१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मुना कुँवर काठमाडाैं
२०८० बैशाख ६ बुधबार ०६:५०:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा कम्पनीको पुँजी वृद्धि गर्न तीन महिना थप

प्रभु, एनएलजी, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले पुँजी कायम गर्न सकेनन्

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० बैशाख ६ बुधबार ०६:५०:००

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने अवधि तीन महिना थप गरेको छ । सबै कम्पनीले प्राधिकरणले तोकेको समयमा पुँजी वृद्धि गर्न नसकेपछि आगामी असारमसान्तसम्मको समय थप गरिएको हो । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सरकारी स्वामित्वका राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले पुँजी कायम गर्न सकेनन् । 

प्राधिकरणले चैत ०७९ मा बिमा कम्पनीहरूको पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पुर्‍याउने निर्णय गरेको थियो । पुँजी वृद्धिका लागि प्राधिकरणले सञ्चालकबाट पुँजी थप गर्न सक्ने, मर्जरमा जान सक्ने वा विदेशी पार्टनर खोज्न सक्ने विकल्प दिएको थियो ।जसमध्ये हालसम्ममा २१ कम्पनीले मर्जरबाट नै पुँजी वृद्धि गर्न प्राधिकरणबाट स्वीकृति लिएका छन् । त्यसमा नौ जीवन बिमा र १२ निर्जीवन कम्पनी मर्जरमा जाने भएका छन् । 

प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर ल्याउने, नेपाल इन्स्योरेन्सले सम्पत्ति विक्री गर्ने  प्राधिकरणले दिएको अवधिसम्म पुँजी वृद्धिका लागि कुनै पनि प्रक्रिया अगाडि नबढाएका प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले असार मसान्तसम्ममा पुँजी वृद्धि गर्ने प्राधिकरणलाई आश्वस्त दिलाएका छन् । 

प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर खोजेर पुँजी वृद्धि गर्ने योजना बनाएको प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार कम्पनीले पार्टनर निश्चित नगरे पनि विदेशी खोजेर पुँजी वृद्धि गर्ने योजना बनाएको उनले बताए । प्रभु इन्स्योरेन्सको पुँजी एक अर्ब ३७ करोड छ । 

त्यस्तै, नेपाल इन्स्योरेन्सले भने आफ्नो अचल सम्पत्ति बिक्री गरी पुँजी बढाउने योजना बनाएको प्राधिकरणका प्रवक्ता एवंं कार्यकारी निर्देशक पौडेलले बताए । उनका अनुसार नेपाल इन्स्योरेन्सको जग्गा र भवनहरू बिक्री गरी पुँजी थप गर्ने योजना छ । नेपाल इन्स्योरेन्सको पुँजी एक अर्ब ४८ करोड छ । 

यस्तै, एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । यो कम्पनीले पनि हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । कम्पनीको माउ कम्पनी नेसनल इन्स्योरेन्स कम्पनीले नै पुँजी थप गर्ने विषयमा छलफल भइरहेको प्राधिकरणले जनाएको छ । 

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले पनि पुँजी वृद्धिको योजना बुझाएका छैनन् । त्यस्तै, मर्जरमा गएका कम्पनीहरूको पनि पुँजी कायम नभएपछि प्राधिकरण समय थप गर्न बाध्य भएको हो ।प्राधिकरणले मर्जरपछि पनि चुक्ता पुँजी अपुग भएका कम्पनीलाई २५ देखि ३० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको थियो । मर्जरपछि पनि पुँजी अपुग भएका कम्पनीलाई कति पुँजी थप गर्न दिने भन्ने विषयमा अहिले नै टुंगो लगाउन नसकिएको प्राधिकरणका प्रवक्ता पौडेलले बताए । 

असार मसान्तमा कम्पनीहरूले अपरिष्कृत वार्षिक वित्तीय विवरण पेस गर्नेछन् । विवरणपछि कम्पनीको मुनाफा निश्चित हुन्छ । मुनाफालाई पनि पुँजीमा कन्भर्ट गरिनेछ । त्यसपछि अपुग भएअनुसार हकप्रद सेयर जारी गर्न अनुमति दिइने प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक पौडेलले बताए । 

