
एकछिन फ्ल्यास ब्याकमा जाऔँ । डेढ वर्षअघि राप्रपामा राजेन्द्र लिङदेनको उदय र त्यसले ल्याएको एक प्रकारको उत्साहले देश तरंगित भयो । कांग्रेसमा सोही समय गगन थापा र विश्वप्रकाश शर्माको महामन्त्रीमा जित । एमालेको महाधिवेशन र केपी ओलीको शक्ति प्रदर्शन । त्यसलगत्तै, काठमाडौंमा बालेनको उम्मेदवारी र महानगरमा उनको जित । बालेनको जितसँगै धरानका हर्क साम्पाङको पृथक् शैलीको चर्चा । लगत्तै, रवि लामिछानेको उदय र रास्वपा गठन ।
त्यसपछि, पुराना दलको उही पुरानो गठबन्धनको नाटक र आमनिर्वाचन । निर्वाचनमा सबै पार्टीको एक प्रकारको आ–आफ्नो जित र नयाँ पार्टीको उदय । आमनिर्वाचनसँगै एमाले गठबन्धनको सरकार, रविको नागरिकताको मुद्दा, कांग्रेसको सरकारलाई विश्वासको मत । राष्ट्रपति निर्वाचनसम्म पुग्दा गठबन्धन भंग । यही क्रममा भएको प्रेम आचार्यको आत्मदाह र दुर्गा प्रसाईंको अभियानले ल्याएको छोटो तरंग ।
लाग्छ, विगत एक वर्ष प्रत्येक दिन राजनीतिको ग्राफ माथि चढेको छ । अर्को दिन तल झरेको छ । आज हिरो मानिएको पात्रलाई भोलिपल्टै भिलेन बनाइएको छ । त्यसैले, आजको दिनमा अल्पकालमा के हुन्छ भनेर विश्लेषण गर्न सकिने अवस्था छैन ।
उपनिर्वाचनको सन्देश : यो उपनिर्वाचनको सबैभन्दा महत्वपूर्ण घटना स्वर्णिम वाग्लेको विद्रोह हो । कांग्रेसमा गगन थापा प्यानलबाट अर्थमन्त्रीका रूपमा प्रोजेक्ट गरिएका वाग्लेले जब कांग्रेसका ‘दाइ–भाउजू’ देखाउँदै विद्रोह गरे, त्यसले एउटा तरंग पैदा ग¥यो । ठूलो पार्टी छाडेर वैकल्पिक पार्टी जोडिने ठूलो नाममा उनी नै सायद पहिलो हुन् ।
नागरिकले विद्रोह र आत्मविश्वास मन पराउँछन् । स्वर्णिम वाग्लेमा त्यो विद्रोहीपन र आत्मविश्वास देखियो । त्यसले, स्वर्णिम वाग्लेलाई जित दिलाइदियो । यो निर्वाचनको सबैभन्दा ठूलो सन्देश हो, अब ‘जनता’, ‘नागरिक’ बन्दै छन् । अझ नागरिक ‘विवेकशील नागरिक’ बन्दै छन्, जो स्वविवेक प्रयोग गर्ने ल्याकत राख्छन् ।
हामीले यहीँनेर स्मरण गर्नुपर्ने तथ्य के हो भने नेपालमा कुनै पनि शक्ति आफ्नो शक्तिका कारणले भन्दा पनि अर्काको कमजोरीका कारणले उदाएका छन् । २००७ सालमा राणाशासन कसले ढाल्यो ? राणाशासन ढल्नुको मुख्य श्रेय राणालाई नै जान्छ । उनीहरूको आन्तरिक स्वार्थ र नागरिकप्रतिको जवाफविहीनतालाई नै जान्छ । पञ्चायत पञ्चायतकै कारणले ढलेको थियो । राजतन्त्र दलहरूले होइन, स्वयं राजाले नै ढालेका थिए । २०६४ मा माओवादीको उदय कांग्र्रेस–एमालेको निकम्मापनका कारण भएको थियो । अहिले पनि नयाँ शक्तिहरूको उदयमा नयाँ पार्टीको मिहिनेत कम, पुराना पार्टीहरूको अक्षमता बढी जिम्मेवार छ ।
सम्झनुस् त, स्वर्णिम वाग्लेलाई हराउन शेरबहादुर देउवा र प्रचण्डले दिएको भाषण, ‘हाम्रो उम्मेदवारलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउँछौँ’ रे ! यो पुस्तामा मन्त्रीको ललिपप देखाएर अझै चुनाव जितिन्छ भन्ने भ्रम छ । सागर ढकालले डडेलधुरामै पुगेर २५ हजार मत ल्याउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध १२ हजार पाँच सय मत ल्याउँदा नचेत्ने नेतृत्व अब सुध्रिनेछैन । सुध्रिने भए, ‘जिताउनुहोस् मन्त्री बनाउँछु’ होइन, देशमै रोजगारी सिर्जना गर्छु । यति रोजगारी, यसरी र यति वेलासम्ममा सिर्जना गर्छु भनेर भाषण गर्थे ।यो निर्वाचनले स्पष्ट सन्देश दिएको छ, ‘कांग्रेस, एमाले, माओवादीलगायत दल सच्चिने अवस्था देखिएन, अब सिध्याउने हो ।’ अब कांग्रेस र कम्युनिस्ट पार्टीले न आशा जगाउन सक्छन्, न उनीहरू अब विश्वसनीय नै रहे ।
रास्वपा र स्वतन्त्र नेतृत्वको माहोल : २०७४ सालमा नेकपाको जितमा केपीको ‘गफ’ र चुट्किलाको ठूलो हात थियो । एउटै जोक बारम्बार सुन्दा जसरी हामीलाई हाँसो उठ्दैन, त्यस्तै अब उनको भाषणबाट पनि मान्छे वाक्क भइसकेका छन् । जमाना बदलिएको छ । राम्रो भाषण गर्ने क्षमता राख्ने ओलीहरूका विकल्पमा आज काम पनि गर्ने, आफ्ना समस्या र योजना गीतमार्फत राख्ने क्षमता भएका हर्क साम्पाङ र बालेनहरू आइसकेका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत आफ्ना कुरा निर्धक्क राख्छन् । टिकटक लाइभमार्फत नागरिकसँग जोडिन्छन् । जमाना बदलिएको छ । अब ‘मन्त्री’ बनाउने भाषण र चुट्किलाले पुग्दैन ।
कुनै वेला विद्रोह निम्न वर्गले गर्ने हो भन्ने बहस चल्यो । फेरि विद्रोह त भोको पेटले हुन्न, विद्रोह गर्न मध्यम वर्ग अगाडि आउनुपर्छ भन्ने बहस चल्यो । तर, आज नेपाल एउटा यस्तो अवस्थामा उभिएको छ, जहाँ निम्न र मध्यम वर्ग एकै ठाउँमा आएर विद्रोह गर्न खोजिरहेको छ । त्यसैले पनि यो नेपाली राजनीतिको विशिष्ट क्षण हो ।
राजनीतिको दोबाटो : कुनै–कुनै कालखण्डमा राजनीति एकजना व्यक्तिमा आएर केन्द्रित हुने गर्छ । ४६ सालपछि राजनीति एक दशक गिरिजाप्रसाद कोइरालाको ‘मुभ’मा आएर अडियो । त्यसपछि, त्यो पूर्वराजा ज्ञानेन्द्र शाहको हातमा पुग्यो । २०६४ सालपछि नेपालको राजनीति प्रचण्डको वरिपरि घुम्यो । ७० को दशकमा त्यो कमान्ड केपी ओलीको हातमा गयो । आज ८० को दशकको सुरुवातमा त्यो कमान्ड रवि लामिछाने, बालेन र हर्क साम्पाङको हातमा पुगेको छ । रवि लामिछाने एउटा संगठन निर्माण गर्दै छन्, त्यसैले अझ बढी यो कमान्ड उनको हातमा छ ।
राजनीतिमा पात्र र परिस्थितिको संयोग बडा शक्तिशाली हुन्छ । आज रवि लामिछानेको सफलताले नेपाली राजनीतिको दिशा तय गर्ने ल्याकत राख्छ । यदि लामिछानेले आफ्नो शक्तिलाई संस्था (रास्वपा) मा ट्रान्सफर गर्न सके भने उनी सफल हुनेछन् र नेपाली राजनीति उनी र रास्वपाको वरिपरि घुम्नेछ । उनको पक्ष र विपक्षमा रहने जनमत विभाजित हुँदा रास्वपाको उदयसँग अर्को वैकल्पिक शक्तिको पनि उदय हुनेछ । त्यो विवेकशीलको नाउँमा वा बालेनको नाउँमा वा हर्क साम्पाङको नाउँमा वा अन्य कुनै नयाँ पार्टीको नाउँमा उदय हुनेछ ।
केही वर्षअघि मैले ‘कांग्रेसको विकल्प के ?’ लेखमार्फत अब कांग्रेसको विकल्पमा नयाँ लोकतान्त्रिक पार्टी चाहिन्छ भनेर वकालत गरेको थिएँ । मलाई लाग्थ्यो, कांग्रेस सकिन्छ, कम्युनिस्ट होइन । एमालेको संगठन दरो छ । तर, ०७४ सालमा काठमाडौंको मेयरमा रन्जु दर्शनालाई आएको भोट, ०७४ सालमै विवेकशील साझालाई आएको भोट, गत स्थानीय तहमा बालेनदेखि हाल रविसम्मलाई आएको भोट हेर्दा लाग्छ, कांग्रेससँगै कम्युनिस्टको पनि पतन हुँदै छ । यही उपनिर्वाचन हेर्दा पनि जति कांग्रेसको मत घटेको छ, त्यति एमालेको पनि घटेको छ । अझ केही क्षेत्रमा त एमालेको मत झन् धेरै घटेको छ ।
त्यसैले, राजनीतिमा नयाँ शक्ति उदय हुँदा कांग्रेस मात्र होइन, कम्युनिस्टको पनि मत घट्नेछ । र, एउटा होइन, दुइटा नयाँ पार्टीको जन्म हुनेछ । वैचारिक रूपमा, ती संगठनको झुकाव एउटा ‘राइट’ र अर्को ‘लेफ्ट’तिर हुन सक्नेछ ।
वैकल्पिक राजनीतिको वकालतकर्ता भएको नाताले, म चाहन्छु– अब कांग्रेस–कम्युनिस्टभन्दा अघि दुई नयाँ शक्ति आऊन् । तर, यो त्यति सजिलो प्रक्रिया होइन ।
सुसंस्कृत राजनीतिका लागि दुइटा विवेकशील शक्ति चाहिन्छ, एउटा सत्तामा, अर्को प्रतिपक्षमा । आशा गरौँ, देशमा अब दुई नयाँ शक्तिको उदय हुनेछ, जसले एक–अर्कालाई चेक एन्ड ब्यालेन्स गर्नेछन् र नागरिकको अपेक्षालाई ‘डेलिभर’ गर्नेछन् ।
नेपाली राजनीतिमा ‘फ्रस्टेसन’ यति धेरै छ कि यसले जति छिटो भगवान् बनाउँछ, त्योभन्दा छिटो दानव बनाउँछ । त्यसैले, यदि रवि लामिछानेले आफूप्रतिको विश्वास संस्थामा ट्रान्सफर गर्न नसके त्यसले पुरानै दल सुध्रिने मत बलियो हुनेछ र देश फेरि कांग्रेस र नेकपा (एमाले, माओवादी, समाजवादी मिल्नेछन्) मा विभाजित हुनेछ र तिनै दलहरूको रूपान्तरणको मुद्दा बलियो हुनेछ ।
यो संक्रमणकाल हो– पुराना र नयाँ पार्टीबीचको संक्रमणकाल, पुराना र नयाँ पुस्ताबीचको संक्रमणकाल, डिजिटल क्रान्तिको संक्रमणकाल । त्यसैले आज यही हुन्छ भनेर भोलिको पनि भविष्यवाणी गर्न गाह्रो छ । यही क्रममा यदि नयाँले पनि गर्न नसक्ने र पुराना पनि नसुध्रिने हो भने पुरानै दल वा नयाँ दलमार्फत पनि व्यवस्था परिवर्तनको नाउँमा संविधान उल्ट्याउने एजेन्डामा खेल्ने प्रयास हुन सक्छ, जसले हाम्रो संविधानलाई अस्थिर बनाउने र फेरि हाम्रो समृद्धिको सपनालाई धकेल्नेछ ।
निष्कर्ष : म ३४ वर्षको भएँ । जब–जब म अहिलेको पुस्तासँग अन्तत्र्रिmया गर्छु, उनीहरूसँग संवाद गर्छु, म आफैँ असान्दर्भिक भएँ कि भन्ने लाग्छ । त्यो ८० वर्षे पुस्ता कति असान्दर्भिक छन्, मेरो भावबाट हामीले अनुमान लगाउन सक्छौँ । उनीहरू बूढा भए त्यो भएर असान्दर्भिक भएका होइनन्, नयाँ पुस्ताको अपेक्षा, आशा र आवश्यकता बुझ्न नसकेका हुनाले उनीहरू असान्दर्भिक भएका हुन् । उनीहरूले नयाँ पुस्ताको एजेन्डा बुझेका छैनन्, त्यही भएर असान्दर्भिक भएका हुन् ।
केही दिनअघि विश्लेषक विष्णु सापकोटाले ट्विट गर्नुभयो– ‘अर्को महाधिवेशनमा कांग्रेसको नेतृत्व शेरबहादुरबाट गगन–विश्वको पुस्तामा त सर्ने होला । तर, त्यतिन्जेल देउवाले पार्टीलाई कुन आकारको बाँकी राख्लान् भन्ने प्रश्न मुख्य हो । यही संसदीय कार्यकालमा देउवा फेरि एकपटक प्रधानमन्त्री बनेपछि नयाँ चुनाव फेस गर्दा कांग्रेसको हालत कस्तो होला ?’ मलाई लाग्छ, यदि ४ वर्षपछि गगन–विश्वप्रकाशजीहरू नेतृत्वमै पुगे पनि असान्दर्भिक हुनुहुनेछ । चार वर्ष धेरै टाढा छ । जमाना धेरै छिटो बदलिँदै छ । र, देशले यही वेलाका गगन–विश्वप्रकाशहरू खोजेको छ, चार वर्षपछि लडेर ऊर्जाविहीन गगन–विश्वप्रकाशहरू होइन । यही कुरा माओवादी, एमालेलगायत दलहरूमा पनि लागू हुनेछ ।
केही दिनअघि बेनी बजारको चिया पसलमा एकजना दाइ भन्दै हुनुहुन्थ्यो, ‘हामीले नयाँ प्रधानमन्त्री होइन, परिवर्तन खोजेका हौँ ।’ ६४ सालमा माओवादीले ल्याएको जस्तो हावाहुन्डरी कुनै दलले ल्याएर कोही नयाँ व्यक्ति नेतृत्वमा पुग्नु मात्र आजको माग होइन, हामीले परिवर्तन खोजेका हौँ । पुराना पटक–पटक असफल भएकाले, त्यो परिवर्तन दिन नसक्ने निष्कर्षसहित जनमत नयाँ पुस्तामा, नयाँ राजनीतिमा र नयाँ पार्टीमा सर्न खोजेको हो । यो कुरा हामी सबै नयाँ राजनीति गर्नेहरूले बुझ्न जरुरी छ ।
स्व. उज्ज्वल थापाले वैकल्पिक राजनीति सुरु गर्दैगर्दा पटक–पटक भन्नुहुन्थ्यो, ‘सुसंस्कृत राजनीतिका लागि दुइटा विवेकशील शक्ति चाहिन्छ, एउटा सत्तामा, अर्को प्रतिपक्षमा’ । आशा गरौँ, देशमा अब दुई नयाँ शक्तिको उदय हुनेछ, जसले एकअर्कालाई चेक एन्ड ब्यालेन्स गर्नेछन् र नागरिकको अपेक्षालाई ‘डेलिभर’ गर्नेछन् । देश आज दोबाटोमा छ– नयाँ दुई दल स्थापित गर्न अघि बढ्ने कि पुरानै दुई दल सुधार्न अघि बढ्ने ?
(पाण्डे विवेकशील साझा पार्टीका नेता हुन्)