१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० बैशाख ६ बुधबार १२:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमदत्तमा ऐलानी जग्गा नापजाँच सुरु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० बैशाख ६ बुधबार १२:१२:००

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ। भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो।

मंगलबारदेखि भीमदत्त नगरपालिका ४ नम्बर वडाबाट भूमिहीन सुकुमबासी, दलित र  अव्यवस्थित बसोवासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरिएको नगरपालिकाले जनाएको छ। भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले ४ नम्बर वडाबाट जग्गा नापजाँचको काम सुरु गरेको बताए। उनले भीमदत्त नगरपालिकाले राष्ट्रिय भूमि आयोग र नापी कार्यालयसँगको समन्वयमा जग्गा नापजाँच गरिरहेको बताए।

नापजाँचको उद्घाटन गर्दै भीमदत्त नगरका प्रमुख पदम बोगटीले क्रमशः सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने बताए । ‘अब नगरका १९ वटै वडामा क्रमिक रूपमा काम अघि बढाउँछौँ,’ उनले भने। जग्गा नापजाँचपश्चात् नक्सा प्रमाणीकरण गरेर जग्गाधनी पुर्जा दिन प्रक्रिया अगाडि बताइने उनको भनाइ छ। 

नगरपालिकाका उपप्रमुख निलम लेखकले  जग्गा नापजाँचको काम अगाडि बढेसँगै नगरका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जमिनका मालिक बन्ने बताए।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले भीमदत्त नगरमा पनि ऐलानी जमिन नापजाँच सुरु भएसँगै आयोगको कामकाज अघि बढेको बताए। भूमि आयोगको काम अघि बढेर कार्यान्वयनमा आएसँगै भीमदत्त नगरमा ६ हजारभन्दा बढी परिवार जमिनको मालिक बन्नेछन्।  

यसअघि बेलडाँडी, बेलौरी, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, पुनर्बाससहितका पालिकाकाे ऐलानी जमिन नापजाँच सुरु भइसकेको छ।