः ७५ प्रतिशत, ८६.०४ प्रतिशत र ५०८.४५ प्रतिशत प्रगति छ । अनुदान पुँजीगतमा दुई करोड ४१ लाख रुपैयाँ लक्ष्य राखिएकोमा १२ करोड २५ लाख ३२ हजार नौ सय ९५ रुपैयाँ प्राप्त भएको छ ।