
उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेडलाई आर्मीले १–० ले हरायो । आर्मीसँग पराजित हुनुअघि चर्च ब्वाइज लगातार चार खेलमा विजयी भएको थियो
उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–० ले पराजित भएको छ । दशरथ रंगशालामा शनिबार आर्मीलाई जित दिलाउन जिलेस्पीजंग कार्कीले निर्णायक एक गोल गरेका थिए । दुवै लेगमा आर्मीले चर्च ब्वाइजलाई हराएको छ । पहिलो लेगमा आर्मी १–० ले विजयी भएको थियो । छैटौँ जितसँगै आर्मी १७ खेलमा २४ अंकसहित पाँचौँ स्थानमा उक्लेको छ । चर्च ब्वाइज ३० अंकका साथ दोस्रो स्थानमा यथावत् छ । चर्च ब्वाइजले शीर्ष स्थान उक्लने अवसर गुमाएको छ ।
चर्च ब्वाइज यसअघिका चार खेलमा अपराजित थियो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले चर्च ब्वाइजबाट दबाब आए पनि प्राप्त अवसरमा गोल हुँदा विजयी भएको बताए । ‘हाम्रो तालमेल नमिल्दा चर्च ब्वाइजले दबाब दियो, उनीहरूले धेरै अवसर सिर्जना गरेका थिए,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘हामीले सही समयमा गोल गर्यौँ ।’
आर्मी उपाधि होडमा नरहेको उनले बताए । ‘उपाधि होडमा फर्कन गाह्रो छ, धेरै खेलाडी घाइते छन्, हामी हरेक खेल जित्न चाहन्छौँ,’ न्यौपानेले भने, ‘हाम्रोमा स्तरीय खेलाडी कम छन् ।’ लिगअन्तर्गत शनिबार मच्छिन्द्र फुटबल क्लबले थ्री स्टारलाई १–० ले हरायो । सातदोबाटोले एपिएफमाथि ३–० को जित निकाल्यो ।
चर्च ब्वाइजलाई उपाधि दौडमा समस्या
लगातार चार खेलमा जित निकालेको चर्च ब्वाइजले आर्मीविरुद्ध लयमा प्रतिस्पर्धा गर्न सकेन । खेलाडीहरूले आफ्नो वास्तविक स्तरअनुसार प्रतिस्पर्धा नगरेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । यस किसिमको अनपेक्षित नजिताले उपाधि जित्ने लक्ष्य गाह्रो हुने बताए । ‘आजको प्रदर्शनअनुसार हारलाई स्वीकार गर्नुपर्छ । मुख्य खेलाडीबाट सोचेको जस्तो प्रदर्शन भएन,’ प्रशिक्षक महर्जनले भने, ‘टेक्निकल रूपमा आर्मीविरुद्ध असफल भयौँ । यस्तो प्रदर्शनले उपाधि जित्न गाह्रो हुन्छ ।’
जिलेस्पीको निर्णायक गोल
आर्मीका युवा स्ट्राइकर जिलेस्पीले पहिलो हाफमै अग्रता गोल गरे । खेलको ४३औँ मिनेटमा प्राप्त अग्रता रक्षा गर्दै आर्मीले तीन अंक बटुल्यो । जिलेस्पीले जितेन्द्र कार्कीको फ्रिकिकमा हेडिङ गोल गरेका हुन् । लिगमा जिलेस्पीको यो छैटौँ गोल हो । जिलेस्पीले चर्च ब्वाइज र सातदोबाटोविरुद्ध समान दुई गोल गरेका छन् । फ्रेन्ड्स र जावलाखेलविरुद्ध एक–एक गोल गरेका हुन् ।
दीपकको सानदार प्रदर्शन
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर दीपकराजसिंह ठकुरीको सानदार प्रदर्शनमा सातदोबाटोले एपिएफलाई ३–० ले हराएको छ । दशरथ रंगशालामै दीपकले दुई गोल गर्नुका साथै एक गोल सिर्जना गरे । दीपकको पासमा विदेशी खेलाडी विलियम ओपोकुले गोल गरेका थिए । दुवै लेगमा सातदोबाटोले एपिएफलाई हराएको छ । पहिलो लेगमा सातदोबाटो १–० ले विजयी भयो । जितसँगै सातदोबाटो १७ खेलमा २६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । एपिएफ २२ अंकका साथ सातौँ स्थानमा छ । सातदोबाटोले पहिलो हाफमा दुई गोल गरेको थियो ।
लिगमा दीपकको १२औँ गोल हो । उनले १७ खेल खेल्दा एपिएफ, संकटा, हिमालयन शेर्पा र एनआरटीविरुद्ध समान दुई गोल गरेका छन् । उनले फ्रेन्ड्स, खुमलटार, जावलाखेल र मनाङविरुद्ध एक–एक गोल गरेका छन् ।