यो ट्रेलर मात्रै हो, हेर्दै जानूस् सिंगै फिल्म देखिन्छ : प्रधानमन्त्री

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको राजधानीमा शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ट्रेड युनियन महासंघको महाधिवेशनमै मैले घोषणा गरेको थिएँ– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो, ट्रेलर मात्रै हो, हेर्दै जानूस् सिंगै फिल्म देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट नदिने बताएका छन् । माओवादीनिकट नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको राजधानीमा शनिबार उद्घाटन गर्दै प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताए । 

उनले भ्रष्टाचारीलाई कारबाही प्रक्रिया सुरु भएको पनि बताए । उनले भने, ‘ट्रेड युनियन महासंघको महाधिवेशनमा मैले घोषणा गरेको थिएँ– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो, ट्रेलर मात्रै हो, हेर्दै जानूस् सिंगै फिल्म देखिन्छ ।’ 

प्रचण्डले भ्रष्टाचारविरुद्ध अघि बढ्दा घेराबन्दी, दबाब र धम्की आउन सक्ने पनि बताए । तर, उत्पीडित, श्रमजीवी वर्गको साथमा जस्तासुकै घेराबन्दी, दबाब र धम्कीको सामना गरिने जिकिर गरे । ‘पक्कै पनि ठुल्ठूला घेराबन्दी होलान् । ठुल्ठूला दबाब आउलान् । धक्कीहरू होलान् । धेरै चिजहरू हुन सक्छन्, योबीचमा । तर, उत्पीडित वर्ग, समुदाय, श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेरबन्दी, दबाब र धम्कीको सामना गरिनेछ,’ उनले भने । 

लामो समयदेखिका गलत नीति, संस्कार, कार्यशैली र संस्थागत भ्रष्टाचारका कारण मुलुकमा आर्थिक संकटको स्थिति बनेको प्रधानमन्त्रीको दाबी छ । ‘अहिले आर्थिक समस्या र आर्थिक दबाबको सामना गर्नुपरेको छ । यो रातारात भएको होइन । लामो समयदेखिका गलत नीति, गलत संस्कार, गलत कार्यशैली र संस्थागत भ्रष्टाचारको कारणले नै नेपालमा आर्थिक संकटको स्थिति बनेको हो,’ उनले भने, ‘यसको समाधान गर्नका निम्ति हामीले सुशासन कायम गर्नैपर्छ । सुशासन कायम गर्न उत्पीडित वर्ग जागरुक भएर खडा हुनैपर्छ ।’

उपलब्धि उल्ट्याउन प्रतिक्रान्ति र प्रतिगमनको षड्यन्त्र भइरहेको पनि प्रचण्डको दाबी छ । विगतमा प्रतिनिधिसभा विघटन प्रतिगमनकै षड्यन्त्रअनुरूप भएपछि नेपाली जनताले विफल पारिदिएको उनले बताए । ‘त्यो प्रतिनिधिसभा मात्रै विघटन थिएन, संविधान विघटन थियो । उपलब्धि उल्ट्याउने प्रयास थियो । तर, हामीले त्यसका विरुद्ध मोर्चा खोल्यौँ । त्यतिवेला मानिसहरूलाई बडो अनौठो लागेको थियो । मलगायत केही नेता साथीहरू माइतीघर मण्डलाको चिसो पिच बाटोमा पलेटी कसेर बसेका थियौँ । सय–डेढ सय जुटाउन पनि हामीलाई गाह्रो परेको थियो । त्यतिवेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छेमध्येकाले बडो व्यंग्य गरे, हरे प्रचण्डको हालत हेर त ! पुसमा चिसो बाटोमा बिहान–बिहान बसेको छ । प्रचण्डको हालत त यस्तोमा पो पुग्यो भन्थे तिनले । तर, त्यसको केही समयपछि लाखौँ जनता एकपटक होइन, तीनपटक काठमाडौंमा आइसकेपछि उनीहरूको सम्पूर्ण प्रतिगमन र विघटनको षड्यन्त्र परास्त भए । नेपाली जनता फेरि विजयी भए । हामी फेरि विजयी भयौँ,’ प्रचण्डले भने । 

माओवादी एकताबद्ध भएर गर्जिने हो भने बहुमत सिटमा पुग्ने पनि प्रचण्डको जिकिर छ । विरोधीले हल्ला चलाएजस्तो माओवादी कमजोर नरहेको उनले बताए । उनले भने, ‘अहिले पनि एकथरी मान्छेले सपना देखेका होलान्, माओवादी अब कमजोर भएको छ । अब हामी फेरि एकचोटि गर्जियौँ भने यो ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ । खाली एकताबद्ध भएर गर्जिने आवश्यकता मात्रै हो ।’

प्रधानमन्त्री प्रचण्डले विद्रोहमा दलित समुदायको ठूलो योगदान रहेको पनि स्मरण गरे । क्रान्तिमा मात्रै नभई प्रतिक्रान्ति र प्रतिगमनविरुद्धको आन्दोलनमा पनि दलित समुदाय अग्रमोर्चामा खडा भएको उनको भनाइ छ । दलित समुदायको हक–अधिकार स्थपित गर्ने गरी सरकार अघि बढेको उनले बताए । माओवादीले मान्यता, सिद्धान्त नछाडेको दाबी गर्दै संविधान संशोधन गरेर दलितलाई अधिकारसम्पन्न गर्नुपर्छ भन्ने अडान अहिले पनि कायमै रहेको प्रचण्डले बताए । 

See More On

सुझावित समाचार