मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख ७ बिहीबार ११:४२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा ६१९ हेक्टर वन क्षेत्रमा डढेलो : डढेकाे वन पलायाे, पीडितकाे मन पलाउन पाएन

डढेलो नियन्त्रण गर्दा ज्यान गुमाएका नौ जनाको परिवारले अझै पाएनन राहत

Read Time : > 2 मिनेट
२०८० बैशाख ७ बिहीबार ११:४२:००

गुल्मीको ६१९.५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय गुल्मीकी सूचना अधिकारी मुना शर्माका अनुसार जिल्लाका ३९ सामुदायिक वनमा डढेलो लागेको छ । सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा डढेलो लागेको शर्माले बताइन् । जिल्लामा चार  सय ५९ सामुदायिक वन रहेका छन् । सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले दैनिक वनहरूमा डढेलो लाग्ने क्रम वृद्धि हुँदै गएको छ । गुल्मीमा रेसुंगा नगरपालिकाको रेसुंगा क्षेत्र र अर्जुन क्षेत्र, मुसिकोट नगरपालिका तथा धुर्कोट गाउँपालिकाका विभिन्न क्षेत्र आगलागीको जोखिममा रहेका छन् ।

मानवीय कारण वन डढेलो :  डिभिजन वन कार्यालय
निमित्त डिभिजन वन कार्यालय निमित्त प्रमुख रामकुमार चौधरीका अनुसार जिल्लामा मानवीय कारण बढी डढेलोका घटना हुने गरेका छन् । प्राकृतिक र मानवीय कारण बढी डढेलो हुने गर्दछ । जसका कारण इकोसिस्टमसमेत प्रभावित हुने गर्दछ । महत्वपूर्ण जडीबुटी र जीवजन्तु नष्ट हुनुको साथै खानेपानी संकट र भूक्षय बढी हुने निमित्त डिभिजन प्रमुख चौधरीले बताए ।

उनले आगो लगाउने व्यक्ति एक्लै हिँडेर लगाउने भएकाले डढेलोमा संलग्न व्यक्तिहरू पहिचान नहुने बताए । कार्यालयले आगलागीमा संलग्नको विवरण दिए पुरस्कार र उजुरीकर्ताको गोपनीयताको व्यवस्था भए पनि कसैले सूचना नदिने चौधरीले बताए । उनले आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्रीको प्रयोग, अग्निरेखा र सामुदायिक सचेतना आवश्यक रहेको बताए । 

आगलागीमा परेर तीनजनाले ज्यान गुमाए
गुल्मीमा पछिल्लो तीन महिनामा मात्रै आगलागीमा परेर तीनजनाले ज्यान गुमाएका छन् । केही दिनअघि जंगलमा लागेको आगोका कारण सत्यवती गाउँपालिका– ४ लिम्घानिवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय जंगलमा लागेको आगोले शाही जलेर घाइते भएका थिए ।

उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै उनकाे मृत्यु भएको श्रेष्ठले बताए । त्यस्तै, केही समयअगाडि मदाने गाउँपालिका– ६ का ८३ वर्षीय ज्ञानबहादुर जिसीको घरमा भएको आगलागीमा परेर ज्यान गयो । फागुन पहिलो हप्ता इस्मा गाउँपालिका– १ की पवित्रा खत्रीको पनि घरमा भएको आगलागीमा परेर ज्यान गएको थियो । मंगलबार दिउँसोे छत्रकोट गाउँपालिका– २ स्थित रानीवनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका ७१ वर्षीय सूर्यबहादुर रजाली घाइते भएको प्रहरीले जनाएको छ । रजालीको हातखुट्टा जलेका छन् । वनको डढेलो बस्तीमा जाँदा स्थानीय ४७ वर्षीया खिमा रजाली, ४७ वर्षीय दुर्गाबहादुर रजाली, ४० वर्षीया रूपा बराल र ४० वर्षीय कुलबहादुर रजालीको गोठ जलेर नष्ट भएको छ । 

डढेलोमा ज्यान गुमाएका  नौजनाले पाएनन् राहत
जिल्लाको विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणको क्रममा ज्यान गुमाएका नौजनाको परिवारले करिब एक दशकदेखि राहत पाउन सकेका छैनन् । ०६६ वैशाख १२ गते हस्तिचौर सामुदायिक वनमा लागेको आगाे नियन्त्रणको क्रममा स्थानीय रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीले ज्यान गुमाए । ०७२ सालमा तत्कालीन मलाय गिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणको क्रममा स्थानीय कमल खड्का सख्त घाइते भए । उनलाई उपचार गर्ने कुनै उपाय भएन ।

स्थानीय प्रशासन र पत्रकारहरूले अभियान चलाएर उपचार गर्न जिल्लाबाहिर पठाए पनि ०७३ साल वैशाख ११ गते ज्यान गुमाए । त्यस्तै, ०७३ साल वैशाख १७ गते तत्कालीन दोहली गाविस– ५ का तुल्सी लामा गुरुङ र लोकबहादुर गुरुङले पनि डढेलो नियन्त्रण गर्दा आगोमा परेर ज्यान गुमाए । उनीहरू नजिकैको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि गएका थिए ।

०७३ वैशाख १८ गते तत्कालीन वडागाउँ गाविसका मेहरसिंह रासकोटीले स्थानीय तिलाहार सामुदायिक वनमा लागेको आगो बस्ती पुगेपछि जलेर ज्यान गुमाएका थिए । त्यस्तै, सोही ठाउँका गोपालले पनि डढेलो नियन्त्रणकै क्रममा ०६६ सालमा वैशाख १० गते ज्यान गुमाएका थिए । तर, सरकारले कुनै पनि परिवारलाई राहत दिन सकेको छैन ।

पीडित परिवारका सदस्यले पटक–पटक वन, प्रशासन र नेताको ध्यानाकर्षण गराए । प्रशासन र वन कार्यालयबाट फाइल उठाएर विभाग पठाए पनि कुनै सुनुवाइ नभएको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले गुनासो गरे । ‘कैयौँपटक वन कार्यालय र प्रशासन पुग्यौँ । नेता र हाकिमले आश्वासन मात्रै दिए,’ उनले भने, ‘बरु डढेलोले नष्ट भएकाे जंगल पलायो । तर, पीडित परिवारको मन पलाउन सकेन ।’ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डिभिजन वन कार्यालयमा पुराना फाइल खोजेर पुनः सबै निकायमा राहतको प्रयास गर्ने बताए ।