मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख ११ सोमबार १०:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘अख्तियारले निजी क्षेत्र हेर्न नमिल्नेमा शीर्षनेताहरू एकमत’

Read Time : < 1 मिनेट
२०८० बैशाख ११ सोमबार १०:४१:००

निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा नपार्न लबिङ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित प्रतिनिधिमण्डलले शीर्षस्थ नेताहरूलाई भेटेर लबिङ अघि बढाएका हुन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डल आइतबार नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमै पुगेका थिए । महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकालसहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्स्ना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीलगायत कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन खोजिएको भन्दै उनीहरू त्यसविरुद्ध लागिपरेका हुन् । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकाले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्पm अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । पूर्वप्रधानमन्त्री ओली र देउवा तथा बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनैजनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रसमेत हेर्ने गरी कानुनी व्यवस्था हुन नहुने बताएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आइतबार भएको भेटमा पूर्वप्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित हुन नहुने बताएको महासंघको दाबी छ ।