Skip This
नेपाल–बंगलादेश ऊर्जा बैठक : नेपाल, भारत र बंगलादेशको त्रिपक्षीय संयन्त्र बनाउने सहमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o जेठ २ मंगलबार o६:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–बंगलादेश ऊर्जा बैठक : नेपाल, भारत र बंगलादेशको त्रिपक्षीय संयन्त्र बनाउने सहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार o६:२३:oo

विद्युत् व्यापारका लागि नेपाल–भारत–बंगलादेशको छुट्टै त्रिपक्षीय संयन्त्र बनाउने सहसचिवस्तरमा सहमति गरिएको छ । बंगलादेशको ढाकामा सोमबारदेखि भएको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी)को पाँचौँ बैठकमा यस्तो सहमति भएको हो ।

‘अहिलेसम्म विद्युत् व्यापार गर्ने मामलामा नेपालले द्विपक्षीय संयन्त्र बनाएर काम गर्दै आएको थियो । अब नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सयन्त्र बढाएर काम गर्ने सहमति पनि भएको छ,’ स्रोतले भन्यो, ‘यो पनि निर्णयका लागि सचिवस्तरीय बैठकमा सिफारिस गरिएको छ । आइबिबिएन मोडलअन्तर्गत रहेर यस्तो संयन्त्र बनाउन खोजिएको हो ।’ गत वर्ष जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भारत, बंगलादेश, भुटान र नेपाल (आइबिबिएन) मोडलमा ऊर्जा सहकार्य गर्ने सहमति भएको थियो । सोही सहमतिअन्तर्गत यस्तो संयन्त्र बनाउन खोजिएको हो । 

नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्ने गरी सन् ०१८ मा जेएससी गठन भएको थियो । त्यसको पाँचौँ बैठक सोमबारदेखि सुरु भएको हो । मंगलबारसम्म सञ्चालन हुने बैठकको पहिलो दिन सहसचिवस्तरीय बैठक भएको छ । छलफलमा नेपालको तर्फदेखि ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र बंगलादशको ऊर्जा मन्त्रालयका सहसचिव डा. स्येद मासुम अहमद चौधरीले नेतृत्व गरेका थिए ।  ‘सोमबारको छलफलमा मोटामोटी सहमति गरेर सचिवस्तरीय बैठकलाई सिफारिस गरेका छौँ । मंगलबार सोही बैठकले त्यसबारे अन्तिम निर्णय गर्नेछ,’ बैठकमा उपस्थित भेटुवालले जानकारी दिए । 

मंगलबारको बैठकलाई नेपालको तर्फबाट ऊर्जासचिव दिनेश घिमिरे र बंगलादेशको तर्फबाट ऊर्जासचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् । सहसचिवस्तरबाट आएको सिफारिसबारे यही बैठकले अन्तिम निर्णय गर्नेछ ।
स्रोतका अनुसार नेपाल र बंगलादेशबीच अल्पकालीन तथा दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्ने सहमति गर्न सचीवस्तरीय बैठकलाई प्रस्ताव गरिएको छ ।

‘बंगलादेश र नेपालबीच अल्पकालीन तथा दीर्घकालीन रूपमै विद्युत् व्यापार गर्ने गरी सहसचिवस्तरीय बैठकमा सहमति भएको छ,’ बैठकमा उपस्थित एक नेपाली अधिकारीले भने, ‘मंगलबार हुने सचीवस्तरीय बैठकले त्यसबारे निर्णय गर्न सक्नेछ ।’ साथै, यही वर्ष नेपालले बंगलादेशमा ५० मेगावाट विद्युत् बिक्री गर्ने सम्बन्धमा पनि आवश्यक सहमति गर्न सचिवस्तरीय बैठमा सिफारिस गरिएको छ । 

भारतले सहयोग गर्ने प्रतिबद्धता गरेसँगै प्राधिकरणले यही बर्खामा लिखु–४ जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । त्यसबारे आवश्यक निर्णय गर्न सचिवस्तरीय बैठकमा सिफारिस गरिएको स्रोतको भनाइ छ । 

गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा बैठकमा बंगलादेशले गत कात्तिकभित्रै नेपालबाट ५० मेगावाटसम्म खरिद गर्ने भनेको थियो । तर, नेपाल–बंगलादेशबीच विद्युत् आदान–प्रदान गर्न डेडिकेटेड प्रसारण लाइन छैन । सोहीअनुसार भारतीय प्रसारण लाइन प्रयोग गरेर विद्युत् आदान–प्रदान गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले भारतसँग पहल गर्ने भनिएको थियो । तर, भारतमा समयमै पहल नहुँदा त्यो सफल भएन ।

यद्यपि, गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो संरचनामार्फत नेपालबाट ५० मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्न दिने सहमति गरेको थियो । त्यसपछि प्राधिकरणले लिखु–४ को विद्युत् बंगलादेश बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । ‘यसका लागि आवश्यक सहमति गर्ने गरी सचिवस्तरीय बैठकमा सिफारिस गरिएको छ,’ स्रोतले भन्यो ।  यस्तै, नेपाल–बंगलादेशबीच अन्तरदेशीय डेडिकेटेड प्रसारण लाइन बनाउने पनि सहमति भएको छ । यसबारे पनि आवश्यक निर्णय गर्न सचिवस्तरीय बैठकमा सिफारिस गरिएको स्रोतको भनाइ छ ।