१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल काठमाडाैं
२०८० जेठ १ सोमबार ०७:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मनाङले जावलाखेललाई रोक्यो

Read Time : > 1 मिनेट
रमेश रावल, काठमाडाैं
२०८० जेठ १ सोमबार ०७:३८:००

कीर्तिमानी आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङ सहिद स्मारक ए डिभिजन लिगको चौथो खेलसम्म जितविहीन रहेका छन् । आइतबार शीर्ष स्थानको जावलाखेल युथसँग २–२ गोलको बराबरीमा रोकिँदा प्रशिक्षक विष्णुले चौथो खेलमा पनि प्रस्ट तीन अंक हात पार्न सकेनन् । च्यासल मैदानमा जावलाखेलका लागि एनकोटो मासोआबी र हिसुब थपलियाले गोल गरेका थिए । मनाङका लागि बिसोन गुरुङ र सुमित श्रेष्ठले समान एक गोल गरे । 

लिगको १३औँ चरण सम्पन्न भएसँगै लिगमा मनाङले एएफसी ए लाइसेन्सप्राप्त विष्णुलाई जिम्मेवारी सुम्पिएको थियो । ‘चौथो खेलसम्म जितविहीन छौँ । तर, मानसिक रूपमा सबै राम्रो हुँदै गएको छ । खेलाडीले स्तरीय प्रदर्शन गरिरहेका छन्,’ प्रशिक्षक विष्णुले भने, ‘अवसरहरू धेरै भएका छन् । यो राम्रो पक्ष हो, केही मुख्य खेलाडी घाइते हुँदा समस्या छ ।’

मुख्य प्रशिक्षक किरण श्रेष्ठले लगातार छैटौँ खेलसम्म हार शृंखला रोक्न नसकेपछि १३औँ चरणपछि पदबाट राजीनामा दिएका थिए । श्रेष्ठको राजीनामासँगै अर्काे ए डिभिजन क्लब खुमलटार युथका प्राविधिक निर्देशक विष्णुले मनाङको बाटो तताए । विष्णु ०७८ को लिगमा संकटाको मुख्य प्रशिक्षक थिए । २० वैशाखमा खुमलटारको प्राविधिक निर्देशकबाट फुकुवा भएको भोलिपल्टै विष्णु मनाङको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । 

यससँगै मनाङको प्रशिक्षक बन्न विष्णु योग्य नभएको पनि भनियो । तर, एन्फाले आन्तरिक समस्या सुल्झाउँदै विष्णुलाई मनाङको प्राविधिक क्षेत्रमा उभ्याइछाड्यो । शीर्ष डिभिजन लिग जारी रहँदा विष्णु यू–१७ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बन्दै एएफसी कप छनोट खेलाउन जोर्डन पुगेका थिए । 

विष्णुको प्रशिक्षणमा मनाङले चार खेल खेल्यो । चारै खेलमा अंक बाँडेको छ । विष्णु मनाङको प्राविधिक क्षेत्रमा उभिएको पहिलो खेलमा सातदोबाटो युथसँग गोलरहित बराबरी, दोस्रो खेलमा नेपाल पुलिससँँग २–२ गोलको बराबरी, तेस्रो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी र जावलाखेलसँग २–२ गोलको बराबरी खेलेको छ । अब मनाङले १९औँ चरणमा संकटा, एपिएफ, चर्च ब्वाइज, थ्री स्टार, खुमलटार, फ्रेन्ड्स, न्युरोड टिम एनआरटी र अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्दै शीर्ष डिभिजन लिग टुंग्याउने तालिका छ । 

 जावलाखेलले अग्रता रक्षा गर्न सकेन
लिगको एक सय २०औँ खेलको ८०औँ मिनेटसम्म मनाङविरुद्ध २–० को अग्रता बनाएको जावलाखेल अन्तिममा अंक बाँड्न बाध्य भयो । अन्तिम १० मिनेट रक्षापंक्ति कमजोर बन्दा जावलाखेल अभागी रह्यो । अन्तिम १० मिनेटमा तीव्र गतिको खेल खेल्दै काउन्टरमा ध्यान दिएको मनाङ सफल देखियो । खेलभरि जावलाखेलको तुलनामा मनाङले राम्रा अवसर सिर्जना गरेको थियो । जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले मनाङले दबाब सिर्जना गरेको पुष्टि गरे । उनी एक अंकमा पनि खुसी भएका थिए । ‘२–० को अग्रता बनाउँदा पनि मनाङले हामीलाई दबाबमा राख्यो । गोल पनि फर्कायो ।

हामी निकै दबाबमा खेल्यौँ,’ श्रेष्ठले भने, ‘प्रदर्शनका आधारमा एक अंकमै चित्त बुझाउनुपर्‍यो । खेलाडी घाइते हुँदा समस्या भयो ।’ उनले खेलको ३४औँ मिनेटमा जावलाखेलले अग्रता बनायो । लेसोथाका स्ट्राइकर मासोआबीले गोल गरे । विनोद केसीले दिएको थ्रु बलमा मनाङका गोलकिपर दीप कार्कीले गम्भीर गल्ती गरेपछि मासोआबी सिजनको १३औँ गोल गर्न सफल रहे । दीपले बक्सबाहिर आएर प्रहार गरेको बल मासोआबीको खुट्टामा ठोकिँदै गोललाइन पुगेको थियो । मासोआबीले सहजै बललाई जाली चुमाए । ७५औँ मिनेटमा फोडे फोफानाको पासमा गोललाइननजिकैबाट हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाए ।

२–० ले पछि परे पनि मनाङले खेलमा फर्कन प्रयास गरिरह्यो । ८१औँ मिनेटमा विसोनले मनाङलाई २–१ को स्थितिमा ल्याए । ५४औँ मिनेटमा सायिदजामोल दाभ्लातजोनोभको स्थानमा मैदान प्रवेश गरेका विसोनले विदेशी खेलाडी कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गरेका थिए । इन्जुरी समयमा सुमितले बराबरी गोल फर्काए । कमल थापाले मिलाएको बललाई सुमितले सानदार फिनिसिङ गरे ।