मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०८० बैशाख २८ बिहीबार ०५:५५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वनको डढेलो घरमा सल्कियो, निभाउन लाग्दा चारको ज्यान गयो

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०८० बैशाख २८ बिहीबार ०५:५५:००

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– २ ढाकावाङ गाउँमा वनको डढेलो घरमा सल्किँदा चारजनाको ज्यान गएको छ । तिरतिरे खोला किनारको जंगलमा मंगलबार लागेको डढेलो खरबारी हुँदै पदम बेल्वासेको घरमा सल्किएको थियो । घरमा सल्किएको आगो निभाउने क्रममा गम्भीर घाइते भएका पाँचमध्ये चारजनाको उपचारका क्रममा बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

उनका अनुसार आगलागीमा घरधनी ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको ज्यान गएको हो । पाल्पामा पनि उपचार हुन नसकेपछि घाइतेलाई काठमाडौं पठाइएकोमा पदम र पीताम्बरको बाटैमा तथा माधव र घनश्यामको बुधबार बिहान ७ बजेतिर कीर्तिपुरस्थित बर्न अस्पतालमा ज्यान गएको रिजालले बताए । घाइते २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ । 

भूमिकास्थान– २ का वडाध्यक्ष बुद्धिबहादुर थापाका अनुसार बस्तीदेखि चार किलोमिटर टाढा जंगलमा मंगलबार बिहान डढेलो लागेको थियो । हावाहुरी चलेपछि दिउँसो १२ बजेतिर खरबारी हुँदै बस्तीतिर आगो सल्किएको थियो । ‘हावाहुरी चलेको थियो, उहाँहरू आगोको लप्कामा फस्नुभयो,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालले मृतकका परिवारलाई ५० हजारका दरले तत्काल राहत रकम र आवासका लागि व्यवस्थापन गरिएको बताइन् । 

घाइतेको उपचारखर्च नगरपालिकाले व्यहोर्ने
आगलागीमा परेर पाल्पाको मिसन अस्पतालमा उपचार गराइरहेकी अस्मिताको उपचारखर्च भूमिकास्थान नगरपालिकाले व्यहोर्ने भएको छ । मेयर झविलाल थापाका अनुसार नगरपालिकाको विपत् व्यवस्थापन समितिको बैठकले अस्मिताको उपचार खर्च व्यहोर्ने र आश्रित परिवारलाई जनही ५० हजार नगद उपलब्ध गराउने निर्णय गरेको हो ।