
सनराइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई अझै उच्चस्तरीय सुविधा दिने क्रममा भारतको अपोलो हस्पिटलसँग सम्झौता गरेको हो ।
सम्झौतामा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार सन्राइज बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरूको उपचारका क्रममा भारतको अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवासुविधामा अधिकतम १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।
इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतको प्रतिष्ठित अस्पताल रहेको र यसले विभिन्न एक सय ४० देशका ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । सम्झौताअनुसार सन्राइज बैंकका सम्पूर्ण ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुट पाउने उल्लेख छ ।
यसका साथै सम्पूर्ण मेडिकल अपोइन्टमेन्टहरूको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउनेलगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटलअन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको । यस योजनाले सम्पूर्ण ग्राहकलाई लाभान्वित बनाउने बैंकले आशा व्यक्त गरेको छ ।