१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १४ बिहीबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुडानको हिंसाग्रस्त क्षेत्रमा सात नेपाली उद्धारको पर्खाइमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १४ बिहीबार ०८:५५:००

गत २ वैशाखदेखि सेना र अर्धसैनिक बलबीचको हिंसाले अशान्त सुडानको खार्तुमबाट तीनजना नेपाली बाहिरिएका छन् । अझै ११ जना बाहिरिने क्रममा छन् । सातजना नेपाली खार्तुममै छन् । 

इजिप्टको कायरोस्थित नेपाली दूतावासमा भएको सूचीअनुसार खार्तुममा २१ नेपालीमध्ये अब सातजना मात्रै बाँकी छन् । ‘तीनजना पोर्ट सुडान पुगिसक्नुभएको छ । ११ जना त्यसतर्फ जाने क्रममा हुनुहुन्छ,’ इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘बाँकी खार्तुममै हुनुहुन्छ । उहाँहरू सुरक्षित हुनुहुन्छ ।’ संयुक्त राष्ट्रसंघीय मिसनमा काम गर्ने ६ जना सुरक्षा अधिकारी तथा राष्ट्रसंघीय नियोगमा काम गर्ने नेपाली बाहिरिएका हुन् । अब सातजना मात्रै त्यस क्षेत्रमा छन् । हाल खार्तुममा युद्धविरामको अवस्था छ । 

सुडानको द्वन्द्वग्रस्त रहेको खार्तुमबाट सुडानकै पोर्ट सुडानको दूरी ८ सय ३५ किलोमिटर छ । खार्तुमबाट उद्धार भएर पुग्ने नजिकको सुरक्षित स्थल पनि त्यही नै हो । सुरक्षालगायत कारण खार्तुमबाट पोर्ट सुडान पुग्न बसमा करिब ३६ घन्टा लाग्ने गरेको छ । पोर्ट सुडानसँग साउदी अरबको जेद्दा जोडिएको छ । नेपालीलाई पोर्ट सुडानबाट साउदी अरबको जेद्दा जाने व्यवस्थाका लागि नेपालले साउदी अरेबियासँग पनि कुराकानी गरेको छ । 

सेनाले कु गरेर सत्ता हातमा लिएपछि सुडान अशान्त छ । सेना र अर्धसैनिक बलबीच विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै दुवै पक्ष हिंसामा उत्रेका छन् । द्वन्द्वको असर दक्षिण सुडानमा पनि पर्न सक्ने आकलन भइरहेको छ । दक्षिण सुडानमा एक हजार सात सय ५८ जना नेपाली सैनिक संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत छन् ।