१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धनगढीका सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२१:oo

आठ कक्षाको परीक्षामा नगरभित्रका एक सय ६ वटा विद्यालयका चार हजार पाँच सय ३३ जना विद्यार्थी सहभागी, तर ३३ प्रतिशत अर्थात् एक हजार पाँच सय तीन मात्र नौ कक्षामा भर्ना हुन योग्य भए 

गत चैतमा भएको आधारभूत तह (कक्षा ८)को परीक्षामा कैलालीको धनगढीका ४६ सामुदायिकसहित एक सय ६ विद्यालयका चार हजार पाँच सय ३३ विद्यार्थी सहभागी भए । तर, धनगढी उपमहानगर पालिकाले हालै सार्वजनिक गरेको नतिजामा भने तीमध्ये ३३ प्रतिशत अर्थात् एक हजार पाँच सय तीनजना मात्र कक्षा नौमा भर्ना हुन योग्य भएका छन् । कक्षा नौमा भर्ना हुन आवश्यक ग्रेड प्राप्त गर्नेमध्ये करिब नाै प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थी छन् ।

तीन हजार ३० विद्यार्थी भने ननग्रेडेड अर्थात् कक्षा ९ मा भर्ना हुन अयोग्य बनेका छन् । यद्यपि, अन्तिम नतिजामा सैद्धान्तिकतर्फ बढीमा दुई विषयमा ननग्रेडेड भएकाहरू भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । 

धनगढी उपमहानगरको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार दुईभन्दा बढी विषयमा ननग्रेड नतिजा भएका विद्यार्थी तथा ग्रेड वृद्धिको परीक्षामा ग्रेड सुधार गर्न नसकेका विद्यार्थीले पुनः आठ कक्षामै अध्ययन गर्नुपर्नेछ । उपमहानगरले ग्रेड वृद्धिको परीक्षा २९ र ३० वैशाखमा तोकेको छ । माथिल्लो कक्षा अध्ययनका लागि ग्राह्य नदेखिएका विद्यार्थीले नतिजामा चित्त नबुझे पुनर्योगका लागि आवेदन दिन भनिएको खातीले बताए ।

माथिल्लो कक्षा भर्ना हुन ग्राह्य नभएका तीन हजार ३० विद्यार्थीमध्ये दुईभन्दा बढी ‘विषय लाग्ने’ विद्यार्थी संख्या करिब आधा रहेको खातीले बताए । ‘बढीमा दुई विषयमा ननग्रेड भएका विद्यार्थीको छुट्टै संख्या निकालेका छैनाैँ, सम्बन्धित विद्यालयलाई त्यस्तो संख्या पठाउन भनेका छाैँ,’ उनले भने, ‘कुनै न कुनै विषयमा ननग्रेड नतिजा भएका तीन हजार विद्यार्थीमध्ये बढीमा दुई विषय लाग्नेको संख्या आधाभन्दा कम होला ।’

ठूलो संख्यामा विद्यार्थीको नतिजा ‘ननग्रेड’ आएपछि नतिजा राम्रो नभएका सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय सञ्चालकले नतिजा सुधारका लागि उपमहानगरलाई दबाब दिन थालेका छन् । एउटै कक्षामा दोहोर्‍याउँदा पढाइ छोड्ने दर बढ्ने भन्दै उनीहरूले नतिजामा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

 नरेन्द्रबहादुर खाती, प्रमुख, धनगढी उपमहानगरको शिक्षा महाशाखा

बढीमा दुई विषयमा ननग्रेड भएका विद्यार्थीको छुट्टै संख्या निकालेका छैनाैँ, सम्बन्धित विद्यालयलाई त्यस्तो संख्या पठाउन भनेका छाैँ । कुनै न कुनै विषयमा ननग्रेड नतिजा भएका तीन हजार विद्यार्थीमध्ये बढीमा दुई विषय लाग्नेको संख्या आधाभन्दा कम होला ।

‘नतिजा सुधार्नुपर्ने माग लिएर केही प्रधानाध्यापक, शिक्षक र विद्यालय सञ्चालक आउनुभएको थियो । उपमहानगरको शिक्षा महाशाखाले बदमासी गरेको पनि उहाँहरूको आरोप थियो,’ खातीले भने, ‘तर प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी शिक्षकहरूलाई दिएका थियौँ, हामीले व्यवस्थापन मात्र गरिदिएका हौँ ।’ 

खासगरी सामुदायिक विद्यालयमा शैक्षिक धरातल कस्तो छ, कसरी सुधार गर्न सकिन्छ भनेर उपमहानगरले कक्षा आठको परीक्षा परीक्षकले कुन विद्यार्थीको उत्तरपुस्तिका हो भनेर पहिचान गर्न नसक्ने गरी परीक्षामा कडाइ गरिएको उनले बताए । कक्षा आठको नतिजा हेर्दा सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर पाइएको उल्लेख गर्दै खातीले उपमहानगरले सुधारका लागि काम गर्ने बताए । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. हेमराज पन्त धनगढीका विद्यालयको नतिजाले समग्र सामुदायिक विद्यालयको शैक्षिक स्तरको प्रतिनिधित्व गर्ने बताउँछन् ।

