मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०८० बैशाख २९ शुक्रबार ०६:२२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले अध्यक्ष ओलीले पार्टी बैठकमा भने–सन् २०१२ देखि नै ठगी गिरोह संलग्न थियो

Read Time : > 2 मिनेट
२०८० बैशाख २९ शुक्रबार ०६:२२:००

सन् २०१५ यता दुईपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओलीले पार्टी बैठकमा भने–सन् २०१२ देखि नै ठगी गिरोह संलग्न थियो, ४ जेठमा प्रमाणसहित संसदमा बोल्छु 

एमाले अध्यक्ष केपी ओलीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले सन् २०१२ देखि नै ठगी गरिरहेको र त्यसबारे आफूले अध्ययनसँगै प्रमाण जुटाइरहेको बताएका छन् । आगामी ४ जेठको संसद् बैठकमार्फत त्यसबारे देशलाई जानकारी गराउने उनको भनाइ छ । उनी आफैँ सन् २०१५ यता दुईपटक प्रधानमन्त्री भएर देश चलाइसकेका छन् ।

‘सन् २०१२ पछि विभिन्न गिरोह सक्रिय भएको पाइन्छ । त्यसको तथ्य–प्रमाण खोजिरहेको छु । सम्भवतः तथ्य–प्रमाणसहित ४ (जेठ) गते संसद्मा बोल्छु र जानकारी गराउँछु,’ बिहीबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘त्यतिवेला शरणार्थीका नाममा कहाँ, कसले कति पठायो ? को–को संलग्न छन् ती सबैको तथ्य–प्रमाण प्रस्तुत गर्ने कोसिस गर्छु ।’ 

यसअघि पनि करिब साढे तीन सय नेपालीलाई नक्कली शरणार्थीका नाममा अमेरिका पठाइएको दाबी पनि ओलीले गरे । ‘लगभग साढे तीन सय मान्छेहरू बाहिर पठाएको बुझिन्छ, तर त्यो कुरा बिल्कुल गोप्य रह्यो,’ उनले भने । शरणार्थीका नाममा भएको ठगी प्रकरणमा सबै पार्टी उस्तै हुन् भन्दै बदनाम गरेर लोकतन्त्रविरुद्ध प्रयोग गर्न खोजिएकाले सजग हुनुपर्ने ओलीको भनाइ छ । 

फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझी दोषी भए कारबाही हुनपर्छ भन्ने पक्षमा आफू रहे पनि आशंका गर्ने प्रशस्त ठाउँ रहेकाले पार्टीले अहिल्यै अपराधीजसरी करार गर्न नहुने ओलीले बताए । ‘हिजो हाम्रै सरकारमा रहेका साथीको नाम आएको छ । यसमा म के भन्न चाहन्छु भने जोसुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुनुपर्छ । तर, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, त्यतिवेलासम्म दोषी रहेछ कि भनेर आशंका गर्न त सकिन्छ, तर अहिल्यै अपराधी हो भनेर वा दोषी नै हो भनेर करार गरिहाल्न सक्दैनौँ । किनभने अदालती प्रक्रिया र फैसला बाँकी नै हुन्छ, त्यस्तैमा हामीले ढुक्कै धारणा बनाउन सक्दैनौँ,’ ओलीको भनाइ थियो ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रह राखेर एमालेलाई बदनाम गर्ने प्रयास भइरहेकोतर्फ पनि केन्द्रीय सदस्यहरूलाई सजग बन्न आग्रह पनि गरे । ‘एमालेका विरुद्ध फेरि निराधार वैमनस्यता छ र त्यो लगातार प्रकट भइरहेको छ, आज मात्र होइन, वर्षौँदेखि लगातार रूपमा,’ उनले भने ।

‘सरकारले शरणार्थीको भ्रष्टाचार प्रकरण दबाउन खोज्यो, दोषी उम्क्याइए एमालेले आन्दोलन गर्छ’

अध्यक्ष ओलीले सरकारको प्रत्यक्ष संलग्नतामै नक्कली भुटानी शरणार्थीको भ्रष्टाचार प्रकरण दबाउन खोजिएको आरोप पनि लगाए । गत वर्षको ३० जेठमा पक्राउ परेका मुख्य अभियुक्तहरू तत्कालीन गृहमन्त्री, आइजिपी र एसएसपीको आदेशमा छुटेको र पछिल्लोपटक पक्राउ परेकालाई पनि छुट्टै ‘डिल’ गरेर सामसुम बनाउने प्रयास गर्दा गर्दै प्रकरण बाहिरिएपछि मात्र सरकार छानबिनका लागि बाध्य भएको ओलीको जिकिर छ । 

दोषीलाई उम्क्याइए या निर्दोषीलाई नियोजित रूपमा फसाउन खोजिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने पनि ओलीले बताए । ‘दोषीलाई उम्काउन खोजे आन्दोलनमा उत्रिन्छौँ, निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि विरोध हुन्छ, निर्दोषलाई दोषी बनाउन खोज्नु अर्को अपराध हुन्छ,’ उनले भने, ‘केही–केहीले फलानालाई जोगाऊ, यो–यो उम्किन नपाऊन् भनेपछि त्यसखालका प्रयास सरकारतर्फबाटै भए । त्यसपछि मैले प्रधानमन्त्रीलाई भेटेर यस्तो हुँदै छ, त्यस्तो नहोस्, दोषी नउम्कियोस्, निर्दोष नफसोस् भनेर ध्यानाकर्षण गराएको थिएँ ।’

अघिल्लो जेठमा उजुरी परेर पक्राउ परेका अभियुक्त छाड्न आदेश दिने तत्कालीन गृहमन्त्री, आइजिपी र एसएसपी पनि प्रकरणमा दोषी रहेको ओलीको भनाइ थियो । ‘३० जेठपछि पक्राउ परेकाहरू कसको आदेशमा छाडिए ? क्यासेट बोल्छ, अरू धेरै क्यासेट आउनेवाला छ, तथ्यहरूले बोल्दै जानेछन्,’ ओलीको भनाइ छ । 

लडाकु भ्रष्टाचार छानबिनमा अख्तियारले खुट्टा नकमाओस्
लडाकुको संख्या बढी देखाएर शान्ति प्रक्रियापछि भ्रष्टाचार भएको दाबी गर्दै ओलीले त्यसमाथि खुट्टा नकमाईकन छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गराए । 

‘राज्यको ढुकुटी रित्याएर अर्बौँ पैसा व्यक्ति वा संस्थाले कुम्ल्याउन मिल्छ ? तर यी कुराहरू भएका छन्, आज होइन, उहिल्यैदेखि भएको छ । अख्तियारले त्यतिकै होल्ड गरेर बसेको छ । म अख्तियारलाई भन्न चाहन्छु, राज्यको यत्रो हिनामिना छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर लिरलिर गरेर बसेको ?’ ओलीले भने ।