१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १० आइतबार १८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मान्छे मार्ने बाघ सदर चिडियाखानामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १८:४५:oo

कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।

९ वैशाखमा बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले जानकारी दिए। पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो। यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए।

चन्द मृत फेला परेकी थिइन्। भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रनजिकै रहेको यहाँ एक महिनाअघि मात्र बाघको आक्रमणमा परी एक भारतीय र एक नेपालीको ज्यान गइसकेको छ।

नेपालमा सन् २००९ मा १२१ बाघ रहेकामा हाल यो संख्या ३५५ पुगिसकेको छ। शुक्लाफाँटा र वरपरको क्षेत्रमा मात्र ३६ बाघ रहेको अनुमान छ। तराई क्षेत्रमा रहेको लालझाडी–मोहना, वसन्ता र ब्रह्मदेव जैविक मार्गमा बाघको विचरण बढिरहेको छ। नेपाल र भारत दुवै देशमा फैलिएको तराई भूपरिधि क्षेत्रमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वका घटना पनि बढेका छन्।