मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० बैशाख १७ आइतबार १०:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरमा दोस्रो चरणमा थपिए १४ सय स्मार्ट सडकबत्ती

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० बैशाख १७ आइतबार १०:१५:००

ललितपुर महानगरले देस्रो चरणको सडकबत्ती जडान अभियानलाई अन्तिम रूप दिएको छ । दोस्रो चरणअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भैँसीपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखेको छ । धापाखेलबाहेक अन्य ठाउँमा सडकबत्ती जडान गरिसकेको महानगरले जनाएको छ । ती क्षेत्रमा करिब १४ सय सडकबत्ती जडान गरिएको छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार चैत मसान्तसम्म धापाखेल क्षेत्रमा पनि बत्ती जडान भइसक्नेछ । ‘अन्तिम चरणमा पुगेका छौँ । धापाखेल क्षेत्रबाहेक अन्य खण्डमा राखिएको सडकबत्ती बल्न पनि थालिसकेको छ,’ महानगर प्रमुख महर्जनले भने, ‘चैत मसान्तबाट दोस्रो खण्डका सबै स्मार्ट सडकबत्ती बल्नेछन् ।’ यसपछि महानगरका सडक झिलिमिली हुनेछ । साथै, सडक दुर्घटना पनि कम हुने अपेक्षा गरिएको छ । 

प्राधिकरणको ४० प्रतिशत सहयोग
सडकबत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग रहेको छ । महानगर प्रमुख महर्जनका अनुसार पहिलो चरणमा बत्ती राखिएका ठाउँबाट सकारात्मक प्रतिक्रिया आएपछि दोस्रो चरणको काम सुरु गरिएको थियो । पहिलो चरणअन्तर्गत (फागुन ०७७ मा) ६ सयवटा स्मार्ट सडकबत्ती जडान गरिसकेको थियो । यसअन्तर्गत कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा बत्ती राखिएको थियो । रातमा हुने सवारी दुर्घटनाको प्रमुख कारण अँध्यारो सडक भएकाले बत्ती राख्न थालिएको महानगरले जनाएको छ । पहिलो चरणमा पनि महानगरको ६० र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग थियो । जसअन्तर्गत सात करोड रुपैयाँ लागेको थियो ।

सडकबत्ती स्वचालित
महानगरले दोस्रो चरणमा जडान गरेको स्मार्ट सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन । सडकको चहलपहलअनुसार आफैँ बल्ने–निभ्ने गर्छ । रातको समयमा सडकबत्तीलाई केन्द्रबाट कन्ट्रोलसमेत सकिनेछ । ०७४ सालको स्थानीय तह निर्वाचनकै वेला नगर प्रमुखका रूपमा उम्मेदवार बनेका महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार ०७७ सालदेखि महानगरले स्मार्ट सडकबत्ती जडान गर्न थालेको हो । स्मार्ट सडकबत्ती जडान कार्य स्मार्ट सहर बनाउने योजनाअन्तर्गत रहेको प्रमुख महर्जनले बताए । 

११ स्थानमा ‘हाई मास्ट’ राखिँदै 
महानगरपालिकाभित्र ‘हाई मास्ट’ (उच्च मात्रामा प्रकाश दिने बत्ती) राख्ने काम पनि अन्तिम चरणमा छ । महानगरका अनुसार कुपन्डोल पुल, हिमालय होटेलअगाडिको सहिद शुक्रराज शास्त्री पार्क, पुल्चोक नबिल बैंकअगाडि, जावलाखेल, लगनखेल बसपार्क, लगनखेल महालक्ष्मी मन्दिर, धोबीघाट ठाडो ढुंगा, धोबीघाट ढुंगेधारा, बुङमती बसपार्क, शंखमूलपार्कसहित ११ ठाउँमा ‘हाई मास्ट’ राख्ने तय भएको छ । पहिचान भएका ठाउँहरूमा फाउन्डेसन राख्ने काम भइसकेको छ भने ‘हाई मास्ट’ चैत मसान्तभित्र राखिसकिने महानगरले जनाएको छ । बत्ती जडान सकिनेबित्तिकै सिसिटिभी जडान गर्ने महानगरले जनाएको छ ।

तेस्रो चरणमा सडकबत्ती जडान गर्न टेन्डर गरिँदै
तेस्रो चरणअन्तर्गतको सडकबत्ती जडान गर्न महानगरले टेन्डर आह्वानको तयारी गरिसकेको छ । बल्खुदेखि बालकुमारीसम्म ७ दशमल ९ किलोमिटर क्षेत्रमा बत्ती जडान गर्न महानगरले चैत महिनाभित्रै टेन्डर गर्ने भएको हो । ती सडकखण्डमा करिब दुई करोड लागतमा सडकबत्ती राखिनेछ । ६–७ महिनाभित्र बत्ती बल्ने महानगरले जनाएको छ ।