मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Thursday, 09 January, 2025
२o८o बैशाख ७ बिहीबार १८:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कारोबार बन्द गरेपछि बचतकर्ताले घेरे बागलुङको इमेज सहकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार १८:३९:oo

बागलुङ सदरमुकाममा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरेसँगै बचतकर्ताले घेराबन्दी गरेका छन्।

सहकारीमा बचत गरेको रकम फिर्ता लिन जाँदा फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन्। सहकारीले कुनै नाम नरहेको कार्यबाहक अध्यक्षको हस्ताक्षर रहेको एक सूचना प्रकाशन गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरेसँगै बचतकर्ताले सहकारी घेरेका हुन्।

सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको भन्दै कारोबार रोक्का गरेको जनाएको छ। अर्को सूचना नभएसम्मका लागि वैशाख ७ गते बिहानदेखि सहकारीले बागलुङ बजारमा रहेको कार्यालय बन्द गरेपछि बचतकर्ता मर्कामा परेका हुन्।

बागलुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ घर भई बागलुङ बजारमा बस्ने संगीता परियारले सूचना प्रकाशन गर्नुपूर्व पनि सहकारीले पटक-पटक बचत रकम फिर्ता माग्न जाँदा फिर्ता पठाएको बताइन्। चार लाख रुपैयाँ बचत गरेकी परियारले सिस्टमले काम नगरेको भन्दै फिर्ता पठाएर त्यसको भोलिपल्टै कारोबार बन्द गरेको आरोप लगाइन्।

बागलुङ नगरपालिका–१ की सुनिता खड्काले आफ्नो १८ लाख रुपैयाँ सहकारीले फिर्ता दिनुको साटो बहाना बनाएर पटक-पटक फर्काउने गरेको बताइन्। बचतकर्ताहरू दैनिकजसो सहकारी संस्थाको कार्यालय पुग्छन्। सहकारीले भने कर्मचारी र सञ्चालकका नजिकका मान्छेको बचत फिर्ता गर्ने, तर बचतकर्तालाई सिस्टम फिर्ता पठाउने गरेका उनीहरूले बताएका छन्।

यस विषयमा संस्थाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। सहकारीले यो साता मात्रै करोडौँ रुपैयाँ एकैपटक फिर्ता भएकाले तरलता अभाव भएको बताएको छ। बागलुङ शाखामा तरलता अभाव देखिएपछि तत्काल बैठक बसेर समस्या समाधान गर्ने प्रयास भैरहेको सञ्चालक लक्ष्मी सुनारले बताइन्। ‘समस्या आएपछि हाम्रा १८ जना कर्मचारीमध्ये ६ जना मात्रै कार्यालय आएका छन्, प्रबन्धकको मोबाइल फोन नलाग्ने भएको छ, हामी समस्या बुझ्दै छौँ,’ उनले भनिन्, ‘केही समय दिनुहोस्, बचत फिर्ता हुन्छ, एकैपटक धेरै फिर्ता हुँदा समस्या भएको हो।’

सहकारीले नियतवस कसैको पनि पैसा हिनामिना नगरेको उनले जिकिर गरिन्। सहकारीमा बचतकर्ताहरूको भिड लागेपछि प्रहरीले पहरा दिएको थियो। सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारीले सहकारी समस्यामा नरहेकाले बचतकर्ता सबैको पैसा फिर्ता हुने आश्वासन दिए। बचतकर्ता एकैपटक चल्ती र मुद्दतीको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकाले केही दिनमा समस्या समाधान हुने सहकारीको दाबी छ।