मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कोटेश्वर–सातदोबाटो सडकखण्डको ग्वार्को चोकमा बन्दै गरेको फ्लाई ओभर । यहाँ करिब डेढ किलोमिटर सडकको साइड लेनमा मात्र सवारीसाधन सञ्चालन भइरहेको छ । जसका कारण ट्रफिक जाम हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०८० बैशाख १७ आइतबार ०९:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ग्वार्को र सातदोबाटोमा फ्लाई ओभर, एकान्तकुनामा अन्डरपास एकै चरणमा बनाउन महानगरको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० बैशाख १७ आइतबार ०९:५१:००

कोटेश्वर र थापाथलीपछि धेरै नै ट्राफिक जाम हुने उपत्यकाकै अन्य चोक हुन्, तलितपुरको सातदोबाटो र ग्वार्को । ग्वार्को चोकमा फ्लाई ओभर निर्माण भइरहेकाले करिब ढेड किलोमिटर क्षेत्रमा सर्भिस लेनबाट सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । भित्री लेनमा फ्लाई ओभर निर्माणसम्बन्धी काम भइरहेकाले यहाँ सधैँजसो सवारी जाम हुने गरेको छ । 

दक्षिण ललितपुरदेखिका सवारीसाधन ओहोरदोहोर गर्ने सातदोबाटो, चापागाउँ दोबाटो र एकान्तकुना चोकमा पनि धेरै नै ट्राफिक जाम हुने स्थान हो । सरकारले यी सबै चोकलाई समेट्ने गरी फ्लाई ओभर तथा अन्डरपास निर्माण योजना अघि बढाएको छ । तर, एउटै प्रोजेक्टअनुसार निर्माणसम्बन्धी काम हुन नसक्दा सडक प्रयोगकर्ता वर्षौँसम्म सास्ती भोग्न बाध्य छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले पहिलो चरणमा ग्वार्कोमा फ्लाई ओभर निर्माण सकिएपछि एकान्तकुनामा अन्डरपास र सातदोबाटोमा फ्लाई ओभर निर्माण गर्ने जनाएको छ । तर, एउटै सडकखण्डमा तीन चरणमा संरचना निर्माण हुँदा सर्वसाधारणलाई वर्षौँसम्म जामको मार पर्ने अवस्था छ । हाल निर्माणाधीन ग्वार्को फ्लाई ओभर दुई वर्षमा सक्ने लक्ष्य छ । 

तर, समयमै उक्त योजना सम्पन्न हुने सम्भावना कम छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले तीनवटै आयोजना एउटै ठेक्का र एकै चरणमा सुरु गर्नुपर्ने बताए । यसो हुँदा सर्वसाधारणले कम दुःख र सास्ती पाउनुका साथै काम पनि छिटो सकिने उनको भनाइ छ । यसबारे मेयर महर्जनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण पनि गराएका छन् । उनले तीन चरणमा काम गर्दा कम्तीमा ६ वर्ष सडक अवरुद्ध हुने बताए । ‘संघीय सरकारले चरण–चरणमा अन्डरपास र फ्लाई ओभर बनाउने योजना बनाएको छ, तर यो निकै कठिन छ, ट्राफिक जाम ह्वात्तै बढ्छ, बरु एउटै प्रोजेक्टअनुसार काम गर्न जरुरी छ ।’

संघीय सरकारको काम सुस्त, गाली हामीले खाइरहेका छौँ : मेयर महर्जन
एउटै सडकखण्डमा पटक–पटक निर्माणसम्बन्धी काम गर्दा ट्राफिक जामको सास्ती हुने मेयर महर्जनले बताए । संघीय सरकारले तीनवटै संरचनाको काम एकैपटक सुरु गरेको भए सर्वसाधारणले एकपटक मात्रै सस्ती पाउने उनको भनाइ छ । ‘ग्वार्कोको फ्लाई ओभर निर्माण गर्ने भनेर हामीले डिजाइन र सर्वेक्षण पनि गरेका थियौँ, तर संघीय सरकारले आफ्नो काम देखाउन योजना आफैँ गर्ने बतायो,’ उनले भने, ‘पटके रूपमा फ्लाई ओभर र अन्डरपास निर्माण गर्दा ललितपुरका सडकमा ट्राफिक जाम हुन्छ, फेरि ठेकेदारले समयमै काम सक्दैन ।’ केन्द्र सरकारले काम नगर्दा स्थानीय सरकारले गाली खानुपरेको बताए । ‘संघीय सरकारले सुरु गरेका ललितपुरका सडकको अवस्था बिजोग छ, फ्लाई ओभर र अन्डरपास निर्माण पनि त्यस्तै होला कि भन्ने डर छ,’ उनले भने, ‘न त उहाँहरू समयमै व्यवस्थित तरिकारले काम गर्नुहुन्छ, न त हामीलाई नै काम गर्न दिनुहुन्छ ।’ उनले केन्द्र सरकार र स्थानीय सरकारबीचमा ग्याप रहेको भन्दै यसबारे केन्द्र सरकारको ध्यानाकर्षणसमेत गराए । भैँसेपाटी सडकखण्ड अस्तव्यस्त छ । केन्द्र सरकारको क्षेत्रभित्र पर्ने सडक कालोपत्रे नहँुदा सर्वसाधारणले ओहोरदोहोर गर्दा सास्ती खेप्नुपरेको छ । 

बजेट अभावले एकैपटक निर्माण सुुरु गर्न सकेनौँ : सडक विभाग
सडक विभागमा महानिर्देशक सुशीलबाबु ढकालले बजेट अभावका कारण एकै वर्ष सबैतिर निर्माण कार्य अघि बढाउन नसकिने बताए । ‘हाल ग्वार्कोमा एउटा फ्लाई ओभर निर्माण सुरु भइसक्यो, आउँदो वर्ष सातदोबाटो र त्यसपछिको अर्को वर्ष एकान्तकुनामा अन्डरपास निर्माण सुरु हुन्छ,’ उनले भने, ‘जाम र सास्तीको हिसाबले एकैपटक निर्माण सुरु गर्दा कठिन हुने भए पनि बजेट पुग्दैन ।’ हाल करिब १५ करोड लागत अनुमानमा ग्वार्कोमा फ्लाई ओभर निर्माण सुरु भएको छ । त्यस्तै, सातादोबाटोमा फ्लाई ओभर बनाउँदा करिब १० करोड र एकान्तकुनामा अन्डरपास निर्माण गर्दा १८ करोड खर्च हुने विभागको अनुमान छ ।