१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना, ९४ को मृत्यु

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० बैशाख २३ शनिबार ०६:२६:००

नेपाली आकाशमा मानवीय क्षति हुने गरी अहिलेसम्म १९ हेलिकोप्टर दुर्घटना भएका छन् । जसमा ९४ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका थिए । त्यसबाहेकका २१ दुर्घटनामा भने पाइलट तथा यात्रु सामान्य घाइते भएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांकअनुसार मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा लामटाङमा भएको थियो । अति विशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

मानवीय क्षति हुने गरी दोस्रो दुर्घटना ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा भयो । कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । यस्तै, तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर २४ अक्टोबर १९९८ मा मूलखर्कमा दुर्घटना भएको थियो । बाँकी ३० हेलिकोप्टर दुर्घटना सन् २००० यता भएको क्यानको एभिएसन सेफ्टी रिपोर्ट– २०२२ मा उल्लेख छ । 

१२ नोभेम्बर २००१ मा फिस्टेल एयरको हेलिकोप्टर रारातालमा खस्दा चारजनाको मृत्यु भएको थियो । रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । अत्यन्तै रहस्यमय मानिएको सो दुर्घटनामा पूर्वअधिराजकुमारी प्रेक्षा शाहको पनि निधन भएको थियो । त्यस्तै, ३० सेप्टेम्बर २००२ मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।

क्यानको तथ्यांकअनुसार २८ मे २००३ मा सिम्रिक एयरको हेलिकोप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजना र ४ जनवरी २००५ मा एयर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको थियो । यी दुई दुर्घटनाको बीचमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा पनि दुईजनाको ज्यान गएको छ । तर, क्यानसँग कुन मितिमा र कुन ठाउँमा दुर्घटना भएको हो भन्ने विवरण छैन । 

त्यस्तै, २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा अहिलेसम्मकै धेरै २४ जनाको मृत्यु भएको थियो । ७ नोभेम्बर २०१० मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटना हुँदा दुईजनाको ज्यन गएको थियो । त्यस्तै, १९ जुन २०१३ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो ।

मे २०१५ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । २ जुन २०१५ मा माउन्टेन हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा चारजना,  ८ अगस्ट २०१६ मा फिस्टेलको हेलिकोप्टर नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजना, १४ अगस्ट २०१८ मा मनाङ एयरको हेलिकोप्टर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानको तथ्यांक छ । 

त्यस्तै, २७ फेबु्रअरी २०१९ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नियामक निकाय क्यानका तत्कालीन उपमहानिर्देशक एवं प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, एयरलाइन्स कम्पनीकै (यती र तारा) मालिक आङछिरिङ शेर्पासहितको निधन भएको थियो । पछिल्लोपटक शुक्रबार सिम्रिक एयरको कलसाइन नाइनएन–एजेजेड हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिका– ४ सिप्रुङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।