भोलोदिमिर जेलेन्स्की र सी जिनपिङबीच फोन सम्पर्क हुन धेरै लामो समय लाग्यो, यद्यपि फोन संवाद अस्वाभाविक परिघटना थिएन । युक्रेनमा सम्भावित शान्तिको परिस्थिति ल्याउन सक्ने सबै कर्तालाई बेइजिङले प्राथमिकतामा राखेको छ । यी कर्तामा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पर्छन् ।
‘तपाईंले रुसलाई पुनर्विचार गर्न र सबैलाई सम्झौताको टेबलमा ल्याउन मनाउनुहुनेछ भन्नेमा म विश्वस्त छु’ यही महिना चिनियाँ नेता सीसँगको भेटमा म्याक्रोनले बताएका थिए । सीले जवाफमा आफूले हतार नगर्ने र युक्रेनका राष्ट्रपतिसँग फोनवार्ता गर्ने बताएका थिए । परस्परविरोधी युक्रेन र रुसबीचको युद्धमा मध्यस्थ हुनु गाह्रो काम हो भन्नेमा सी स्पष्ट छन् । तथापि, हालै इरान र साउदी अरेबियाबीच सम्बन्ध पुनस्र्थापना गराउन सफल चीनले सन् १९४५ पछिकै सबैभन्दा ठूलो युरोपेली युद्धको कूटनीतिक समाधान निकाल्न सक्छ । तर, यो समाधान कस्तो होला ?
चीनले युक्रेन युद्ध एक वर्ष हुँदा जारी गरेको १२ बुँदे शान्ति प्रस्तावमा ‘अन्ततः बृहत् युद्धविराममा पुग्ने’ वार्ताबाट मात्र युक्रेनमा शान्ति पुनस्र्थापित गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ । आमबुझाइविपरीत बेइजिङले राजनीतिक प्रक्रिया सुरु गर्न आह्वान गरिरहेको छ, जसले ‘अन्ततः’ युद्धविरामको सट्टा शत्रुताको स्थायी अन्त्य गर्नेछ, जहाँ युक्रेनको कब्जा गरिएको भूमि रुसले लिनेछैन ।
यसबाहेक चिनियाँ प्रस्तावले सम्झौताको क्षेत्रीय मापदण्डबारे केही उल्लेख गरेको छैन र बरु दुवै पक्षलाई संयम अपनाउन जोड दिएको छ र यही कुरा जेलेन्स्कीसँग सीको वार्तालापमा उल्लेख भएको थियो । चीनले सो वार्तालापमा ‘चाहे कमजोर वा बलियो होस्, चाहे धनी वा गरिब होस्, सबै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता’लाई सम्मान गर्नुपर्नेमा जोड दिएको बताइएको छ । यस वाक्यांशले चीन विशेषतः सार्वजनिक वक्तव्य जारी गर्दा कूटनीतिक भाषाबारे सचेत छ भन्ने देखाउँछ । बेइजिङले मस्कोसँग ‘सीमाविहीन मित्रता’लाई कायम राख्दै गर्दा युक्रेनले आपूmलाई मध्यस्थका रूपमा अस्वीकार नगरोस् भन्नेमा चीन सचेत छ ।
सी रुसले युक्रेनको भूमिमाथि कब्जा जमाउन सक्ने गरी युद्ध जित्नेछैन भन्नेमा ढुक्क छन् र दुवै पक्ष सम्झौतामा पुगेरै युद्ध टुंगिने देख्छन् । बेइजिङका लागि रुससँगको सम्बन्ध निःसन्देह महत्वपूर्ण छ, तर राष्ट्रपति सी युक्रेनमा आफ्नो आर्थिक स्वार्थको रक्षा गर्न चाहन्छन् । स्मरण रहोस्, चीन युक्रेनको सबैभन्दा ठुलो विदेशी व्यापारिक साझेदार हो र उसले माइकोलाइभ बन्दरगाह, किएभको सबवेजस्ता ठूला पूर्वाधार परियोजनामा लगानी गरेको छ ।
बेइजिङका लागि रुससँगको सम्बन्ध निःसन्देह महत्वपूर्ण छ, तर राष्ट्रपति सी युक्रेनमा आफ्नो आर्थिक स्वार्थको रक्षा गर्न चाहन्छन्
