१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २१:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिर्चैयामा स्थानीय र प्रहरीबीच  झडप, दुई दर्जन घाइते

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:o३:oo

उठिबासविरुद्ध धर्ना बस्न गएका स्थानीय र प्रहरीबीच झडप हुँदा सिराहाको मिर्चैयामा बिहीबार दिउँसो पाँचजना प्रहरीसहित दुई दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। 

मिर्चैया नगरपालिका ५ मा पर्ने पुरानो बजारको स्थापना हुँदादेखि नै बस्दै आएका व्यवसायी र घर भत्काइदिएपछि सडकमा पुर्याइएका पीडितहरू नगर कार्यपालिका कार्यालयमा धर्नामा बसिरहेका बेला बल प्रयोग भएपछि झडप भएको हो। 

झडपको क्रममा घाइते भएका पाँच प्रहरी र करिब २० जनाभन्दा बढी प्रदर्शनकारीको स्थानीय स्वास्थ्य संस्था र कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको संघर्ष समितिका संयोजक अञ्जय साहले जानकारी दिए। 

प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा घाइते भएकी संगीताकुमारी साहको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा चोट लागेका दिनेशकुमार यादवको स्थानीय मंगलम् अस्पतालमा उपचार भइरहेको छ। 

प्रदर्शनकारीतर्फ दुईबाहेक अन्य सामान्य चोटपटक लागेर सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

कार्यालय प्रवेश गर्न खोज्दा झडप

आफूहरू बस्दै आएको घर नगरपालिकाले भत्काएकाले तत्काल बस्न र व्यवसायका लागि व्यवस्था गर्नुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी उचित क्षतिपूर्ति दिइनुपर्ने, वर्षौंदेखिको भोगचलनमा रहेको जग्गाको लालपूर्जा दिइनुपर्ने, घर, पसल भत्काइएको घटनाको छानबिन गरी न्याय दिइनु पर्नेलगायतका मागसहित मिर्चैयाको गुदरी बजार हुँदै पीडित स्थानीय बासिन्दा र व्यवसायीहरू नाराबाजी गर्दै मध्याह्न नगरपालिका कार्यालय पुगेका थिए। 

प्रदर्शनकारीहरूले आफूहरूले उठाएका मागका विषयमा नगरप्रमुख श्रवणकुमार यादवले जवाफ दिनुपर्ने मागसहित नगरपालिकाको मुख्य गेटमा धर्ना बस्दासमेत नगरप्रमुख बाहिर नआएपछि नगरपालिकाभित्र प्रवेश गर्न खोजेका प्रदर्शनकारी र रोक्न खोज्ने प्रहरीबीच झडप भएको हो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाई फायर र ११ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

शान्तिपूर्ण प्रदर्शन भनिए पनि प्रदर्शनकारीले नगरपालिकाको सुरक्षार्थ खटिएका प्रहरीलाई हातपात गर्ने, ढुंगामुढा गरेर कार्यालयको झ्याल तथा सवारीसाधनको सिसा फोडेपछि अवस्था नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको उनले बताए।  

प्रदर्शनकारीको ढुंगा लागेर नगर कार्यपालिकाको झ्यालका सिसासहित नगरप्रमुख श्रवणकुमार यादव चढ्ने स.१ झ ५२१ नम्बरको स्कार्पियो जिपमा समेत क्षति पुगेको छ।

नगरपालिकाले गुदरी बजार क्षेत्रको घर तथा पसलहरू भत्काएको विरोधमा बजारका बासिन्दा तथा व्यापारीहरू पछिल्लो करिब एक महिनादेखि आन्दोलनमा रहेको संयोजक साहले बताए। 

मिर्चैया बजारमा कोणसभा गरी पूर्वनिर्धारित कार्यक्रमअनुसार नगरपालिकामा धर्ना दिन गएका आन्दोलनकारीमाथि नगरपालिकाको गेटभित्रबाट ढुंगामुढा भएपछि आन्दोलनले उग्र रूप लिएको संयोजक साहले दाबी गरे। 

नगरपालिकाले बाटो बिस्तारको नाममा मनोमानी ढंगले बसोवास रहेको घर तथा पसलहरू भत्काएपछि स्थानीय आक्रोशित भएको उनले बताए।

संघर्ष समितिले बजार स्थापना भएदेखि नै बस्दै आएको गाउँब्लकमा बनेको घर तोडफोड गरेको, जनप्रतिनिधिका आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाउँदै मिर्चैया बजार क्षेत्रका बासिन्दाले प्रदर्शन गर्दै आएका छन्। 

गाउँब्लकमा पर्ने मिर्चैयाको गुदरी बजार क्षेत्रमा चार वर्षअघि मिर्चैयास्थित विशेष नापी टोलीले हकभोगमा रहेको जमिनको नाम जाँच सकेर सात दिने सूचना, कित्ताकाटलगायतका काम गरिरहेका बेला नगरपालिकाले २७ माघ तथा ११ र १९ फागुनमा बजार क्षेत्रका करिब तीन दर्जन घरटहरा, पसल भत्काएको स्थानीयको गुनासो छ। 

स्थानीयले आफूहरूको हकभोगमा रहेको जग्गाको लालपुर्जा दिनुपर्ने, भत्काएको संरचनाको क्षतिपूर्ति दिनुपर्ने, नगरप्रमुखले ज्यादती गरेकाले सत्यतथ्य छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग गरेका छन्। 

बजार स्थापना भएदेखि नै बसोवास गर्दै आएको भए पनि नगरप्रमुख यादवले राजनीतिक प्रतिशोधका कारण उठीबास गराएको पीडितहरू बताउँछन्। 

गुदरी बजार रहेको कित्ता नं. २५६ लाई नगरपालिकाले सरकारी जग्गा रहेको दाबी गर्दै आएको छ तर विशेष नापीको फिल्डबुकमा भने गाउँब्लक नै जनाइएको छ। 
 

ad
ad