१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८o बैशाख २८ बिहीबार o८:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जनआन्दोलनका घाइते कायस्थको १७ वर्षपछि निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार o८:१७:oo

०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ८ का उनको  गएराति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिर मेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हीरा शर्माले जानकारी दिए । 

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा ०६२ चैत २७ गते उनी  बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए ।  त्यस दिनदखि उनी  अचेत थिए। कायस्थको बायाँ हात  राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो । 

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका  कायस्थलाई ‘ज्युँदो सहिद’ भन्ने गरिन्थ्यो । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्। परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म  भएका थिए । उनी ०७५ असारदेखि थप बिरामी परेका हुन् । 

स्वास्थ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उनको उपचार खर्च, रु. १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु. ६ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थलाई ०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

कायस्थ पाँच वर्षयता दुब्लाउँदै गएका, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उनको परिवारलाई  ‘पीरमाथि पीर’ थपिँदै गएको थियो । कायस्थ परिवारको एक्लो छोरा थिए ।  उनका  बुबा कृष्णमानले केही महिनाअघि भनेका थिए, ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यत्तिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस् ।’ कायस्थ एक वर्षदेखि बोल्न सकेका थिएनन् ।चपाएर खाना खान नसक्ने उनलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।