जेलेन्स्कीसँग सम्बन्ध बढाउने चीनको नीतिलाई अमेरिका र यसका केही युरोपेली साझेदारले युक्रेन युद्धका समयमा पुटिनलाई बेइजिङले गरेको राजनीतिक र आर्थिक समर्थन लुकाउने अर्को चाल भन्दै स्वभावतः खारेज गर्नेछन् । अमेरिका र यसका साझेदार चीनले उच्च मात्रामा रुसी कच्चा तेल आयात गरेर र रुसको अतिक्रमणको निन्दा गर्ने राष्ट्रसंघको प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेर रुसलाई समर्थन गरेको आरोप लगाउने गर्छन् । यही बुझाइका कारण वासिङ्टनले बेइजिङको १२ बुँदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको छ ।
तथापि, युक्रेन मामिलामा कूटनीतिक बैठानका लागि चीनको प्रयासलाई खारेज गर्न बुद्धिमत्तापूर्ण काम होइन । विनाकुनै उद्देश्य सीले जेलेन्स्कीसँग वार्ता गरेर आफ्नो समय खेर फालेका छन् भन्न मिल्दैन । त्यसैगरी, चीनले ‘युक्रेन र अन्य मुलुकमा युरेसियाली मामिला हेर्ने विशेष दूत पठाउने’ घोषणालाई पनि सार्वजनिक खपतका लागि गरिएको तमासा भन्न मिल्दैन । रुस र युक्रेन दुवैबाट आडभरोषा नपाएको भए चीन यो कूटनीतिक पहलकदमी नै किन लिन्थ्यो होला र ? त्यसमाथि जेलेन्स्कीले सीसँगको वार्तालापलगत्तै वार्तालाई ‘अर्थपूर्ण’ र सकारात्मक भन्ने थिएनन् । त्यसैगरी रुसी विदेश मन्त्रालयले सीको प्रशंसा गर्दै कूटनीतिक मार्ग ‘स्थापित गर्न तत्पर’ रहेको जनाएको छ ।
चीनले किएभ र मस्कोबीच सम्झौता गराउन खोजे पनि युद्ध अन्त्य हुने सम्झौता तुरन्तै हुनेछ भन्ने भ्रम पनि पाल्नु हुँदैन । अर्थात्, युद्ध रोक्ने सम्झौता नहुन पनि सक्छ । सी रणभूमि र लडाकुको स्थितिलाई राम्रैसँग पर्गेल्न सक्छन् र उनी तत्कालै युद्ध रोकिनेभन्दा पनि युद्ध थप चर्किनेछ भन्ने बुझ्छन् । युक्रेनी सेना दक्षिण र पूर्वमा रहेका रुसी अखडाविरुद्ध ठूलो प्रत्याक्रमणको तयारीको अन्तिम चरणमा छ ।
अमेरिका र यसका नेटो साझेदार यो अभियान सफल बनाउन आवश्यक ट्यांक, थल सेना लडाकु सवारीसाधन, माइन क्लियरिङ उपकरण र वायु रक्षा प्रणालीलगायत हतियार भए–नभएको सुनिश्चित गर्न लागिपरेका छन् । रुसले वाग्नर भाडाका सिपाही समूह प्रयोग गरेर आठ महिनादेखि बाख्मुत क्षेत्रलाई कब्जा गर्न सकिरहेको छैन । तथापि, रुसी सेनाले आफ्नो कब्जामा रहेको युक्रेनको २० प्रतिशत हिस्सामा आफ्नो रक्षात्मक स्थिति सुदृढ गर्न महिनौँ बिताएको छ । यस अर्थमा रुस र युक्रेन सम्झौताका लागि टेबलमा आउन तयार देखिँदैनन् । र, यी दुवै मुलुक अन्ततः वार्ता गर्न सहमत भए पनि रुस र युक्रेनका सर्तले मध्यस्थता एक निष्फल प्रयास हुन सक्छ ।
तथापि, जेलेन्स्कीसँग सीको वार्तालाप र यसमा किएभ र मस्कोको सकारात्मक प्रतिक्रियाले कम्तीमा युद्ध अन्त्य गर्ने उपायमा रचनात्मक सोचलाई उत्प्रेरित गर्न सक्छ । यदि यसो हुँदैन भने मृत्यु र विनाश अनिश्चितकालका लागि लम्बिनेछ ।
(मेनन डिफेन्स प्रायोरिटिज ग्रान्ड स्ट्राटेजी कार्यक्रमका निर्देशक हुन् भने डिपेट्रिस डिफेन्स प्रायोरिटिजका शोधकर्ता हुन्) द गार्डियनबाट