Skip This
रुखमा पंखा ठोक्किएर संखुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
भोटखोला– ४ सिप्रुङमा शुक्रबार दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकोप्टर । तस्बिर सौजन्य : वाङछेदर लामा (अध्यक्ष, भोटखोला गाउँपालिका)
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २६ बुधबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुखमा पंखा ठोक्किएर संखुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:o७:oo

संखुवासभाको भोटखोला गाउँपालिका– ४ जिजिंखामा शुक्रबार भएको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पाइलटसहित चारजना घाइते छन् । 

अपर अरुण जलविद्युत् आयोजनाका सामग्री संखुवासभाको छुम्रुङमा झारेर चार यात्रुसहित भोटखोला गाउँपालिका– ४ गोलाका लागि उडेको सिम्रिक एयरको नाइनएन–एजेजेड हेलिकोप्टर दिउँसो १ बजे सिप्रुङनजिकै जिजिंखामा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सटल उडानको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा पंखा रूखमा ठोक्किएर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । भिरालो भूभाग रहेको ठाउँमा हेलिकोप्टर ल्यान्ड हुने क्रममा पंखा रूखमा ठोक्किएपछि दुई–तीन बल्ड्याङ पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार सहयोगीका रूपमा हेलिकोप्टरमा गएका अपर अरुण का कर्मचारी ४३ वर्षीय भविन गुरुङको मृत्यु भएको हो । उनी भोटखोला– ४ गोलाका बासिन्दा हुन् । गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत लैजाँदै गर्दा अवस्था झन् गम्भीर बनेपछि तुम्लिङटार विमानस्थलमा ओरालेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । जिल्ला अस्पतालमा चिकित्सकले मृत घोषणा गरेपछि उनको शव अस्पतालमा नै राखिएको छ । गुरुङ हेलिकोप्टरमा सामान लोड–अनलोड गर्नेलगायत कम्पनीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत थिए । उनका श्रीमती कोपिलासहित दुई छोरी र एक छोरा छन् । 

दुर्घटनामा घाइते भएका पाइलट सुरेन्द्र पौडेल, कर्मचारी मनोज थापा, टिम सदस्य छिरिङ भोटे र टनेलमा काम गर्ने विक्रम शंकरको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । पाइलट पौडेलसँगै थापा र भोटेलाई पहिलो चरणमा उद्धार गरेर सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । भविन र विक्रमलाई दोस्रो चरणमा उद्धार गरिएको थियो । तर, भविनको अवस्था गम्भीर बनेपछि तुम्लिङटार विमानस्थलमा ओरालेर जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको त्यही मृत्यु भयो । विक्रमलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नै काठमाडौं लगिएको छ ।

अपर अरुण जलविद्युत् आयोजनाका इन्जिनियर नीरज कर्णका अनुसार आयोजनाका सरसामान ओसार्नका लागि आठ–दश दिनअघि नै जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट हेलिकोप्टर उडानको अनुमति लिइएको थियो । तर, शुक्रबार हेलिकोप्टरले समय तालिका मिलाएकाले सामान ढुवानी गरिँरहदा दुर्घटना भएको उनले बताए ।

अपर अरुण जलविद्युत्को अध्ययनका लागि सिप्रुङ र चेपुवामा ड्रिल गरेर ढुंगा निकाल्ने काम भइरहेको छ । सोही सामान गोलासम्म ल्याएर स्टोर गर्ने र प्रोजेक्टका ड्रिललगायत सामान र मेसिन सो ठाउँमा पुर्‍याउने उद्देश्यले हेलिकोप्टर आएको हो । 

छानबिनपछि मात्र दुर्घटनाको कारण पत्ता लाग्नेछ : जगन्नाथ निरौला प्रवक्ता, नेपाल नागरिक उड्डयन प्राधिकरण

हेलिकोप्टर कसरी दुर्घटनामा पर्‍यो कारण पत्ता लागेको छैन, छानबिन भएपछि मात्र थाहा होला । छानबिन समितिले पाइलटसँग पनि कुराकानी गर्ला । अहिले पाइलटको उपचार भइरहेको छ । दुर्घटनालगत्तै हामी घाइतेको उद्धार तथा उपचारमा लाग्यौँ ।

शुक्रबार छानबिन समिति गठन हुन सकेन । शुक्रबार मन्त्रीज्यू (पर्यटनमन्त्री)पनि काठमाडौंबाहिर हुनुहुन्थ्यो । हवाई दुर्घटनाको छानबिन कमिटी गठन गर्ने मन्त्रालयले हो । शनिबार छानबिन समिति गठन हुन्छ र जाँचबुझ सुरु हुनेछ, अनि मात्र दुर्घटनाको कारण पत्ता लाग्नेछ । अहिले अनुमान गर्ने मात्र हो ।
 

ad
ad