
तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्दै लैजाने बताएका छन्।
तनहुँ १ मा मतदान गर्नुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘संसद् कानुन बनाउने थलो हो, मतदाताले राम्रा मान्छेलाई पहिचान गरेर मतदान गरून्। निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ।’
सत्तागठबन्धनका उम्मेदवारसमेत रहेका भट्टराईले चुनावी माहोल राम्रो रहेको र आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताए । ‘माहोल राम्रो छ, मैले नजिते कसले जित्छ,’ उनको प्रतिक्रिया छ।
प्रतिस्पर्धी दल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले पोलटिकल स्ट्रन्डको आरोप लगाए । ‘पुराना गाडी ल्याएर आफैँले ढुंगा हानेर फुटालेर पोलटिकल स्ट्रन्ड गरेकोे देखिहाल्नुभयो,’ उनको दाबी छ, ‘राजनीति लामो यात्रा हो, समयको पर्खामा सबै मानिसहरू निखारिँदै जानुपर्छ।’
रास्वपाको नाम नलिइएका उनले केही पर्दा उघ्रिसकेको र समयक्रमसँगै उघ्रिँदै जाने बताए। ‘नयाँ पार्टी छ, एक वर्षमा धेरै पर्दा उघारिएको अवस्था छ समयले नै मूल्यांकन गर्ला,’ उनले भने।