
राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपअन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रूपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आ–आफ्नो जितयात्रालाई छैटौँ चरणसम्म पुर्याएका छन् । दुवै खेलाडीले आ–आफ्नो एकल अग्रतालाई कायम राखेका छन् ।
प्रतियोगिताको चौथो दिन शुक्रबार पाँचौँ र छैटौँ चरणमा रूपेशले लगातार जित निकाले । रूपेशले पाँचौँ चरणमा राजन पुरीलाई हराउँदा छैटौँ चरणमा पूर्वनेपाल च्याम्पियन शूरवीर लामालाई पराजित गरे ।
महिलातर्फ फिडेमास्टर सुजनाले शीर्ष स्थानमा १.५ अंकको अग्रता बनाएकी छिन् । उनले पाँचौँ चरणमा विनिता कपाली र छैटौँ चरणमा पुनम प्रसाईंलाई हराइन् । महिलातर्फ सुशीला गुरुङ ४.५ अंकसहित दोस्रो स्थानमा छिन् । पुरुषतर्फ १४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल पाँच अंकसहित रूपेशलाई पछ्याइरहेका छन् ।
चौथो चरणमा रूपेशसँग पराजित भएका पुरुषोत्तमले शुक्रबार पाँचौँ चरणमा साबिक विजेता पुरुषोत्तम चौलागाईंलाई ४१औँ चालमा जित हासिल गरे । उनले छैटौँ चरणमा पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठलाई ४६औँ चालमा निराश पारे । फिडेमास्टर क्षितिज भण्डारी ४.५ अंकका साथ तेस्रो स्थानमा छन् । पाँचौँ चरणमा राजन सुवेदीसँग बराबरी खेलेका क्षितिजले छैटौँ चरणमा राजीव कार्कीलाई हराए ।