
गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा शुक्रबार सफल रूपमा ‘परीक्षण उडान’ भएको छ । नेपाल वायुसेवा निगम (एनएसी) को नाइन एन एबिटी (9N-ABT) नम्बरको जहाज क्याप्टेन मनेश विष्ट नेतृत्वको पाइलट टोलीले रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गराएकाे हाे ।
गत पुस अन्तिम हप्ता धुले उडान भएको चार वर्षपछि पक्की धावनमार्गमा ‘प्रुभिङ फ्लाइट’ गरिएको थियो । यसअघि २५ जेठ ०७५ मा तारा एयरले नै कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो ।
नियमित उडानका लागि सबै अवस्थाको जाँच गर्न एयरलाइन्सले वायुसेवा निगमको अनुमति लिएर परीक्षण गरेको हो । रेसुंगा नगरपालिकासँगको समन्वय र सहयोगमा नेपाल एयरलाइन्सले नियमित उडानको तयारी गरेको जनाएको छ ।
काठमाडाैंबाट करिब ५० मिनेटको उडानपछि रेसुंगा विमानस्थलमा अवतरण गरिएको क्याप्टेन विष्टले जानकारी दिए । रेसुंगा नगरले १४ फागुनमा सम्झौता गरेर १७ गतेबाट नियमित गर्ने योजना बनाएकाे भए पनि प्राविधिक समस्याका कारण अहिले परीक्षण उडान गरिएको मेयर खिलध्वज पन्थीले बताए । उनले सम्झौताअनुसार काठमाडौंबाट गुल्मीसम्म ६ हजारदेखि ६ हजार पाँच सयसम्म भाडा कायम हुने जानकारी दिए ।
रेसुंगा विमानस्थल निर्माणको कल्पना ०३७ सालमा भएको थियो । ०६३ सालमा शिलान्यास, ०७१ सालबाट नियमित काम, ०७५ सालमा धुले परीक्षण उडान र ०७९ सालमा ‘प्रुभिङ’ र परीक्षण उडान गरिएको छ ।
विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब ३३ करोड खर्च भएको छ । ०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेको विमानस्थलले ०७१ सालबाट मात्रै निर्माणले निरन्तरता पायो ।
विमानस्थल निर्माणका लागि स्थानीय १७ परिवारको बसाइ सारिएको छ । ४१ जनाको जग्गा अधिकरण गरेर एक सय १६ रोपनीमा विमानस्थल निर्माण गरिएको संस्थापक अध्यक्ष अर्यालले जानकारी दिए । जग्गा अधिकरण, प्राप्ति र मूल्य निर्धारणमा थुप्रै चुनौती समितिले खेपेको छ ।
रेसुंगा विमानस्थलमा दुईपटक परीक्षण उडान भएपछि नियमित उडानको आसमा गुल्मीलगायत आसपास जिल्लाका नागरिक रहेका छन् । पहाडमा उड्ने विमानको संख्या कम, यात्रु नहुने, भौतिक संरचनाको अभावलगायतका कारणले नियमित उडानमा भने चुनौती नै देखिन्छ ।