 चार कम्पनीले मात्रै पुर्‍याए चुक्ता पुँजी
नेपाल बिमा प्राधिकरणले तोकेअनुसार हालसम्म चार कम्पनीले मात्रै पुँजी कायम गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुँजी पु¥याएका हुन् ।नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी आठ अर्ब २० करोड छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको कम्पनी सिद्धार्थ प्रिमियरको चुक्ता पुँजी दुई अर्ब ८० करोड पुगेको छ । शिखर इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ६५ करोड रुपैयाँ छ । सगरमाथा र लुम्बिनी जनरल मर्ज भई बनेको कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई अर्ब ६२ करोड कायम भएको छ  ।

नेसनल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीले लाभांश जारी गरेर पुँजी कायम गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीको १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभाश वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी पाँच अर्ब पुग्नेछ । त्यस्तै, एलआइसी नेपालको हकमा भने माउ कम्पनी एलआइसी भारतले पुँजी थप गरेको छ । हाल एलआइसीको पुँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । त्यस्तै, नेको इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब एक करोड २३ लाख रुपैयाँ छ । कम्पनीले आफैँले पुँजी कायम गर्ने भएको छ । 

विदेशी कम्पनीको हकमा भने प्राधिकरणले असाइन क्यापिटल कायम गरेको छ । यी कम्पनीहरूले प्राधिकरणले तोकेको पुँजी कायम नभएसम्म मुनाफा लैजान पाउनेछैनन् । मेट लाइफ, नेसनल इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्स विदेशी कम्पनी हुन् ।  त्यस्तै, हालसम्म चारवटा जीवन बिमा कम्पनी मर्ज भई एकीकृत कारोबार पनि सुरु गरेका छन् । जसमध्ये सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा मर्जरमा गई एकीकृत कारोबारसमेत गरिसकेका छन् । मर्जरपश्चात् सूर्यज्योतिको चुक्ता पुँजी चार अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा रिलायन्सको मर्जरपश्चात् चुक्ता पुँजी चार अर्ब १८ करोड रुपैयाँ पुगेको छ । 

 यसरी पुँजी पुर्‍याउँदै चार कम्पनी 
नयाँ चार जीवन बिमा कम्पनीहरूले संस्थापक सेयर थप गरेर तथा आइपिओबाट चुक्ता पुँजी पुर्‍याउँदै छन् । सिटिजन्स लाइफ, सन नेपाल, रिलायबल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले हालसम्म आइपिओ जारी गरेका छैनन् । यी कम्पनीहरूले संस्थापक सेयर थप गरेर आइपिओ जारी गर्नेछन् । त्यसपछि नपुगेको चुक्ता पुँजी भने हकप्रदमार्फत पु¥याउने उनीहरूको योजना छ । हालसम्म सिटिजन लाइफको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ छ । सन नेपाल लाइफको दुई अर्ब २४ करोड, रिलायबल नेपाल लाइफको दुई अर्ब ८० करोड र आइएमई लाइफको दुई अर्ब ८० करोड छ ।  

त्यस्तै, पाँच जीवन बिमा कम्पनी र दुईवटा निर्जीवन बिमा कम्पनी मर्जरको प्रक्रियामा छन् । जीवन बिमा कम्पनीतर्फ प्राइम, युनियन र गुराँस, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर प्रक्रियामै छन् । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफले गत वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । यी कम्पनीहरू एकबराबर एक अनुपातमा मर्जर हुन लागेका हुन् । एकीकृत कारोबारपछि बन्ने कम्पनीको चुक्ता पुँजी सात अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।

मर्जर प्रक्रियामा रहेका महालक्ष्मी लाइफ र प्रभु लाइफको चुक्ता पुँजी चार अर्ब १० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, निर्जीवन चार कम्पनी मर्जर प्रक्रियामा छन् । अजोड र युनाइटेड, प्रुडेन्सियल र आइएमई जनरल मर्जर प्रक्रियामा छन् । मर्जरपछि आइएमई प्रोडेन्सियल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड पुग्नेछ । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स प्राधिकरणबाट मर्जरको स्वीकृति पाइसकेका छन् ।