१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मौलाकाली केबलकारको औपचारिक उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३५:oo

गैँडाकोटमा मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नवलपुरको गैँडाकोट–१ मा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन ।

उद्घाटनपछि प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालीजस्ता पर्यटकीय पूर्वाधारको महŒव रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका मौलाकाली केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको विकासलाई पहिलो प्राथमिकतामा राख्दै केबलकार सञ्चालनमा ल्याएको बताए ।

ढकालले भने, ‘अब धर्मिक पर्यटनमा हिँडेर जान नसक्ने र हतार भएकाहरू सजिलै पुगेर फर्कन पाउनेछन् । केबलकारसँगै दशनार्थीको संख्या पनि  बढ्नेछ ।’ सबै नेपालीसमक्ष प्रचारप्रसार गर्न केबलकारसहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । केबलकार अघि यहाँ सिँढी उक्लेर मन्दिर दर्शन गर्न जानुपर्ने अवस्था थियो । घुमाउरो बाटो भएर साना सवारीसाधनसमेत जान थालेका थिए । 

 कस्तो छ केबलकार ?
पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेसन पुग्छ । यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ डब्बा (गान्डोला) छन् ।

एउटा डब्बामा एकपटकमा आठजना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिरनजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब पाँच मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ । केबलकारमार्फत दैनिक ६ हजार यात्रु आवतजावत गर्न सक्नेछन् । मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए ।

दुई अर्ब रुपैयाँमा चारतारे होटेलसहित केबलकारको पूर्वाधार निर्माण गरिएको हो । मन्दिरनजिकैको स्टेसनमा बन्ने होटेल निर्माणका क्रममा नै छ । होटेलमा ६० कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट बनाउने योजना छ । यो केबलकार १३ महिनाअघि मात्र बनाउन थालिएको थियो । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको कम्पनीले जनाएको छ । कम्पनीले पूर्वी नवलपरासीकै दुर्गम पहाडी गाउँ मिथुकरमको जग्गा किनेर सट्टाभर्ना गरेको हो । आइएमई समूहले काठमाडौंमा चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको छ । बुटवलमा अब केही समयभित्रै र अरू प्रदेशमा पनि केबलकार सञ्चालनको तयारी भइरहेको ढकालले बताए ।

ad
ad