१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

यो  ट्रेलर मात्रै हो, हेर्दै जानूस् सिंगै फिल्म देखिन्छ : प्रधानमन्त्री

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१o:oo

नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको राजधानीमा शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ट्रेड युनियन महासंघको महाधिवेशनमै मैले घोषणा गरेको थिएँ– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो, ट्रेलर मात्रै हो, हेर्दै जानूस् सिंगै फिल्म देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट नदिने बताएका छन् । माओवादीनिकट नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको राजधानीमा शनिबार उद्घाटन गर्दै प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताए । 

उनले भ्रष्टाचारीलाई कारबाही प्रक्रिया सुरु भएको पनि बताए । उनले भने, ‘ट्रेड युनियन महासंघको महाधिवेशनमा मैले घोषणा गरेको थिएँ– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो, ट्रेलर मात्रै हो, हेर्दै जानूस् सिंगै फिल्म देखिन्छ ।’ 

प्रचण्डले भ्रष्टाचारविरुद्ध अघि बढ्दा घेराबन्दी, दबाब र धम्की आउन सक्ने पनि बताए । तर, उत्पीडित, श्रमजीवी वर्गको साथमा जस्तासुकै घेराबन्दी, दबाब र धम्कीको सामना गरिने जिकिर गरे । ‘पक्कै पनि ठुल्ठूला घेराबन्दी होलान् । ठुल्ठूला दबाब आउलान् । धक्कीहरू होलान् । धेरै चिजहरू हुन सक्छन्, योबीचमा । तर, उत्पीडित वर्ग, समुदाय, श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेरबन्दी, दबाब र धम्कीको सामना गरिनेछ,’ उनले भने । 

लामो समयदेखिका गलत नीति, संस्कार, कार्यशैली र संस्थागत भ्रष्टाचारका कारण मुलुकमा आर्थिक संकटको स्थिति बनेको प्रधानमन्त्रीको दाबी छ । ‘अहिले आर्थिक समस्या र आर्थिक दबाबको सामना गर्नुपरेको छ । यो रातारात भएको होइन । लामो समयदेखिका गलत नीति, गलत संस्कार, गलत कार्यशैली र संस्थागत भ्रष्टाचारको कारणले नै नेपालमा आर्थिक संकटको स्थिति बनेको हो,’ उनले भने, ‘यसको समाधान गर्नका निम्ति हामीले सुशासन कायम गर्नैपर्छ । सुशासन कायम गर्न उत्पीडित वर्ग जागरुक भएर खडा हुनैपर्छ ।’

उपलब्धि उल्ट्याउन प्रतिक्रान्ति र प्रतिगमनको षड्यन्त्र भइरहेको पनि प्रचण्डको दाबी छ । विगतमा प्रतिनिधिसभा विघटन प्रतिगमनकै षड्यन्त्रअनुरूप भएपछि नेपाली जनताले विफल पारिदिएको उनले बताए । ‘त्यो प्रतिनिधिसभा मात्रै विघटन थिएन, संविधान विघटन थियो । उपलब्धि उल्ट्याउने प्रयास थियो । तर, हामीले त्यसका विरुद्ध मोर्चा खोल्यौँ । त्यतिवेला मानिसहरूलाई बडो अनौठो लागेको थियो । मलगायत केही नेता साथीहरू माइतीघर मण्डलाको चिसो पिच बाटोमा पलेटी कसेर बसेका थियौँ । सय–डेढ सय जुटाउन पनि हामीलाई गाह्रो परेको थियो । त्यतिवेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छेमध्येकाले बडो व्यंग्य गरे, हरे प्रचण्डको हालत हेर त ! पुसमा चिसो बाटोमा बिहान–बिहान बसेको छ । प्रचण्डको हालत त यस्तोमा पो पुग्यो भन्थे तिनले । तर, त्यसको केही समयपछि लाखौँ जनता एकपटक होइन, तीनपटक काठमाडौंमा आइसकेपछि उनीहरूको सम्पूर्ण प्रतिगमन र विघटनको षड्यन्त्र परास्त भए । नेपाली जनता फेरि विजयी भए । हामी फेरि विजयी भयौँ,’ प्रचण्डले भने । 

माओवादी एकताबद्ध भएर गर्जिने हो भने बहुमत सिटमा पुग्ने पनि प्रचण्डको जिकिर छ । विरोधीले हल्ला चलाएजस्तो माओवादी कमजोर नरहेको उनले बताए । उनले भने, ‘अहिले पनि एकथरी मान्छेले सपना देखेका होलान्, माओवादी अब कमजोर भएको छ । अब हामी फेरि एकचोटि गर्जियौँ भने यो ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ । खाली एकताबद्ध भएर गर्जिने आवश्यकता मात्रै हो ।’

प्रधानमन्त्री प्रचण्डले विद्रोहमा दलित समुदायको ठूलो योगदान रहेको पनि स्मरण गरे । क्रान्तिमा मात्रै नभई प्रतिक्रान्ति र प्रतिगमनविरुद्धको आन्दोलनमा पनि दलित समुदाय अग्रमोर्चामा खडा भएको उनको भनाइ छ । दलित समुदायको हक–अधिकार स्थपित गर्ने गरी सरकार अघि बढेको उनले बताए । माओवादीले मान्यता, सिद्धान्त नछाडेको दाबी गर्दै संविधान संशोधन गरेर दलितलाई अधिकारसम्पन्न गर्नुपर्छ भन्ने अडान अहिले पनि कायमै रहेको प्रचण्डले बताए । 


 

ad
ad