१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, बिहीबार ४ बजेसम्मको समय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:३७:oo

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि दलहरूलाई बिहीबार दिनको १६ः०० बजेसम्मको समय दिइएको जनाएका छन् ।

१६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा गण्डकीमा नयाँ मुख्यमन्त्रीसँगै सरकार बन्ने भएको हो ।

प्रदेशमा यसअघिसमेत धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा गत २५ पुसमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । 

माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीले ९ वैशाखको प्रदेश सभा बैठकमा भएको मतविभाजनमा आवश्यक मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । 

अधिकारी २२ सदस्य रहेको एमाले, सभामुखसहित आठ सदस्य रहेको माओवादी र दुई सदस्य रहेको राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

एमाले नेतृत्वको सरकार ढलेसँगै गण्डकीमा अब कांग्रेस र माओवादी गठबन्धनको सरकार बन्ने भएको छ । 

६० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, सभामुखसहित माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन ३१ जना सदस्यको समर्थन आवश्यक पर्छ ।

कांग्रेस र माओवादीको मत पर्याप्त
गण्डकीमा कांग्रेस र माओवादी गठबन्धनको सरकार बन्ने भएको छ । सरकार गठनका लागि कांग्रेस र माओवादीको मत पर्याप्त छ । 

६० सदस्य प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ जनाको समर्थन आवश्यक रहेकोमा कांग्रेसका २७, सभामुखसहित आठ सदस्य रहेको माओवादीको मत पर्याप्त छ । यसैगरी, स्वतन्त्र विजयी भएका र पछि एकीकृत समाजवादीमा प्रवेश गरेका १ सदस्यको समर्थनसमेत गठबन्धनलाई छ।

सभामुख छाडेर ३५ जनाको समर्थन नयाँ गठबन्धनसँग रहेको छ, जुन सरकार गठनका लागि आवश्यक मतभन्दा बढी हो ।

कांग्रेस नेतृत्वमा सरकार बन्ने 
नयाँ सरकार गठनका लागि आह्वान भएसँगै गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । 

सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको सोमबार बसेको बैठकले गण्डकीमा अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति गरेका थिए । 

सोही सहमतिअनुसार गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको हो । गोरखाबाट निर्वाचित सुरेन्द्र पाण्डे कांग्रेस संसदीय दलका नेता छन् । शीर्ष नेताको सहमतिसँगै पाण्डेले गण्डकीको चौथो मुख्यमन्त्री बन्ने अवसर पाउन लागेका हुन् । 

बुधबार दाबी पेस गर्ने तयारी
कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले बुधबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने बताए । हामी काठमाडौंबाट भर्खर आएका छौँ, माओवादीसँग छलफल हुन बाँकी  छ । माओवादीसँग छलफल गरी जति सक्दो छिटो दाबी पेस गर्ने र सकेसम्म बुधबारभित्र प्रदेश प्रमुखकोमा जाने पाण्डेले बताए । 

पार्टी अध्यक्षलाई भेट्न माओवादीका नेता काठमाडौंमा
केन्द्रमा गण्डकी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएसँगै असन्तुष्ट बनेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान नेतृत्वमा मओवादीका नेताहरू मंगलबार काठमाडौंतर्फ लागेका छन् । 

गण्डकी सरकारको नेतृत्व माओवादीले गर्ने भनी यसअघि शीर्ष नेताबीच मौखिक सहमति भएकोमा हाल आएर कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने कुरा सुनेपछि पार्टी अध्यक्षलाई भेट्न आफूहरू काठमाडौं जाँदै गरेको चुमानले जानकारी दिए । 

सरकारको नेतृत्वको बारेमा हाल आफूहरूलाई पार्टीले औपचारिक रूपमा केही जानकारी नदिएको र बाहिरबाहिर सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने सुनेपछि के भएको रहेछ भनी बुझ्न काठमाडौं जाँदै गरेको चुमानको भनाइ छ । 

कांग्रेस नेतृत्व स्वीकार नगर्नु भएको हो भन्ने नयाँ पत्रिकाको प्रश्नमा चुमानले निर्णय के भएको रहेछ, त्यसबारेमा आफूहरूलाई औपचारिक रूपमा कसैले केही जानकारी नदिएकाले कुरा बुझ्नका लागि काठमाडौं जान लागेको भन्दै अन्य केही बताउन चाहेनन् । 

ad
ad