१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १५ शुक्रबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै पालिकामा विपतकाे पूर्वतयारी हुनुपर्छ : मन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार ११:o२:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपत् पूर्वतयारी हुनुपर्ने बताइन् । गृह मन्त्रालयको आयोजनामा दाङको तुलसीपुरमा भएको विपत् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री शर्माले त्यस्तो बताएकी हुन् । 

विपतकाे पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । ‘विपतकाे पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसो गर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।’ विगतमा पनि पूर्वतयारी नहुँदा पनि धेरैजनाको मृत्यु भएको इतिहास रहेको मन्त्री शर्माको भनाइ छ । 

भूकम्प, बाढीपहिरोलगायतका विपतले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको भन्दै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । त्यस्तै, भौतिक संरचनाले गर्दा पनि धेरैको क्षति हुने गरेको उनको भनाइ छ । ‘जस्तै भूकम्प आएमा भूकम्पले क्षति हुने रहेनछ, हाम्रा संरचना भूकम्पका कारण भत्किँदा क्षति हुँदोरहेछ,’ उनले भनिन्, ‘त्यसैले संरचना निर्माणमा पनि ध्यान दिनुपर्छ ।’ 

उनले जनप्रतिनिधि, समाजका अगुवाहरूले पूर्वतयारीका कुराहरू सिक्नुपर्ने बताइन् । मन्त्री शर्माले दाङमा सबै खालका विपतहरू हुनेसमेत बताइन् । पहाड र तराईको भूभाग दाङमा पर्ने भएकाले पनि सबैखाले विपत् दाङमा हुने उनको भनाइ थियो ।