
काठमाडौं महानगरपालिकाले इन्द्र सभाको पुनर्निर्माण सम्पन्न गरेको छ। महानगरपालिकाको वडा नं. १९ मा पर्ने यो सभास्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वको ठाउँ हो।
सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इन्जिनियर नरेन्द्रमान बज्राचार्यका अनुसार पुनर्निर्माणका लागि एक करोड ४६ लाख ५९ हजार चार सय ५३ रुपैयाँ ४३ पैसा खर्च भएको छ।
दुई रोपनी तीन पैसा जग्गामा इन्द्र सभा परिसर पुनर्निर्माण कार्य भएको हो। सहायक निर्देशक बज्राचार्यका अनुसार ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ। पुनर्निर्माणका लागि ०७८ कात्तिक ११ गते एक वर्ष अवधि दिएर कार्यादेश दिइएको थियो। तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर ०८० वैशाख १० गतेसम्म पुर्याइएको थियो। थपिएको अवधिमा काम सकिएको हो।
पुनर्निर्माणपछि यस क्षेत्रको अवस्थामा देखिने परिवर्तन आएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले बताए। ‘पुनर्निर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिन थियो। अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने।