१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Friday, 09 May, 2025
गौर नगरपालिकाको दुर्घटनाग्रस्त वारुणयन्त्र
२o८o बैशाख १४ बिहीबार १८:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एउटै वारुणयन्त्रको भरमा रौतहटका १८ पालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १८:o९:oo

गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना भएर कामै नलाग्ने भएको छ। रौतहटका १८ वटा पालिकामा आगलागी भएमा चन्द्रपुर नगरपालिकामा रहेको एक मात्र वारुणयन्त्रको भर पर्नुपर्ने अवस्था आएको छ।

गौर नगर क्षेत्रमै भएको आगलागी निभाउन गएको वारुणयन्त्र (फायर बिग्रेड) मंगलबार मध्यराति दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका थिए। तीमध्ये तीनजना सख्त घाइते छन्।

जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकामध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र थियो। गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना भएर कामै नलाग्ने भएपछि अब जिल्लामा एउटा मात्रै वारुणयन्त्र बाँकी छ। 

गर्मीको मौसम सुरु भएसँगै तराईका जिल्लामा आगलागीका घटना बढ्ने गरेका छन्। जिल्लाका अन्य पालिकाका मेयर, उपमेयर र कार्यालय प्रमुखलाई चढ्न गाडी किन्ने पालिकाहरूले वारुणयन्त्र किन्नेतर्फ भने ध्यान नदिएकाे वृन्दावन नगरपालिकाका स्थानीय रामप्रसाद पटेलले बताए।

गौर नगरपालिकाको वारुणयन्त्र कामै नलाग्ने गरी दुर्घटनामा परेपछि आफ्नो नगरपालिकाको वारुणयन्त्र २४ सै घन्टा तयारी अवस्थामा राखिएको चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधि तिवारीले बताए।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वारुणयन्त्र कम हुँदा ठूलो आगलागीका घटनामा समस्या भइरहेको बताए। ‘एउटा पालिकाले मात्र वारुणयन्त्र खरिद गर्न सक्दैन भने मिलेर किन्न अनुरोध गरेको छु,’ उनले भने।

गरुडाका नगरप्रमुख कन्थमणि जयसवालले वारुणयन्त्र खरिद गर्न कार्यपालिकाको बैठकमा प्रस्ताव लैजाने बताए। ‘सकेसम्म नजिकका नगरपालिकासित मिलेर खरिद गर्छौं,’ उनले भने। गौर र चन्द्रपुरको दूरी ४२ किलोमिटर छ। यसको बीचमा कतै वारुणयन्त्र छैन। गरुडा, समनपुर, कटहरिया, विजयपुरबीच समन्वय गर्न सक्ने प्रजिअ मिश्रले बताए। जिल्लाको पश्चिम विजयपुर, पूर्वी समनपुर, धरमपुरलगायत क्षेत्रमा आगलागी हुँदा वारुणयन्त्र समयमै पुग्न सक्दैनन्।

प्रहरीका अनुसार गत वर्ष १ सय ३५ स्थानमा आगलागी हुँदा ७२ वटा घर जलेर नष्ट भएका थिए। आगलागीबाट एकजनाको मृत्यु हुनुका साथै १० घाइते भएका थिए। यस घटनामा ५६ वटा पशु गोठ जल्दा ४४ चौपायासमेत मरेका थिए।