मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २१ बिहीबार ०६:२४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातौँ खेलमा मनाङको हार शृंखला रोकियो

कीर्तिमानी आठपटकको विजेता मनाङ मस्र्याङ्दी क्लबले लगातार ६ खेलको हार शृंखला रोकेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २१ बिहीबार ०६:२४:००

विदेशी खेलाडी कोफी टिमोथी कुडोको निर्णायक गोलमा मनाङ मस्र्याङ्दी क्लबले सातौँ खेलमा हार शृंखला रोकेको छ । सहिद स्मारक ए डिभिजन लिग २०७९–०८० को पछिल्लो ६ खेलमा मनाङ पराजित भएको थियो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गरेको हो ।

खेलको इन्जुरी समयमा अफ्रिकन राष्ट्र टोगोका कोफीले गरेको गोल नै निर्णायक बन्यो । विजय श्रेष्ठले मिलाएको पासलाई कोफीले सहज फिनिसिङ गरे । उनको प्रहार आर्मीका गोलकिपर विकेश कुथूले रोक्न सकेनन् । १४औँ खेलमा पाँच जितपछि १८ अंक जोडेको मनाङ छैटौँ स्थानमा उक्लिएको छ । चौथो हारपछि समान खेलबाट २० अंक जोडेको आर्मी पाँचौँ स्थानमा रह्यो । 

 जितको श्रेय प्रशिक्षक श्रेष्ठलाई 
मनाङले मुख्य प्रशिक्षकविना जित निकालेको हो । लगातार ६ हारपछि मुख्य प्रशिक्षक किरण श्रेष्ठले क्लब छाडेका थिए । श्रेष्ठको अनुपस्थितिमा गोलकिपर प्रशिक्षक प्रविन श्रेष्ठले प्राविधिक क्षेत्र सम्हालेका थिए । सहायक प्रशिक्षक प्रविन श्रेष्ठले जितको श्रेय मुख्य प्रशिक्षक किरणलाई नै जाने बताए । ‘यो जित हामी किरण श्रेष्ठलाई समर्पित गर्छाैं,’ उनले भने ।

‘लगातारको हारपछि खेलाडीमा खिन्नता थियो । प्रशिक्षकले छाडेपछि उहाँकै लागि पनि जित्नुपर्छ भन्ने थियो । खेलाडी पनि किरण दाइका लागि खेल्न तयार भए । मैले पनि १३ खेलमा उहाँकै सिको गरेको थिएँ । उहाँकै कारण जित भयो,’ उनले भने । यसअघि कीर्तिमानी आठपटक लिग जितेको मनाङ चर्च ब्वाइज, नेपाल पुलिस, खुमलटार, आर्मी, जावलाखेल र सातदोबाटोसँग लज्जास्पद हार बेहोर्न पुगेको थियो । 

जितसँगै मनाङले पहिलो लेगको हारको बदला पनि लियो । पहिलो लेगमा आर्मीले १–० को जित निकालेको थियो । सुदिल राईले ७५औँ मिनेटमा निर्णायक गोल गरेका थिए । हारपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दुवै टोलीले उत्तिकै अवसर सिर्जना गरे पनि मनाङ अन्तिम समयमा सफल भएको बताए ।

‘दुवै टोलीको खेल बराबर थियो । अवसरसमेत उस्तै पाएका थिए । तर, अन्तिममा मनाङले गोल गर्‍यो,’ उनले भने । न्यौपानेले रक्षापंक्ति कमजोर हुँदा गोल बेहोर्न पुगेको बताए । ‘मनाङ आज संगठित भएर खेल्यो । हाम्रो मुख्य रक्षक विकास खवास घाइते हुँदा समस्या भयो । उनी नहुँदा धेरै गल्ती पनि भयो,’ उनले भने । बुधबार नै भएको अन्य खेलमा चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पाले जित निकाले । चर्चले फ्रेन्ड्सलाई २–१ तथा हिमालयन शेर्पाले सातदोबाटो युथलाई १–० ले हराएका थिए । 

 चर्च ब्वाइजको रोमाञ्चक जित
अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । दशरथ रंगशालामा अन्तिम ८६ मिनेटसम्म फ्रेन्ड्सले १–० को अग्रता लिएको थियो । तीन अंकतर्फ अग्रसर भएको फ्रेन्ड्स रक्षापंक्तिको गम्भीर गल्तीका कारण तीन अंक गुमाउन पुग्यो । चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र आशिष चापागाईंले समान एक गोल गरेका थिए ।  

 हिमालयन शेर्पाको जित
हिमालयन शेर्पाले बुधबार नै भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेको छ । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेल्दा दोस्रो हाफमा हिमालयन शेर्पाले अग्रता लिएको थियो । जितपछि १४ खेलबाट १७ अंक जोडेको हिमालयन शेर्पा आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो स्थानमा झरेको छ । च्यासल रंगशालामा खामिर गिल्सेन कन्दन्वाले विजयी गोल गरेका थिए । ६५औँ मिनेटमा खामिरले पिस्टोन मुटाम्बाको पास सदुपयोग गरेका थिए । लगातार वर्षा हुँदा च्यासल मैदान हिलाम्मे बनेको थियो । जसका कारण दुवै टोलीलाई खेलमा समस्या भएको थियो ।