नतिजाको गम्भीर समीक्षा गरेर शैक्षिकस्तर सुधारमा लाग्नुपर्ने उनको सुझाव छ । सामुदायिक विद्यालयको समग्र व्यवस्थापननै कमजोर रहेकोले शैक्षिक स्तर सुधार हुन नसकेको उनले बताए । ‘विद्यालयमा राजनीतीकरण बढी भयो । शिक्षकहरू पठनपाठनभन्दा विभिन्न संघसंगठनका नाममा राजनीतिमा बढी लागे । सरकारको निगरानी कम भयो । विद्यार्थी फेल भए शिक्षकलाई जवाफदेही बनाउने र कारबाही गर्ने व्यवस्था छैन,’ पन्तले भने, ‘सामुदायिक विद्यालयमा राज्यको अर्बौँ लगानी छ । शिक्षकलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्छ । सरकारले निगरानी र अनुगमन गर्नुपर्छ ।’  

तत्कालीन अवस्थामा ८ कक्षाको परीक्षा जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्दै आएकामा ०७५ देखि सम्बन्धित पालिकाले सञ्चालन गर्दै आएका छन् । गत चैतमा भएको परीक्षामा यहाँ २१ वटा केन्द्र थिए । ‘गत वर्ष पनि नतिजा कमजोर थियो तर कोरोनाका कारण पठनपाठन नभएकाले १५ प्रतिशत ग्रेस दिएका थियौँ । त्यसअघिका दुई वर्ष कोरोनाले परीक्षा हुन पाएन,’ खातीले भने, ‘सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर देखियो, अब सुधारका लागि प्रयास गर्छौँ ।’

कक्षा आठको परीक्षा दिएका १७ वटा सामुदायिक र एक निजी विद्यालयका सबै विद्यार्थीको नतिजा ‘ननग्रेडेड’ छ । अर्थात् यी सबै विद्यालय निल भएका छन् । यी विद्यालयबाट ६ सय विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । तर, ननग्रेडेड भएका कुन–कुन विद्यालय हुन् र ननग्रेडेडमध्ये पनि ग्रेडवृद्धिको परीक्षा दिन पाउने कति छन् भनेर धनगढी उपमहानगरले खुलाएको छैन । सबैभन्दा बढी गणितमा दुई हजार तीन सय ४१ जना विद्यार्थीको नतिजा ‘ननग्रेडे’ रहेको शिक्षा महाशाखा प्रमुख खातीले जानकारी दिए । अंग्रेजीमा एक हजार ६ सय चार, नेपालीमा एक हजार ६ सय दुई र विज्ञानमा एक हजार सात सय ५१ जना विद्यार्थीको नतिजा ननग्रेडे रहेको छ । यस नतिजाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर रहेको देखिएको उनले बताए ।

१३ वटा विद्यालयबाट एक–एकजनाले मात्र ९ कक्षा भर्ना हुन आवश्यक ग्रेड प्राप्त गरेका छन् । त्यसमध्ये नौ सामुदायिक र चार निजीका छन् । त्यस्तै, आठवटा सामुदायिक विद्यालयबाट दुई–दुईजनाले नाै कक्षा भर्ना हुन आवश्यक ग्रेड प्राप्त गरेको उपमहानगरले जनाएको छ । एउटा निजी र पाँचवटा सामुदायिक विद्यालयबाट तीन–तीनजना र दुई विद्यालयबाट चार–चारजनाले मात्र नाै कक्षा भर्ना हुन आवश्यक ग्रेड प्राप्त गरेका छन् ।

यी हुन् कक्षा ८ मा ननग्रेड भएका विद्यालय
धनगढी– १ को सरस्वती आधारभूत विद्यालय, ६ को भैरवबाबा आधारभूत विद्यालय, ७ को शिव मावि, ९ को सरस्वती आधारभूत विद्यालय, १० को जनकल्याण मावि तथा वडा नम्बर १२ को नवदुर्गा आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा आठ कक्षामा अध्ययनरत सबै विद्यार्थीको नतिजा ननग्रेड आएको छ । त्यसैगरी, धनगढी–१३ को नवज्योति आधाभूत विद्यालय, जनता राष्ट्रिय मावि, १४ को शिवशंकर आधारभूत विद्यालय, सिद्धार्थ आधारभूत विद्यालय,१६ को दीपेन्द्र चारपाते मावि, सज्जन आधारभूत विद्यालय, १७ को भानु मावि, १८ को खप्तडी आधारभूत विद्यालय, इन्द्रोदय आधारभूत विद्यालय, १९ को फूलबारी आधारभूत विद्यालयका सबै विद्यार्थीको नतिजा ननग्रेड रहेको छ । धनगढी–३ मा रहेका निजी विद्यालय मोडर्न स्कुलबाट परीक्षा दिएका सबै विद्यार्थीको नतिजा ननग्रेड रहेको उपमहानगरले जनाएको छ ।

ad
ad