१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै बढ्यो घरजग्गा कारोबार, चैतमा १० महिनायताकै उच्च किनबेच

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५४:oo

कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरूको संख्या बढेसँगै घरजग्गा कारोबारले पनि लय समात्न थालेको छ । चैतमा देशभर ४९ हजारभन्दा बढी घरजग्गा किनबेच हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको छ ।

चैतमा भएको घरजग्गा कारोबार पछिल्लो १० महिनाकै उच्च हो भने राजस्व संकलन नौ महिनायताकै बढी हो । यसअघि ०७९ को जेठमा ५४ हजार पाँच सय ५१ घरजग्गा किनबेच भएको थियो भने असारमा ६ अर्ब ११ करोड राजस्व संकलन भएको थियो । त्यसयता चैतमा सबैभन्दा धेरै घरजग्गा कारोबार र राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । 

तर, अघिल्लो वर्ष ०७८ चैतको तुलनामा भने घरजग्गा कारोबार र राजस्व संकलन दुवै कम हो । गत चैतमा ७० हजार आठ सय २९ घरजग्गा किनबेच हुँदा पाँच अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, कात्तिकपछि बढ्दै गइरहेको घरजग्गा किनबेच र राजस्व संकलनको आँकडाले व्यवसाय लयमा फर्किंदै गइरहेको व्यवसायीहरू बताउँछन् । 
देशभर जग्गाको वर्गीकरण बढ्दै गई कित्ताकाट सहज हुँदा कारोबार पनि बढ्न थालेको भूमि विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीको भनाइ छ । सात सय ५३ पालिकामध्ये हालसम्म एक सय ६० ले कृषि र गैरकृषि भनेर जग्गाको वर्गीकरण टुंग्याइसकेका छन् । जग्गा वर्गीकरण भइसकेको स्थानीय तहमा कित्ताकाट पनि खुलिसकेको छ । काठमाडौंका २१ वटै पालिकाले वर्गीकरण टुंग्याइसकेका छन् । सरकारले २३ जेठ ०७९ मा भूउपयोग नियमावली, २०७९ जारी गर्दै कित्ताकाटमा कडाइ गरेको थियो ।  

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले  घरजग्गा कारोबार ठप्प हुँदा तरलता अभाव भएको भन्दै घरजग्गा कारोबार र निर्माण क्षेत्रको मन्दी हटाएर अर्थतन्त्र चलायमान बनाउन पुरानै अवस्थामा कित्ताकाट खुलाउन छलफल चलिरहेको बताएका थिए । बैंकले पनि ब्याजदर घटाएर घरजग्गा कर्जाका स्किम ल्याउन थालिसकेका छन् । यी विविध पक्षले पनि घरजग्गा कारोबार बढाउन सकारात्मक भूमिका खेलेको छ ।

 ०७९ मा देशभर कुल चार लाख ६७ हजार ६ सय ४८ घरजग्गा कारोबार हुँदा ४५ अर्ब १७ करोड राजस्व संकलन भएको भूमि विभागले जनाएको छ । वैशाखमा ४४ हजार, जेठमा ५४ हजार घरजग्गा किनबेच भएका थिए । नयाँ भूउपयोग नियमावली लागू भएपछि असारदेखि देशैभर कित्ताकाट ठप्प हुन थाल्यो । त्यसपछि असारमा कारोबार केही घटेर ४७ हजारमा खुम्चिन पुग्यो भने साउनमा ३४ हजार, भदौमा ३५ हजार र असोजमा २६ हजार मात्रै कारोबार भयो । भूमि विभागका अनुसार कात्तिकदेखि भने घरजग्गा कारोबार निरन्तर बढ्दै गइरहेको छ । कात्तिकमा २८ हजार, मंसिरमा २९ हजार, पुसमा ३९ हजार, माघमा ४१ हजार, फागुनमा ४१ हजार र चैतमा ४९ हजारभन्दा बढी घरजग्गा किनबेच भएका छन् । 

घरजग्गा रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, सेवा शुल्कलगायत विभिन्न शीर्षकमा वैशाखमा चार अर्ब ७८ करोड, जेठमा चार अर्ब २५ करोड, असारमा ६ अर्ब ११ करोड, साउनमा दुई अर्ब ७४ करोड, भदौमा तीन अर्ब ५७ करोड, असोजमा दुई अर्ब ५७ करोड, कात्तिकमा तीन अर्ब, मंसिरमा दुई अर्ब ६५ करोड, पुसमा तीन अर्ब ७१ करोड, माघमा तीन अर्ब ७० करोड, फागुनमा तीन अर्ब ५७ करोड र चैतमा चार अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

 चैतमा कति कारोबार र राजस्व संकलन ?
चैतमा सबैभन्दा धेरै घरजग्गा किनबेच धनुषाको जनकपुर मालपोत कार्यालयबाट भएको छ । भूमि विभागका अनुसार चैतमा जनकपुरमा १९ सय २१, मोरङको बेलबारीमा १७ सय ६४, नेपालगन्जमा १७ सय ५८, सुनसरीको इनरुवामा १७ सय २३, झापाको भद्रपुरमा १३ सय ३७ घरजग्गाको लिखत पारित भएको छ ।

चैतमा सबैभन्दा बढी राजस्व ललितपुरको लगनखेल मालपोतबाट ४० करोड उठेको छ । यस्तै, कलंकी मालपोतबाट २५ करोड ८० लाख, भक्तपुरबाट २५ करोड, चाबहिलबाट २१ करोड, कास्कीको पोखराबाट १८ करोड ५७ लाख, डिल्लीबजारबाट १८ करोड ३९ लाख, चितवनबाट १५ करोड ५० लाख राजस्व उठेको छ ।

कित्ताकाट फुकुवा हुन थालेपछि किनबेच पनि बढेको छ
कृष्णप्रसाद भण्डारी, प्रवक्ता, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

 जग्गाको वर्गीकरण बढेर कित्ताकाट फुकुवा हुन थालेपछि किनबेच पनि बढेको छ । अहिलेसम्म एक सय ६० पालिकामा जग्गा वर्गीकरण भइसकेको छ । आगामी महिना कारोबार अझै बढ्ने देखिन्छ । किनभने, तरलता सहज हुनुका साथै बैंकको ब्याजदर पनि घट्दो ट्रेन्डमा छ ।

बैंकले घरजग्गा कर्जाको स्किम ल्याउन थालेका छन्  
प्रकाश श्रेष्ठ, निर्देशक, नेपाल राष्ट्र बैंक

घरजग्गामा कर्जा त्यति बढेको छैन । पछिल्लो समय केही बैंकले घरजग्गा कर्जाको स्किम ल्याउन थालेको देखिन्छ । तैपनि, घरजग्गा कारोबार बढेको देखियो । बैंकको ब्याजदर पनि घट्दै गइरहेको छ । घरजग्गा कारोबार एकदमै शिथिल र एकदमै उच्च पनि हुुनुहुँदैन । स्थिर रहनुपर्छ । 

 

ad
ad